२०८३ जेठ १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १क्षारसूत्र तालिममा ‘पहुँचवाला’को रजगज, आयुर्वेद चिकित्सक असन्तुष्ट

क्षारसूत्र तालिममा ‘पहुँचवाला’को रजगज, आयुर्वेद चिकित्सक असन्तुष्ट


विराटनगर—प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, झापा कोशी प्रदेशले सञ्चालन गरेको ‘क्षारसुत्र शल्यक्रिया’ (पायल्स) सम्बन्धि तालिमका लागि प्रशिक्षार्थी छनोटमा पक्षपात भएको भन्दै आयुर्वेद चिकित्सकहरूले विरोध जनाएका छन् । सेवा प्रवाह भइरहेका जिल्लाका चिकित्सकलाई पन्छाएर मन्त्रालयले पहुँचका आधारमा ‘आफ्ना’ मानिसलाई तालिममा पठाएको उनीहरूको आरोप छ ।

काठमाडौंस्थित नरदेवी आयुर्वेद चिकित्सालयमा २१ वैशाखदेखि सुरु भएको ४२ दिने तालिममा कोशी प्रदेशका चार चिकित्सक सहभागी छन् । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाको आयोजनामा करिब ८ लाख रुपैयाँ लागतमा सञ्चालित तालिममा मन्त्रालयका सूचना अधिकारीसहित तीन जिल्लाका चिकित्सक सहभागी छन् ।

तालिममा सहभागी हुनेहरूमा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनन राई, जिल्ला आयुर्वेद अस्पताल धनकुटाकी डा. विद्या श्रेष्ठ, पाँचथरका डा. दिलीप यादव र तेह्रथुमका डा. विनय हुमागाईं छन् । तर, रोचक पक्ष के छ भने यी तीन वटै जिल्ला धनकुटा, पाँचथर र तेह्रथुममा हाल क्षारसूत्र विधिबाट गरिने उपचार सेवा उपलब्ध छैन ।

हाल कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सुनसरी र भोजपुर जिल्ला आयुर्वेद अस्पतालहरूमा क्षारसूत्र सेवा सञ्चालन भइरहेको छ । ती जिल्लाका लागि तालिम बापत जनही ३ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ । तर, सेवा दिइरहेका चिकित्सकलाई उपेक्षा गरेर पूर्वाधार नभएका ठाउँका व्यक्तिलाई रोजिएको भन्दै विरोध सुरु भएको हो ।

‘जुन ठाउँमा शल्यक्रिया भइरहेको छ । त्यहाँका चिकित्सकले अहिलेसम्म तालिम पाएका छैनन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक आयुर्वेद चिकित्सकले भने, ‘मन्त्रालयले आवश्यकताभन्दा पनि पहुँचका आधारमा कर्मचारी छनोट गरेको छ । यो सरासर गलत हो र यसले संस्थाकै बदनाम गराएको छ ।’

यता स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनन राईले भने चिकित्सकहरूको सीप र क्षमता विकासका लागि तालिम दिइएको दाबी गरे । ‘तालिमपछि धनकुटा, पाँचथर र तेह्रथुममा पनि क्षारसूत्र सेवा सुरु हुनेछ,’ उनले भने, ‘क्षारसत्रूका लागि ठूलो संरचना चाहिँदैन, सामान्य माइनर ओटी सेटअपमा पनि यो सेवा दिन सकिन्छ ।’ उनले यो तालिम सबै चिकित्सकले पालैपालो पाउने र अहिले नपाएकाहरूलाई अर्को चरणमा समेटिने आश्वासन समेत दिए ।

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका प्रमुख डा. रवीन्द्र निरौलाले मन्त्रालयले नै नामावली छनोट गरी पठाएकाले आफूहरूले सोही बमोजिम तालिममा सहभागी गराएको बताए । ‘मन्त्रालयले नाम दिएपछि हामीले तालिमको व्यवस्थापन मात्र गरेका हौं,’ उनले भने ।

जेठ मसान्तसम्म चल्ने यो तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने दाबी मन्त्रालयको रहेपनि कार्यान्वयनमा रहेको ठाउँलाई छाडेर पहुँचका आधारमा छनोट गरिनुले सरकारी निर्णयमाथि प्रश्न उठाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ