२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पताल बेथिती रोक्न मागः १७ बुँदे मागसहित कर्मचारी युनियनले बुझायो ज्ञापनपत्र

कोशी अस्पताल बेथिती रोक्न मागः १७ बुँदे मागसहित कर्मचारी युनियनले बुझायो ज्ञापनपत्र


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको गैरकानुनी नियुक्ति प्रक्रिया र निरन्तर बढेका बेथिती रोक्न माग राख्दै ज्ञापन पत्र बुझाइएको छ । मंगलबार कर्मचारी युनियनले अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेडेन्ट (मेसु)बाट भएको गैरकानुनी नियुक्ति र विकास निर्माणका कामहरू रोक्न माग राख्दै कोशी अस्पताल विकास समिति ज्ञापन पत्र बुझाएका हुन् ।

अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काले १७ बुँदे मागसहितको ज्ञापन पत्र अस्पताल विकास समिति अध्यक्षका डा. फरवार्ड सिलवाल र मेसु डा. चन्द्रभाल झालाई बुझाएका छन् । युनियनहरूले कोशी अस्पताल विकास समितिले मनपरी मापदण्ड तयार पारी आफू निकटका व्यक्तिलाई राख्न गरिएको नियुक्ति प्रक्रिया तत्काल सच्याउनुपर्ने माग गरेका छन् । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भन्दै यसलाई सच्याउनुपर्ने माग उनीहरुको छ ।

तीन महिनाको सेवा करार रहने गरी ४ माघमा जारी गरेको सूचनाले अस्पतालमा कार्यरतहरुको मनोबल गिराएको आरोप ज्ञापनपत्रमा लगाइएको छ । नियमित कार्यरत करार र ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरुलाई वेवास्ता गरी सूचना प्रकाशित गरिएकोमा ध्यानाकर्षण गराइएको छ । यसअघि कार्यरत ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरुलाई उक्त प्रकाशित सूचनाले समेट्न नसक्ने बताउँदै कार्यरतहरुको व्यवस्थापनमा पहल लिन आग्रह गरिएको छ ।

अस्पतालबाट प्रकाशित कर्मचारी छनौट सम्बन्धि सूचनामा एकरुपता नदेखिएको बताउँदै एउटै सूचनामा प्रकाशित पदहरु लिखित र अन्तबार्ताबाट पदपूर्ति गर्ने भनिएको र केही पदहरुका लागि अन्तर्वार्ता मात्र गर्ने भनिएकोले असमानतालाई संशोधन गर्न पनि माग गरिएको छ ।

यसैगरी, दरबन्दी बिना जथाभावी कर्मचारी नियुक्ति गर्ने परिपाटी रोक्न र सेवा सञ्चालनमा ध्यान दिन आग्रह गरिएको छ । कर्मचारीहरुका बीचमा विभेद् र विभाजन गर्ने काम भइरहेको भन्दै त्यसमा ध्यानाकर्षणसमेत गराइएको छ ।

उनीहरुले बन्द भएको एनआईसीयु सेवा पूर्ण रुपमा तत्काल संचालन गर्न पनि माग गरेका छन् । एक वर्ष अगाडिदेखि अस्पतालको एनआईसीयु सेवा बन्द हुँदा कोशीमा आएका बिरामी निजी हस्पिटलमा उपचार गर्न बाध्य छन् । यसैगरी, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य विमा गरिनुपर्ने, अस्पताल विकास समितिको बैठकमा कर्मचारी युनियनको अध्यक्षलाई समावेश गराउनुपर्ने, कुनै पनि कर्मचारी नियुक्ति गर्दा विभागीय प्रमुखसँग अनिवार्य रुपमा सल्लाह गरिनुपर्ने माग गरिएको छ ।

अस्पताल विकास समितिले अहिले थप तीन जना मेडिकल अधिकृत नियुक्ति गर्न सूचना आव्हान गरेको छ । तर, विभागीय प्रमुखसँग कुनै सरसल्लाह नगरी सूचना आव्हान भएको भन्दै उनीहरु असन्तुष्ट रहेका छन् ।

युनियनले कोशी अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बोधार्थ दिएको छ ।



क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ