२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरलाई बेसहारा मुक्त महानगर बनाउने अभियान, मानसिक विरामीको उद्धार

विराटनगरलाई बेसहारा मुक्त महानगर बनाउने अभियान, मानसिक विरामीको उद्धार


विराटनगर—विराटनगर महानगरपालिका क्षेत्रलाई बेसहारा मुक्त महानगर बनाउने अभियान अन्तर्गत मानसिक सन्तुलन गुमेको विरामीको उद्धार गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले मानसिक सन्तुलन गुमेका तीन जना विरामीको छुटाछुट्टै स्थानबाट उद्धार गरेको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली नेतृत्वको टोलीले आइतबार विराटनगरका २ जना र सामाजिक विकामन्त्री जीवन घिमिरे नेतृत्वको टोलीले रतुवामाई नगरपालिकाबाट एक जनालाई उद्धार गरेको हो ।

अन्दाजी ५५ वर्षका पुरुषलाई मेनरोडस्थित नमस्कार होटल अघिल्तिरको खाली चौरबाट उद्धार गरिएको महानगरले जनाएको छ ।

मानसिक सन्तुलन गुमेका ती व्यक्ति लामो समयदेखि खुल्लाचौरमा फोहोरको डँगुरमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । यसैगरी अर्का एक महिलालाई जलजलाचोक पूर्वस्थित शनिमन्दिर रोडबाट उद्धार गरिएको छ । बंगाली भाषा बोल्ने ती महिला सो क्षेत्रमा ५ महिनायता बस्दै आएको बताइएको छ । प्रहरी र मानव सेवा समितिसहितको टोलीले दुवै जनालाई उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिहरुलाई विराटनगर—१० स्थित मानव सेवा आश्रममा राखिने महानगर प्रमुख पराजुलीले जानकारी दिए । नगरक्षेत्रलाई बेसहारा मुक्त बनाउने अभियानअन्तर्गत उद्धार कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।

मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार कार्य जारी रहनेछ । हालै स्थापना भएको मानव सेवा आश्रममा उद्धार गरिएका र बेसहारा भेटिएकाहरुलाई राखिने गरेको छ । आश्रित व्यक्तिहरुका लागि महानगरले आवश्यक बजेटको समेत ब्यवस्था गरेको जनाइएको छ ।
उता मोङको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाकाका ४६ वर्षीय दिनेश तिम्सिनालाई प्रदेश सामाजिक विकास मन्त्रालयले उद्धार गरेको छ । विगत ३० वर्षदेखि मानसिक सन्तुलन गुमाएपछि बाँधिएर बस्न बाध्य उनको उद्धार गरिएको हा । सानैमा बुवा बितेको र आमा सुस्त श्रवणशक्तिको भएकाले उनको समयमा उपचार हुन नसकेको बताइएको छ ।

तिम्सिनालाई सामाजिक विकास मन्त्रालयले आइतबार उद्धार गरेर उपचार सुरु गर्ने जनाएको छ । मानव सेवा आश्रमको सहयोगमा उनको उद्धार गरिएको र उपचारपछि उनलाई पुनः घरमै फर्काउने मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले जानकारी दिए ।

राम्रो र नियमित औषधि उपचार अभावका कारण आफ्नै घरमा बन्दी जीवन बिताइरहेको अवस्थामा मन्त्रालयले उनको उद्धार गरी उपचार प्रक्रिया अगाडि बढाउन लागेको हो । तिम्सिना सुरुका दिनमा पढाइमा निक्कै अब्बल भएपनि एसएलसीमा फेल भएपछि टोलाउने र बर्बराउने हुँदै पूरै अचेत जस्तै बनेको स्थानीयले बताएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयले यसअघि तिम्सिनासहित ४ जना मानसिक रोगीको उद्धार गरिसकेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ