२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आधुनिक भवनबाट विराट डाइग्नोष्टिक ल्याब सेवा, आधा अर्ब लगानी

आधुनिक भवनबाट विराट डाइग्नोष्टिक ल्याब सेवा, आधा अर्ब लगानी


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होमभित्र रहेको विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधासम्पन्न नयाँ भवनबाट सेवा सुरू गरेको छ । सोमबार ल्याबको नयाँ आधुनिक भवनको उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अत्याधुनिक सुविधासम्पन्न भवनबाट आधुनिक उपकरणहरुबाट गुणस्तरीय सेवा दिएको बताए । नयाँ टेक्नोलोजी र अटोमेटिक मेसिनबाट ल्याब परीक्षण सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

विराटको ल्याब आईएसओ र बायोर्याड सर्टिफाइड प्रयोगशाला हो । हस्पिटलको ल्याब अपग्रेड गरेर नयाँ एडभान्स टेक्नोलोजी ल्याएर सेवा सुरु गरिएको अध्यक्ष डा. कार्कीले बताए । वि.सं. २०५० सालमा स्थापना भएको अस्पतालमा ५० करोडभन्दा बढी लगानी रहेको उनले बताए ।

विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रा.लि.का प्रशासन प्रमुख अमित कुसवाहाले बायोर्याड र आईएसओसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारणले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेको बताए । ‘विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाई गर्छन्,’ उनले भने, ‘धेरैमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ होला । तर, यहाँ डाक्टरले भेरिफाइ गर्छन् ।’ ल्याबमा प्याथोलोजिष्ट, एक जना माइक्रोबायोलोजिष्ट सहितको ९० जनाको टिम छ । ‘बी क्याटेगोरी’ विराटको ल्याबलाई नमुना प्रयोगशालाका रुपमा विकास गर्न खोजिएको कुसवाहाले बताए ।

उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेको वरिष्ठ प्याथोलोजिष्ट डा. श्रीपाद वालावलकरले बताए । ‘विराटले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ । अरुले सायदै गरेका होलान । यही कारण पनि हामीले दिने रिपोर्ट सधैं अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ र बिरामीको भरोसा पनि बढेको छ,’ उनले भने ।

विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रा.लि.का डाइरेक्टर तथा वरिष्ठ रेडियोलोजिष्ट डा. सुशील तपरियाले आईएसओले बनाएको मापदण्डअनुसार विराटको ल्याब्रोटोरीमा काम गरेकोले गुणस्तरीय सेवा दिएको बताए । विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु अन्तर्राष्ट्रियस्तरका रहेको उनले बताए । पूर्वी नेपालमा पहिलो पटक विराटले स्वचालित एलर्जी परीक्षणको लागि अत्याधुनिक उपकरण पनि ल्याएको उनले बताए । ‘अब रगतबाट एलर्जीको परिक्षण हुन्छ,’ उनले भने, ‘यसअघि छालाबाट गरिन्थ्यो ।’

ल्याबमा प्याथोलोजीको सम्पूर्ण सेवाहरु छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउण्ड र इको रहेको अस्पतालले जनाएको छ । विराटमा ब्रेस्ट क्यान्सर पत्ता लगाउने म्यामोग्राफी सेवा पनि रहेको छ । त्यसको लागि नयाँ मेसिन ल्याइएको छ । ६४ स्लाइस सिटी स्क्यान, १.५ टेस्लाको एमआरआई, डिजिटल ए–क्सरे रहेको छ । ओपीजी र सेफ्लोमेट्री उपकरण पनि आएको अस्पतालले बताएको छ । यस्तै, इसिजी, इईजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, टिएमटी, एफएनएसीलगायतका उपकरणहरुबाट सेवा प्रदान गरिदैं आएको छ । बोनडेनसिटी मेसिन पनि ल्याउने तयारी गरिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ