२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा बेथितीका चाङ, अख्तियारले थाल्यो अनुसन्धान

कोशी अस्पतालमा बेथितीका चाङ, अख्तियारले थाल्यो अनुसन्धान


विराटनगर—सरकारी स्वामित्वको कोशी प्रदेशकै ठूलो अस्पताल कोशी अस्पतालमा एकपछि अर्को भएका गैरकानुनी काम कारवाहीलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । टेण्डरबिना क्वार्टर भत्काइएको र रिक्त पदमा हुन लागेको पदपूर्ति गैरकानुनी भएपछि अख्तियारले छानविन अगाडि बढाएको हो ।

अस्पताल विकास समितिले अस्पतालमा कार्यरत चिकित्सक बस्ने क्वार्टर टेण्डरबिना ठाडो आदेशका भरमा भत्काएका कारण अस्पतालको लाखौं रुपैयाँ आम्दानी गुमेको थियो । रिक्त पदमा पदपूर्ति गर्न खुलाइएको विज्ञापनमा मनपरी मापदण्ड बनाएर आफू निकटका व्यक्तिलाई नियुक्ति गर्ने चलखेल भएको थियो । यी दुई विषयमा हेल्थआवाजले महत्वका साथ समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले अनुसन्धान सुरू गरेको हो ।

कोशी अस्पतालमा कानुन विपरीतका गतिविधि भइरहेका समाचार प्रकाशन भएपछि अख्तियारको ध्यानाकर्षण भएको अख्तियार इटहरीका प्रमुख एवं सह–सचिव सुरेश न्यौपानेले बताए । ‘पत्रपत्रिकामा आएको समचारलाई पनि हामी सूचनाको रुपमा ग्रहण गर्ने गरका छौं,’ न्यौपानेले भने, ‘यस विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगाललाई समेत लेखेर पठाइएको छ । अख्तियारले आफ्नो कारवाही अघि बढाइसक्यो ।’

उनका अनुसार छानविन एवं अनुसन्धानका क्रममा सबै कागजात मगाएर अध्ययन गरिनेछ । कर्मचारी भर्नामा गल्ती गरेको प्रमाणित भए नियुक्तिलाई रद्ध गरेर त्यसमा संलग्नलाई कारवाही गरिने न्यौपानेले बताए । बिना टेण्डर सरकारी भवन भत्काएको विषयमा पनि बुझ्ने काम भइरहेको उनको भनाइ छ । गलत गर्नेलाई उन्मुक्ति नहुने बताउँदै न्यौपानेले अस्पतालका पछिल्ला काम कारवाही र गतिविधी शंकास्पद एवं विवादास्पद देखिएपछि अख्तियारले चासो राखेको उल्लेख गरे ।

अस्पताल प्रशासन र विकास समितिसमेतको मिलेमतोमा मूल्यांकन र टेण्डर नगरिकन सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन गैरकानुनी रूपमा भत्काएर काठ, इँटा, रड, टिनलगायतका निर्माण सामग्री गायब पारिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाको ठाडो आदेशको भरमा चिकित्सक बस्ने क्वार्टर विना टेण्डर भत्काइएको हो ।

स्वास्थ्य मन्त्रालयको समेत स्वीकृती नलिई आफू खुसी भवन भत्काइएको हो । विकास समिति अध्यक्ष डा. सिलवाल र अस्पतालका डा. मेसु झाकै मिलेमतोमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरित भवनहरु भत्काइएको छ । विभिन्न प्रभाव र दबाबमा परेर व्यक्तिगत स्वार्थका आधारमा भवन भत्काइएपछि अस्पताललाई लाखौं रूपैयाँ नोक्सान भएको छ ।

अस्पतालको अस्तित्व नै संकटमा पार्ने र सरकारी सम्पत्ति स्वाहा बनाउने गरिएको गैरकानुनी हर्कतमा एउटा समूह नै सक्रिय रहेको अस्पतालका एक कर्मचारी बताउँछन् । अस्पतालमा स्वार्थ समूहले व्यापक चलखेल गरिरहेको उनको भनाइ छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर अस्पताल विकास समितिका नाममा आफूनिकटका व्यक्तिलाई कर्मचारी बनाएर करारमा नियुक्त गर्न खोजिएको छ । जथाभावी मापदण्ड बनाएर आफू अनुकूल विभिन्न पदका ५० जना कर्मचारी भर्नाका लागि शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएको छ । आफू निकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिन डा. सिलवाल र मेसु डा. झाले मिलेमतो गरेको आरोप छ ।

४ माघको मिति राखेर २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरिएको छ । चलानी नम्बर र पत्र संख्या क्रमबद्ध नराखीकन एवं क्रम संख्या नै गायब पारेर शंकास्पद हिसाबले विज्ञापन गरिएको छ ।

तल्लो तहलाई लिखित र अन्तवार्ता दुवै परीक्षा लिने तथा माथिल्लो तहलाई अन्तर्वार्ताका भरमा नियुक्तिको तयारी गरिएको छ । त्यसले पनि डा. सिलवाल र डा. झाको मिलेमतो प्रष्ट हुन्छ । अस्पताल विकास समितिले १ सय २४ अस्थायी पद सिर्जना गर्दै स्वास्थ्य मन्त्रालयसँग दरबन्दी माग गरेको थियो । मन्त्रालयबाट ८७ जनाको दरबन्दी स्वीकृत भएर आएकोमा ५० जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको छ । आफू निकटकालाई सुटुक्क नियुक्ति दिन ३८ जनाको विज्ञापन नै नगरिएको अस्पताल स्रोतको भनाइ छ ।

अस्पताल विकास समितिले खुला प्रतिस्पर्धा बिना नै करारमा कर्मचारी भर्ना गर्न गैरकानुनी निर्णय पनि गरेको छ । समिति अध्यक्ष डा. सिलवालनिकट गोविन्द मिश्र र विनोद राजभरलाई करारमा नियुक्त गर्ने निर्णय २२ पुसको बैठकबाट भएको हो । मिश्रलाई आठौं तहको बायोमेडिकल इन्जिनियर र राजभरलाई आठौं तहकै आईटी इन्जिनियरमा नियुक्त गर्न मेडिकल सुपरिटेन्डेन्ट (मेसु)लाई निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ । हलुका सवारी चालकमा कमलप्रसाद दाहाललाई नियुक्त गरिने निर्णयमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयबाट दरबन्दी स्वीकृत भएर आएपछि खुला प्रतिस्पर्धाबिना नै आठौं तहमा करार नियुक्तिको अवैध निर्णय लिइएको हो । ५० जना कर्मचारी भर्नाका लागि विज्ञापन गरेको अस्पतालले आठौं तहको बायोमेडिकल र आईटी इन्जिनियरको भर्नाका लागि विज्ञापन नै गरेको छैन । दुवै पदमा सुटुक्क नियुक्ति दिने तयारी रहेको स्रोतले बतायो । स्रोतका अनुसार स्वास्थ्य उपकरणलगायतका सामग्री खरिद र मर्मत प्रक्रियासँग जोडिने भएकाले अस्पताललाई बायोमेडिकल इन्जिनियर अति नै आवश्यक छ ।

तर, विज्ञापनमार्फत प्रतिस्पर्धा गराएर स्वच्छ, सक्षम र उत्कृष्ट जनशक्ति चयन गर्नुपर्नेमा विकास समितिको बैठकबाट निर्णय गरेर भर्नाको तयारी गरिँदैछ । चिकित्सकहरु विज्ञापन नगरिकन करारमा नियुक्त गर्ने निर्णय हुनु सरासर गैरकानुनी र नियमावली विपरित रहेको बताउँछन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ