विराटनगर – विराटनगरस्थित कोशी अस्पतालले पित्तथैलीको पत्थरी निकाल्न अत्याधुनिक ‘क्लिपलेस ल्याप्रोस्कोपिक कोलेसिस्टेमी’ सेवा सुरु गरेको छ । संघीय राजधानी काठमाडौँ बाहिर यो सेवा उपलब्ध गराउने कोशी पहिलो सरकारी अस्पताल बनेको हो ।
पित्तथैलीको शल्यक्रिया गर्दा हार्मोनिक उपकरणको गरिएको छ । शल्यक्रिया गर्दा नलीहरूमा धागो र क्लिप प्रयोग समेत नहुने गरेको प्रमुख कन्सल्टेन्ट सर्जन डा. प्रविन श्रेष्ठले जानकारी दिए।
यसअघि काठमाडौँको वीर अस्पतालमा मात्र उपलब्ध यो सेवा सोही अस्पतालबाट सरुवा भएर आएका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. श्रेष्ठको नेतृत्वमा कोशीमा सुरु गरिएको हो । डा. श्रेष्ठले नै वीर अस्पतालमा पहिलो पटक यो प्रविधि भित्र्याएका थिए । हाल उनी कोशी अस्पतालको सर्जरी विभाग प्रमुखका रूपमा कार्यरत छन् ।
के हो क्लिपलेस प्रविधि ?
सामान्यतया दूरबिन विधि (ल्याप्रोस्कोपी) बाट पित्तथैलीको शल्यक्रिया गर्दा कलेजोबाट आउने नलीहरू बन्द गर्न धातु वा प्लास्टिकका ‘क्लिप’ हरू प्रयोग गरिन्छ । ती क्लिपहरू बिरामीको शरीरभित्रै जीवनभर रहने गर्छन् । कतिपय अवस्थामा ती क्लिपहरू आफ्नो ठाउँबाट सर्ने ‘माइग्रेट’ हुने र भविष्यमा बिरामीको एमआरआई गर्नुपर्दा समस्या उत्पन्न हुन सक्ने जोखिम रहन्छ ।
तर, क्लिपलेस प्रविधिमा शरीरभित्र कुनै पनि बाह्य धातु वा क्लिप राखिँदैन । ‘यस प्रविधिमा हामीले क्लिपको सट्टा ‘हार्मोनिक स्काल्पेल’ नामक विशेष उपकरण प्रयोग गर्छौँ,’ डा. श्रेष्ठले भने, यसले नलीहरूलाई सुरक्षित रूपमा काट्ने र टाँस्ने काम एकैसाथ गर्छ, जसले गर्दा शरीरभित्र कुनै विदेशी वस्तु छाड्नु पर्दैन ।’
बिरामीलाई राहत र कम लागत
विकसित मुलुकहरूमा यो प्रविधि प्रचलनमा रहे पनि नेपालका चिकित्सकहरू यसो गर्न हच्किने गरेको डा। श्रेष्ठ बताउँछन् । ‘वीर अस्पतालमा यो सेवा सुरु गरेपछि अहिले कोशीमा पनि यसलाई निरन्तरता दिएका छौँ,’ उनले थपे, ‘यसबाट बिरामीले अन्य शल्यक्रिया जस्तै १ देखि २ दिनमै अस्पतालबाट डिस्चार्ज पाउँछन् ।’
उपचार खर्चका हिसाबले पनि यो प्रविधि महँगो छैन । अस्पतालका अनुसार साविककै ल्याप्रोस्कोपिक शल्यक्रिया शुल्कमा यो सेवा उपलब्ध गराइएको छ । अस्पतालमा यो सेवा सुरु भएयता हालसम्म तीन जना बिरामीको सफल शल्यक्रिया भइसकेको छ ।
यसअघि यस्तो जटिल र आधुनिक शल्यक्रियाका लागि काठमाडौँका ठूला अस्पताल वा भारतका महँगा निजी अस्पताल जानुपर्ने बाध्यता थियो । कोशी अस्पतालमै यो सेवा सुरु भएपछि कोशी प्रदेशका बिरामीहरू प्रत्यक्ष लाभान्वित हुने देखिएको छ ।
(यसअघि प्राविधिक कारणबस समाचारमा अन्याथा पर्न गएकाले सच्चाइएको छ । स.)