२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी आन्दोलित

स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी आन्दोलित


विराटनगर—स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगीहरू आन्दोलित भएका छन् । उनीहरूले न्यूनतम तलब सुविधासहित १० प्रतिशत प्रोत्साहन रकम कायम गर्नुपर्ने ७ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले विराटनगरस्थित कोशी स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश कार्यलयमा बुधबार धर्ना दिएका छन् । कार्यलयका कर्मचारी सबैलाई बाहिर निकालेर धर्नामा बसेका छन् । स्थानीय तहमा रहेर काम गरिरहेका कोशी प्रदेशका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले स्वास्थ्य बीमा बोर्डको कार्यालय विराटनगरको प्रवेशद्वारमा ताल्चा लगाएर सडकमा बसेर विरोध प्रदर्शन गरिरहेका छन् ।

दर्ता सहयोगी पद हटाई उचित पदको नामाकरण गरिनुपर्ने, न्यूनतम तलब तोक्नुपर्ने, पोशाकको व्यवस्था गरिनुपर्नेलगायतका माग राख्दै स्वास्थ्य बीमा दर्ता सहयोगीहरु यतिबेला देशव्यापी आन्दोलनमा छन् ।

बीमा गरेबापत दिइने कमिसन कटाएको, कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई वृद्धि गरेर १५ प्रतिशत लिन थालिएको, २०७९ सालदेखिको कमिसनमा उल्टै जरिवाना गरेर बेरुजु देखाएको, महालेखाका कारण स्वास्थ्य बीमा दर्ता सहयोगीहरुमा निराशा पैदा भएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्य बीमा दर्ता सहयोगी कोशी प्रदेशककी संयोजक गंगा सुवेदीले बताइन् ।

आफूहरुको माग सम्बोधनका लागि महानगरपालिकाको स्वास्थ्य महाशााखा, मुख्यमन्त्री कार्यलयलगायत सम्बन्धित निकाहरुमा ज्ञापनपत्र बुझाउनेदेखि लिखित कार्यहरु गरिसकेको सुवेदीले बताइन् । आफ्ना मागहरु पूरा नहुल्जेलसम्म अझ सशक्त रुपमा कडाईका साथ आन्दोलनमा जाने उनीहरुको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले आन्दोलनरत स्वास्थय बीमा दर्ता सहयोगीहरुकोे मागको विषयमा केन्द्रसँग छलफल भइरहेको बताए । दर्ता सहयोगीको शब्दलाई हटाइ उचित पदको व्यावस्था गर्नुपर्ने, न्यूनतम तलब सुविधासहित १० प्रतिशत प्रोत्साहन रकम कायम हुनुपर्ने, योगदान रकमको २५ प्रतिशत वृद्धि गरी मात्र १५ प्रतिशत कर कट्टीलगायतका ७ सुत्रीय माग राखेर स्वास्थ्य बीमा दर्ता सहयोगीहरु देशैभर आन्दोलनमा छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ