२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङका ८ स्थानीय तहमा रूबेला खोप लगाइदैं, दुई चरणमा कार्यक्रम हुँदै

मोरङका ८ स्थानीय तहमा रूबेला खोप लगाइदैं, दुई चरणमा कार्यक्रम हुँदै


विराटनगर—मोरङको आठ वटा स्थानीय तहमा दादुरा रुबेलाको नियन्त्रणका लागि रुबेलाको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम सुरू हुने भएको छ । फागुन ६ देखि १४ गतेसम्म पहिलो चरणमा रुबेलाको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम सुरू हुने भएको हो ।

पहिलो चरणअन्तर्गत जन्मदेखि पाँच वर्षमुनिका ४७ हजार बालवालिकालाई पोलियो थोपा तथा नौ महिनादेखि पाँच वर्षमुनिका ४१ हजार १७२ बालवालिकालाई दादुरा रुबेलाका खोप लगाउने लक्ष्य लिएको छ । यसैगरी दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २४ गतेसम्म मोरङको ९ स्थानीय तहका ६२ हजार ६० बालवालिकालाई पोलियो थोपा र ५१ हजार ६३३ बालवालिकालाई दादुरा, रुबेलाको खोप लगाइने भएको छ । अभियानलाई सफल बनाउन घरमा निम्ता कार्ड, स्थानीय रेडियो, पत्रपत्रिका तथा प्रचार—प्रसारलाई तीव्र बनाइएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

‘पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुबेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुन्छ । थप मात्रा दिँदा यो खोप लगाउनुको पहिलो उद्देश्य सतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो’, उनले भने, ‘जुन बालवालिकाले यो खोप लगाउँदैनन् । त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन् ।’ अभियानका लागि मोरङ जिल्लामा ८९२ खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ ।

नेपालले सन् २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सबै बालवालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान सुरु गरिएको हो । बाल मृत्युदर घटाउनु, औसत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य रहेको छ । दादुराको कारण अन्धोपना हुने र झाडापखाला, निमोनियाको कारण बालवालिकाको मृत्यु हुने गरेको छ भने रुबेलाले महिलामा गर्भपतन हुने, मृत्यु शिशु जन्मने, बालवालिकामा बहिरोपन र अन्धोपन हुने, मुटुमा प्वाल हुनेलगायतका समस्या उत्पन्न हुने गर्दछ । दादुरा र रुबेला रोगको कुनै उपचार नभएको र यसबाट बालवालिकालाई बचाउने एकमात्र उपाय खोप मात्र रहेको हो । यो सरुवा रोग भएको र खोक्दा, हाँछ्यु र हावाको माध्यमबाट यो सर्ने गर्दछ ।

दादुरा रुबेला एक भाइरसको माध्यमबाट सरुवा हुने गर्दछ भने यसका मुख्य लक्षणमा ज्वरो आउने, शरीरभरि बिमिरा देखा पर्ने, आँखा रातो हुने, नाकबाट पानी आउने गर्दछ । एक अध्ययनका अनुसार एक बालवालिकामा दादुरा देखिए त्यसबाट १६ जनासम्ममा सर्न सक्छ । नेपालमा गत वर्ष एक सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ । जसमा प्रदेश नं. १ मा ३५, प्रदेश नं.२ मा ८, वाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ११ जनामा दादुरा भएको प्रमाणित भएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ