विराटनगर—मेरुदण्ड सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले विराटनगरस्थित आर्या न्युरो हस्पिटलले दुर्बिन (एन्डोस्कोपिक) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु–भी–ई’ प्रविधि भित्र्याएको हो । यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी मेरुदण्डको जटिल शल्यक्रिया गरिन्छ ।
अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालका अनुसार यो प्रविधि मेरुदण्डको उपचारमा निकै प्रभावकारी र बिरामीमैत्री छ । डा. नेपाल भन्छन्, ‘यु–भी–ई प्रविधिमा हामी दुई वटा साना (करिब ८ एमएमका) प्वाल बनाएर दुर्बिन छिराउँछौँ । यसको माध्यमबाट मेरुदण्डमा नसा च्यापिएको ठाउँमा पुगेर त्यसलाई रिलिज गरिन्छ । यो निकै विकसित प्रविधि हो, जसमा म्याग्निफिकेसन (दृश्यलाई ठूलो पारेर हेर्ने क्षमता) धेरै राम्रो हुने भएकोले शल्यक्रिया अत्यन्तै सुरक्षित हुन्छ ।’
परम्परागत खुला शल्यक्रियाको तुलनामा यस प्रविधिका धेरै फाइदाहरू रहेका छन् । डा. नेपालका अनुसार यो विधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने, रक्तस्राव कम हुने र संक्रमणको जोखिम न्यून हुन्छ । ‘यसबाट बिरामीको रिकभरी निकै छिटो हुन्छ । शल्यक्रिया गरेको १–२ दिनमै बिरामी घर जान सक्छन् र चाँडै हिँडडुल गर्न सक्षम हुन्छन्,’ उनी थप्छन् ।
विशेषगरी डिस्क खस्किने, साइटिका, नसामा दबाब पर्ने समस्या तथा मेरुदण्डका विभिन्न रोगहरूको उपचारमा एन्डोस्कोपिक स्पाइन सर्जरी प्रभावकारी विकल्पका रूपमा स्थापित भएको छ ।
आर्या न्युरोले यस सेवाको सुरुवातसँगै कोशी प्रदेशलगायत देशभरका बिरामीहरूलाई विश्वस्तरीय स्पाइन उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ । आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र गुणस्तरीय सेवामार्फत आर्या न्युरोलाई न्युरो तथा स्पाइन उपचारको अग्रणी केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिहरूलाई आत्मसाथ गर्दै बिरामीलाई सहज, सुरक्षित र भरपर्दो उपचार सेवा प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ ।