विराटनगर—विराटनगरस्थित ग्रीनक्रस हस्पिटलले उपचारका क्रममा एक महिलाको मृत्यु भएको र त्यसपछि उनको सुनका गरगहना हराएको भनिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले घटनाको सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानविन समिति गठन गरिएको जानकारी दिएको छ।
उदयपुरको त्रियुगा नगरपालिकाकी सविना दनुवार विष सेवन गरी गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी थिइन्। अस्पतालका अनुसार चिकित्सक टोलीले अथक प्रयास गर्दागर्दै पनि उनको निधन भएको थियो। उनको मृत्युपश्चात मृतकका आफन्तले कानमा लगाएको सुनको मुन्द्रा हराएको भन्दै अस्पताल प्रशासनमा गुनासो गरेका थिए।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हस्पिटल जस्तो पवित्र र मर्यादित क्षेत्रमा यस्ता अवाञ्छित गतिविधि हुनु दुर्भाग्यपूर्ण कुरा हो। यस घटनाको सत्यतथ्य पत्ता लगाउन अस्पतालले आन्तरिक छानविन समिति गठन गरिसकेको छ।’
विज्ञप्तिअनुसार मानवीय नाताले तत्कालका लागि अस्पताल प्रशासन र पीडित पक्षबीच आपसी समझदारीमा केही विषयहरू टुङ्ग्याइएको छ। यद्यपि, घटनामा अस्पतालका कुनै कर्मचारी वा व्यक्ति संलग्न भएको पाइएमा उनीहरूलाई कडा कानुनी कारवाहीका लागि प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि अस्पतालले व्यक्त गरेको छ।
हाल प्रहरीले सीसी क्यामेरा फुटेज र अन्य प्राविधिक पक्षहरूबाट घटनाको अनुसन्धान गरिरहेको छ। अस्पतालले अनुसन्धानलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा भ्रामक तथा अतिरञ्जित समाचार सम्प्रेषण नगर्न समेत अनुरोध गरेको छ।
साथै, अस्पतालले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई थप मजबुत बनाउने र बिरामीको उपचार तथा सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाएको छ।
