२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री

बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री

उन्मुक्ति दिने डिडिए विराटनगरको प्रयास


विराटनगर—औषधि व्यवस्था विभाग (डिडिए)ले एक वर्ष अगाडि बिक्री वितरणमा रोक लगाइएको औषधि विराटनगर—५ बरगाछीस्थित लाइफगार्ड हस्पिटलले खुलेआम बिक्री गरेको पाइएको छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबायोटिक प्रभावहीन बन्दै गएपछि बिक्रीमा रोक लगाएको ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबायोटिक खुलेआम बिक्री वितरण हुने गरेको पाइएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सन् २०२१ मा १०३ प्रकारका सिफारिस नगरिएका प्रतिजैविक औषधिहरु र समिश्रणहरुको सूची प्रकाशन गरेको छ । प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधरित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्यले औषधि सल्लाकार समितिको ५५ औं बैठकबाट विभागलाई सिफारिस भएर १८ भदौं २०८० मा ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबयोटिकसहित १०३ प्रकारका औषधीहरु बिक्री वितरणमा रोक लगाइएको छ ।

६ महिनाको अवधिमा बजारमा उपलब्ध रहका त्यस्ता प्रतिजैवक औषधिहरुको मौज्दात्त भए फिर्ता लिई सोको आधिकारिक विवरण विभागमा पेश गर्ने र सम्बन्धित प्रमाणहरु फिर्ता गरी नियमानुसार रद्ध गर्ने भनिएको छ । तर, बिक्री वितरणमा रोक लगाएको एक वर्ष भइसक्दा पनि बिरामीको उपचारमा कामै नगर्ने ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबायोटिक लाइफगार्ड हस्पिटलको फार्मेसीमा बिक्री वितरणको लागि राखिएको पाइएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र डिडिए विराटनगरले छापा हानेर बेस्टोसेफ सिभी २०० एमजीको २ हजार ८० ट्याब्लेट बरामद गरेको थियो । बिक्रीमा रोक लगाएको बेस्टोसेफ सिभीसहित बिरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटिकल’ (खाद्यपूरक) सामाग्री पनि ठूलो परिमाणमा बरामद गरेको थियो । लाइफगार्डबाट प्रहरीले १० लाख ७५ हजार रूपैयाँ मूल्य बराबरको खाद्य पूरक सामाग्री बरामद गरेको थियो ।

लाइफगार्ड हस्पिटलको फार्मेसीबाट बरामद बिक्रीमा रोक लागएको औषधिहरु ।

यसरी बिक्री वितरणमा रोक लगाइएको औषधि खुलेआम बिक्रीको लागि राखेको भेटिँदा पनि नियांमक निकाय औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटलका संचालक रञ्जित अग्रवालले हेर्ने गरेको सो फार्मेसीलाई उन्मुक्ति दिने प्रयास गरेको छ ।

यसअघि दर्ता बेगरको औषधि एक भाइल भेट्दा पनि औषधि पसल सिल गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने डिडिएले लाइफगार्ड हस्पिटलको फार्मेसीलाई भने बयानको लागि व्यवसायीलाई बोलाउने मात्रै काम गरेको पाइएको छ । त्योबाहेक अरु अनुसन्धान प्रक्रिया अगाडि बढाएको छैन । ‘यसअघि फार्मेसीहरु अनुगमन गर्दा एक पत्ता दर्ता बेगरको औषधि बरामद गर्दा डिडिएले पसल सिल गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने गरेको थियो । त्यसपछि कसुरअनुसारको मुद्दा पनि दायर हुने गरेको थियो । तर, पहुँचको आधारमा अहिले लाइफगार्डलाई डिडिएले उन्मुक्ति दिने प्रयास गरिएको छ । अहिले व्यवसायिलाई बयानमा बोलाउने र बरामद औषधि नष्ट गर्ने तयारी गरेको छ,’ स्रोतले भन्यो ।

औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख कमल गुरागाईले बिक्री वितरणमा रोक लगाइएको औषधि र खाद्यपूरक सामाग्री लाइफगार्ड हस्पिटल भित्रको फार्मेसीबाट बरामद भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको बताए । बिक्रीमा रोक लगाएको औषधि बरामद हुँदा विगतमा फार्मेसी सिल गरेर अनुसन्धान हुने गरेको थियो । अहिले किन भएन ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अनुसन्धान दुई किसिमको हुन्छ—बन्द गरेर र पसल खुला गरेर । अहिले हामीले पसल खुला गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छौं । प्रमाण(दशी) नष्ट नहुने भएकोले खुला गरिएको हो ।’

निर्णयकर्ता कार्यालय प्रमुख पनि विदामा भएकोले आएपछि थप सल्लाह गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘अहिले अनुसन्धान अधिकृत पनि तोकेर बयान लिने कामहरु भइरहेको छ,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ