२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा आफू निकटलाई नियुक्त गर्न लिन लागिएको अन्तर्वार्ता स्थगित

कोशी अस्पतालमा आफू निकटलाई नियुक्त गर्न लिन लागिएको अन्तर्वार्ता स्थगित


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा विकास समिति अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट (मेसु)ले आफू निकटका चिकित्सक नियुक्त गर्न आव्हान गरिएको अन्तर्वार्ता स्थगित गरेको छ । बुधबार अस्पताल प्रशासनले एक सूचना जारी गरी ११ फागुनका लागि तय भएको अन्तर्वार्ता अर्को सूचना नभएसम्मको लागि स्थगित गरेको हो ।

अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा ३ जना मेडिकल अधिकृतलाई नियुक्ति दिने तयारीको साथ विज्ञापन आव्हान गरिएको थियो । विकास समितिको निर्णय बिना नै अस्पतालले ३ महिने सेवा करारका लागि भनेर ४ फागुनको मिति राखेर ७ दिने सूचना वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।

रिक्त दरबन्दीमा आठौं तहका चिकित्सक नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिएपनि आफू निकटलाई भित्र्याउन व्यापक चलखेल भएको थियो । खुल्ला प्रतिस्पर्धा बिना अन्तरर्वार्ताको भरमा मात्रै चिकित्सक नियुक्तिका लागि सूचना जारी गरेर चलखेल गरेको विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएका थिए भने कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईले विरोध जनाएको थियो । व्यापक दबाबपछि अस्पतालले उक्त अन्तर्वार्ता स्थगित गरेको हो । ‘फागुन ११ गते हुने भनिएको विज्ञापन मेडिकल अधिकृत आठौं तहको अन्तर्वार्ता प्राविधिक कारणले गर्दा हाललाई स्थगित गरिएको व्यवहोरा अनुरोध छ । सो सम्बधन्धमा अन्तर्वार्ता नयाँ मिति र समय अर्को सूचना प्रकाशिन गरी जानकारी गराइनेछ,’ मेसु डा. चन्द्रभाल झाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

अस्पतालले एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरेका फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्टको माग गर्दै शंकास्पद एवं विवादास्पद हिसाबले दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने व्यक्ति सम्बन्धित विषय (फरेन्सिक मेडिसिन, जनरल सर्जरी र माइक्रोबोयोलोजी तथा इन्फेक्सियन रोग)मा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलमा दर्ता भइ अध्यावधिक भएको हुनुपर्ने सूचनामा उल्लेख छ । ‘आठौं तहका मेडिकल अधिकृतलाई अन्तरर्वार्ताका भरमा मात्रै नियुक्ति दिन खोजिनुले चलखेल प्रष्ट हुन्छ,’ एक चिकित्सक भन्छन्, ‘यसमा अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालगायतको स्वार्थ जोडिएको छ ।’

तीन जना मेडिकल अधिकृत नियुक्त गर्न लाग्दा विभागीय प्रमुखलाई समेत थाहा दिएको थिएन । कर्मचारी युनियनले अस्पतालले चलखेल गरी चिकित्सक नियुक्ति प्रक्रिया बिहीबार साँझसम्म नसच्याए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएको थियो । अस्पताल प्रशासनले निकिालको विज्ञापनको चौतर्फी रुपमा आलोचना भएपछि बाध्य भएर मेसु डा. झा र अस्पताल विकास समिति अध्यक्ष डा. सिलवाल बुधबार दिउँसो बैठक बसेर ११ फागुनको लागि लिने भनेको अन्तर्वार्ता स्थगित गरेका हुन् ।

अध्यक्ष डा. सिलवालले अघिल्लो विकास समितिले नियुक्ति गरेको चिकित्सकको पनि अब छानविन गरिने बताए । ‘यसअघि विकास समितिले गरेको नियुक्ति प्रक्रियाको छानविन गरेर अब हामी अगाडी बढनेछौं,’ उनले भने, ‘त्यसपछि मापदण्ड पूरा भएकालाई हामी राख्नेछौं । पूरा नभएकोको करार थप हुने छैन । त्यसपछि थप नियुक्तिको प्रक्रिया अगाडि बढनेछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ