२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट

न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट


विराटनगर—नेपाल न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा हुने भएको छ । शुक्रबारदेखि सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ ।

बिहीबार समाजले विराटनगरमा पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । सम्मेलनमा देशभरका न्यूरो सर्जनहरुको सहभागिता रहने नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाले जानकारी दिए ।

दुई दिनसम्म संचालन हुने सम्मेलनमा देशभरका न्यूरो सर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा नेपाल बाहिरका विशेषज्ञ गरेर करिब १५० बढीको सहभागी रहने उनले बताए ।

सम्मेलनमा एक सयभन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत हुने समाजका वरिष्ठ उपाध्यक्ष न्यूरो सर्जन डा. सुदन ढकालले बताए । ‘दुई दिनसम्म चल्ने सम्मेलनमा विदेशबाट आएका चिकित्सकहरुको पनि सहभागिता रहनेछ । विज्ञ समूहबाट एक सयभन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत हुनेछ,’ उनले भने, ‘विभिन्न विधाहरुमा सर्वश्रेष्ठ कार्यपत्र प्रस्तुतिलाई सम्मान र पुरस्कार पनि प्रदान गरिनेछ ।’

सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछ । पूर्वमा न्यूरो सर्जन समाजको राष्ट्रिय सम्मेलन पहिलो पटक भएको हो । न्यूरो सर्जरी सेवाको विस्तारसँगै आम जनतामा चेतना फैलाउने साथै त्यस क्षेत्रमा कार्यरत चिकित्सकहरुको मनोबल वृद्धि यो सम्मेलन गर्ने अध्यक्ष रोकाले बताए ।

राष्ट्रिय सम्मेलनको अवसर पारेर समाजले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक दिने कार्यशाला गोष्ठी पनि आयोजना गरेको छ । उक्त गोष्ठीमा विज्ञ चिकित्सकहरुले विभिन्न विषयहरुमा जानकारी गराएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ