२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीको समस्या सिनेटबाट टुंग्याउन स्वास्थ्यमन्त्री र मुख्य सचिवको सुझाव

विपीको समस्या सिनेटबाट टुंग्याउन स्वास्थ्यमन्त्री र मुख्य सचिवको सुझाव


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव डा. बैकुण्ठ अर्यालले विपीका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा विपीका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्की, रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य संग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसादसँग छलफल गरेका थिए ।

मन्त्री बस्नेतले सो छलफलमा कानुनअनुसार नै समस्या समाधान गर्न निर्देशन दिएका थिए । ‘उहाँले सिनेटबाट विपीको बढुवा सम्बन्धि समस्या समाधान गर्न निर्देशन दिनुभयो,’ छलफलमा रहेका एक पदाधिकारीले भने । साथै, उनले मुख्यसचिव डा. अर्याललाई भेटेर समस्या समाधानको उपाय निकाल्न सुझाएका थिए ।

बिहीबार विपीका पदाधिकारीहरुले मुख्यसचिव डा. अर्याललाई भेटेका थिए । उक्त भेटमा मुख्य सचिवले पनि सिनेटबाटै समस्याको समाधान गर्न सुझाव दिएका छन् ।

पछिल्लो समय विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीको बढुवालाई लिएर प्रतिष्ठानका पदाधिकारीहरुबीच नै विवाद छ । कामु उपकुलपति डा. कार्की लोक सेवाको निर्देशनअनुसार नयाँ नियमावली ल्याएर मात्रै बढुवा प्रक्रिया अगाडि बढाउनुपर्ने अडानमा छन् भने रजिष्ट्रार डा. संग्रौला एक वर्षअघि सुरु भएको प्रक्रिया टुग्याएर मात्र नियमावली ल्याउनुपर्छ भन्ने पक्षमा छन् । बढुवाका लागि दबाब सिर्जना गर्न विपीका शिक्षक कल्याण परिषद् र कर्मचारी कल्याण परिषद्ले आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या आएपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव डा. अर्याललाई विपीको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ