२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा कर्मचारी नियुक्तिमा मनपरी मापदण्ड

कोशी अस्पतालमा कर्मचारी नियुक्तिमा मनपरी मापदण्ड

नर्सिङ अधिकृत र बायोमेडिकल टेक्निसियनमा आफ्नो मान्छे राख्न विकास समितिको चलखेल


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा विकास समितिले आफ्ना मान्छे नियुक्ति गर्नको लागि आफू अनुकूलको मापदण्ड तयार गरी कर्मचारी छनोटको सूचना आव्हान गरेको पाइएको छ । एकै पटक ५० जना चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक कर्मचारी नियुक्तिका लागि आव्हान गरिएको सूचनामा मापदण्ड एकै अनुरुपको नरहेको पाइएको हो ।

तीन महिनाको सेवा करार रहने गरी ४ माघमा जारी गरेको सूचनामा अस्पताल विकास समितिका पदाधिकारीहरुले आफ्ना मान्छे नियुक्ति गर्नका लागि मनपरी मापदण्ड तयार पारी सूचना जारी गरिएको छ । केही महिनाअघि अस्पताल विकास समितिले १ सय २३ जना अस्थायी पद सिर्जनाको लागि थप दरबन्दी माग गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास समितिले माग गरेभन्दा आधा कम गरी ५० जनाको दरबन्दी स्वीकृत गरिदिएको थियो । दरबन्दी स्वीकृत भएपछि अस्पतालले आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको एक जना नर्सिङ अफिसर, पाँचौ तहको ३० जना स्टाफ नर्स, पाँचौ तहको २ जना वायोमेडिकल इन्जिनियर र ७ जना पाँचौ तहको फार्मेसी सहायकको माग गरेको हो ।

पाँचौ तहको स्टाफ नर्सको लागि लिखित र अन्तर्वार्ता दुवै लिने सूचनामा उल्लेख छ । तर, सातौं तहको नर्सिङ अधिकृत नियुक्ति गर्नका लागि विकास समितिले आफ्नो मान्छे नियुक्ति गर्ने तरिकाले अन्र्तवार्ता मात्र लिने योजना बनाएर सूचना प्रकाशित गरेको छ । कोशीमा अहिले १० औं तहको एक जना नर्सिङ अधिकृत रहेकी छिन् । आठौं तहका एक जना र सातौ तहका तीन जना नर्सिङ अधिकृत रहेका छन् । उनीहरू लोकसेवा उत्तीर्ण गरेर आएका स्वास्थ्यकर्मी हुन् ।

विकास समितिले पहिलो पटक सातौं तहको नर्सिङ अधिकृत नियुक्ति गर्ने तयारी गरेको हो । त्यो पनि निष्पक्ष नियुक्ति नहुनेमा आशंका रहेको कोशीका स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘यसअघि नियुक्ति भएका स्वास्थ्यकर्मीहरूलाई लिखित र अन्तर्वार्ता दुवैमा उत्तीर्ण हुनेलाई नियुक्ति गर्ने गरेको थियो । अहिलेको सूचना कस्तो विभेद गरेजस्तो देखिएको छ । जुनियर कर्मचारीको लागि लिखित र अन्तर्वार्ता दुवै छ । सिनियर अधिकृतको लागि अन्तर्वार्ता मात्र राखिएको छ । सूचना हेरेर हामी पनि छक्क परेका छौं,’ अस्पतालका एक जना स्वास्थ्यकर्मीले भने, ‘विकास समितिले आफ्नो मान्छे राख्नेको लागि समान मापदण्ड कायम नगरेको हो ।’

दुई जना पाँचौं तहकै बायोमेडिकल टेक्निसियन नियुक्तिको लागि पनि अन्तर्वार्ता मात्र लिने तयारी गरिएको छ । विज्ञापन प्रकाशित भएको मिति माघ ४ गतेबाट २१ दिनभित्र इच्छुकले दरखास्त दिन सक्ने जनाइएको छ । अधिकृत तहको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायकको लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

कोशी अस्पतालको अस्पताल विकास समितितर्फ कर्मचारी भर्ना गर्न लागिएको हो । सुरुवातमा तीन महिने करारको लागि भर्ना गरिएका उनीहरुको करार अवधि थपिने अस्पतालले जनाएको छ ।

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले दरबन्दी कम भएको पदमा मात्र अन्तर्वार्ता राखिएको बताए । ‘संख्या बढी भएकोमा लिखित र अन्तर्वार्ता राखिएको हो । नियुक्तिको प्रक्रिया लामो र झन्झटिलो हुन्छ । त्यसैले पनि कम संख्यामा अन्तर्वार्ता मात्र राखिएको हो,’ उनले भने । नियुक्ति प्रक्रिया निष्पक्ष र खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट हुने उनले बताए ।

कर्मचारी नियुक्तिको लागि अस्पताल विकास समितिले बनाएको पदपूर्ति समितिले गर्ने उनले बताए । विकास समितिले बनाएको पदपूर्ति समितिमा बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीको संयोजत्वमा तीन सदस्य छन् । समितिको अन्य सदस्यहरूमा फिजिसियन डा. मनोज ठाकुर र दिनेश न्यौपाने रहेका छन् । अस्पतालले जारी गरेको सूचनामा चलानी नम्बर र पत्र संख्या पनि क्रमबद्ध नरहेको पाइएको छ ।

बायोमेडिकल इन्जिनियर सुटुक्क नियुक्ति

कोशी अस्पताल विकास समितिले एक जना बायोमेडिकल इन्जिनियर गुपचुपमा निर्णय गरेर नियुक्ति गरेको पाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको रुचिमा खुल्ला प्रतिस्पर्धा बेगर पाँचौ तहमा गोविन्द मिश्रलाई बायोमेडिकल इन्जियिरमा नियुक्त गरिएको हो ।

अस्पताल विकास समितिको २२ पुसमा बसेको बैठकले उनलाई करारमा बायोमेडिकल इन्जिनियरमा नियुक्त गरेको देखिएको छ । कोशी अस्पताल विकास समितिको अध्यक्ष भएर आएपछि सिलवालले कोशीमा नियुक्त हुने सम्पूर्ण कर्मचारीहरु खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने बताउँदैं आएका थिए । तर, उनको अडान केही महिना पनि टिक्न सकेन । आफ्नो मान्छे नियुक्त गर्नका लागि सिलवालले सूचना आव्हान नगरी सुटुक्क बायामेटिकल इन्जिनियरमा मिश्रलाई नियुक्त गरेको पाइएको हो । जबकी पाँचौ तहको कर्मचारी नियुक्ति गर्नका लागि अहिले सूचना प्रकाशन गरी नियुक्तिको तयारी गरिएको छ ।

कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. सिलवालले अस्पतालको काम कारवाहीको लागि बायोमेडिकल इन्जियिर जरुरी परेकोले काम गर्दै आएकालाई नियुक्ति गरेको स्वीकार गरे । ‘कोशीमा म आएपछि हरेक दिन सामान विग्रियो भन्दै कर्मचारीहरु आउने गरेका थिए ।बाहिरबाट हायर गरेर बायोमेडिकल इन्जियर ल्याउँदा ठूलो रकम खर्च हुने गरेको थियो । त्यो रोक्नको लागि हामीले राम्रो काम गर्ने बायोमेडिकल इन्जिनियर राखेका हौं,’ उनले भने, ‘हामीले गरेको नियुक्तिमा मुद्दा परेपनि हामी डिफेन्ड गर्छौ । पाँच सय शैय्यामा विस्तार हुने अस्पतालमा बायोमेडिकल इन्जिनियर जरुरी छ । त्यसैले पनि हामीले नियुक्ति गरेको हो ।’ खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्दा ठूलो रकमको चलखेल हुने भएकोले त्यो रोक्न पनि विज्ञापन नगरी नियुक्त गर्नु परेको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ