२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगर नर्सिङ क्याम्पसमा नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग

विराटनगर नर्सिङ क्याम्पसमा नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग


विराटनगर–विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम)की डिन प्रा.डा. दिव्या सिंह शाहले विराटनगर नर्सिङ क्याम्पसमा नर्सिङ सम्बन्धी स्नातकोत्तर पढाइ सुरु गर्दा उपयुक्त हुने भएपनि केही नियम र शर्तका कारणले गर्दा स्वीकृति नदिएको बताइन् । डा. शाहले विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्न जनशक्ति अभाव रहेको बताइन् ।

विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारीले इतिहास बोकेको विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तरसम्म पढाइ हुनुपर्नेमा सबैको सहयोग आवश्यक रहेको बताइन् । ‘६० वर्षको इतिहास बोकेको विराटनगर नर्सिङ क्याम्पसमा स्नातक तहअन्तर्गत बीएन र बीएस्सी नर्सिङ पढाइ हुँदै आएको छ,’ उनले भनिन्, ‘विराटनगर नर्सिङ क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन ‘क्यूएए’ पनि प्राप्त गरेको छ ।’ उनले क्याम्पसको शैक्षिक विकास एवम् अनुसन्धानमुलक कार्य गर्नका लागि आर्थिक अवस्था पर्याप्त नरहेकोले बताइन् ।

सो अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुयाल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा. रामावतार शरण, भौतिकशास्त्र विभागका प्रमुख प्रा.डा. देवेन्द्र अधिकारी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. रामशशरण मेहता, कोशी प्रदेश उच्च शिक्षा महाशाखा प्रमुख फडिन्द्र खत्री, नोबेल अस्पतालका प्रा.डा. गेहनाथ बराल, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलगायतले अनुसन्धान निरन्तर कार्य भएकोले यसले व्यक्तिगत जीवन र संस्थागत कार्यमा ज्ञान र सीप वितरण गर्न सहज हुने बताए ।

सो अवसरमा क्याम्पसकी विद्यार्थी कल्याण विभाग प्रमुख दिपिका खड्गीले व्यक्तिको वृत्ति विकासका साथै समग्र क्षेत्रका विकासका लागि अनुसन्धान कार्य महन्तपूर्ण कार्य भएकोले नर्सिङ क्याम्पसले अनुसन्धान सम्मेलन गरेको बताइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ