२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा झण्डै तीन लाख बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाइने

मोरङमा झण्डै तीन लाख बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाइने


विराटनगर—मोरङमा झण्डै ३ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । १३ फागुनदेखि सुरु हुने अभियानअन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय मोरङले अभियानअन्तर्गत २ लाख ८१ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने खोप अभियानमा मोरङका १७ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

दादुरा–रुबेलाको खोप अभियानमा १ हजार ५ सय बढी खोप केन्द्रबाट बालबालिकाहरुलाई स्वास्थ्यकर्मीहरुले खोप लगाउनेछन् । खोप कार्यक्रमअन्तर्गत दादुरा–रुबेलाको अलावा नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिने तयारी रहेको छ । जसअन्तर्गत डिपीटी, पिसीभी र आईपीभी खोप लगाउने सरकारी योजना रहेको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरूमा मोरङलगायत जिल्लामा दादुरा–रुबेलाको संक्रमण अपेक्षाकृत रूपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो ।

सरकारी तथ्यांकअनुसार हाल दादुरा–रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ । तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समूहको खोपमा पहुँच पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

विराटनगरमा ५५ हजारलाई लगाइने

विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । अभियानभर महानगरपालिका भित्र ५५ हजारलाई खोप लगाउने लक्ष्य रहेको छ ।

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिए । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताए ।

महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइनेछ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् ।

एक खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहितको टोली परिचालित हुनेछ । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताए । उनका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गरे । अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताए ।

कार्यक्रममा मेयर नागेश कोइरालाले जनप्रतिनिधि र स्वास्थ्य कर्मचारी लागेर मात्रै अभियान सफल नहुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे । उनले समाजका सबै क्षेत्रका व्यक्तिको सामूहिक प्रयासले मात्रै खोप अभियान पूर्ण रुपमा सफल हुने बताए । ‘यो अभियानलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारी लागेर मात्रै हुँदैन,’ उनले भने, ‘यसमा पत्रकारसहित समाजका सबै व्यक्तिहरू लाग्नुपर्छ । विशेषगरी आफ्ना बालबालिकाहरूलाई खोप लगाउन सम्पूर्ण अभिभावकहरूलाई आग्रह पनि गर्दछु ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ