२०८३ भदौ ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने

कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने


विराटनगर—कोशी अस्पतालले पित्तनलीमा रहेको ढुंगा शल्यक्रिया नगरी निकाल्न सकिने अत्याधुनिक ईआरसीपी (ERCP) सेवा सुरु गरेको छ । नयाँ सेवा सुरु भएसँगै पूर्वी नेपालका बिरामीले पित्तनलीको ढुंगाको उपचारका लागि निजी अस्पताल वा भारत धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

अस्पतालले हालै ईआरसीपी प्रविधिमार्फत पहिलो बिरामीको सफल उपचार गरेको हो। मोरङको डाइनिया घर भएका ५५ वर्षीय हमिर आलमको पित्तनलीमा रहेको ढुंगा यो प्रविधिबाट निकालिएको अस्पतालले जनाएको छ ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा. भुवनेश्वर यादवका अनुसार ईआरसीपीमा मुखबाट इन्डोस्कोपीको माध्यमले सानो आन्द्रा (डिउडेनम) सम्म पुगेर पित्तनलीमा रहेको ढुंगा वा अन्य अवरोध हटाइन्छ । बिरामीलाई बेहोस बनाएर गरिने यो प्रक्रिया सामान्य इन्डोस्कोपीभन्दा केही जटिल र अत्याधुनिक रहेको उनले बताए ।

‘मेसिनलाई सानो आन्द्रासम्म पुर्‍याएर त्यहाँबाट पित्तनलीमा प्रवेश गराई ढुंगा निकालिन्छ,’ डा. यादवले भने ।

परम्परागत उपचारमा पेट चिरेर शल्यक्रिया गर्नुपर्ने भएकाले बिरामीलाई अस्पतालमा लामो समय बस्नुपर्ने अवस्था हुन्थ्यो । ईआरसीपीबाट भने शल्यक्रिया नगरी उपचार गर्न सकिने भएकाले जटिलता, समय र खर्च कम हुने चिकित्सकको भनाइ छ । ‘जटिलता नदेखिए उपचारकै दिन बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ,’ डा. यादवले भने, ‘यसले बिरामीको समय र खर्च दुवै बचत गर्छ ।’

कोशी अस्पतालमा पहिलो पटक ईआरसीपी गरिएका आलममा पित्तनली र पित्तथैलीमा संक्रमण (कोलेन्जाइटिस) समेत देखिएको थियो । उपचारपछि चिकित्सकीय निगरानीमा एक दिन राखेर उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ ।

नयाँ प्रविधिबाट प्रभावकारी उपचार पाएको भन्दै आलमले खुसी व्यक्त गरेका छन् । उनले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभारसमेत व्यक्त गरे ।

ईआरसीपी सेवा सञ्चालनमा डा. यादवको नेतृत्वमा सर्जन डा. रवि बस्ताकोटी, डा. रविनाथ सिंह, एनेस्थेसियाका चिकित्सक तथा डा. मोहन खड्कालगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ