२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दक्षिण एसियाका चिकित्सक विराटनगरमा : ९ महिलाको जटिल शल्यक्रिया गर्दै यूरोलाइनोक्लोजी सम्मेलन सम्पन्न

दक्षिण एसियाका चिकित्सक विराटनगरमा : ९ महिलाको जटिल शल्यक्रिया गर्दै यूरोलाइनोक्लोजी सम्मेलन सम्पन्न


विराटनगर – विराटनगरमा भएको ‘साउथ एसियन फेडरेशन अफ यूरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियालीसहित विभिन्न मुलुकका वरिष्ठ स्त्रीरोग विशेषज्ञहरू चिकित्सकहरू आएका छन् । उनीहरूले ९ महिलाको जटिल शल्यक्रिया गरेका छन् । विराटनगर महानगरपालिको सिमामा जोडिएको मोरङको बुढीगंगाउपालिका २ स्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजमा आयोजित साउथ एशियन फेडरेशन अफ यूरोलाइनोक्लोजी सम्मेलनमा पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, अष्ट्रेलिया, नेपालसहित बेलायत, सिंगापुरलगायत देशबाट आएका वरिष्ठ चिकित्सकले महिलाका जटिल शल्यक्रिया गरेका हुन् ।

९ फागुन शुक्रबार विराट मेडिकल कजेल तथा परीक्षण अस्पतालको अपरेसन थिएटरमा ९ जना बिरामीको निः शुल्क शल्यक्रिया गरिएको हो । जटिल प्रकृतिको शल्यक्रियाको प्रत्यक्ष प्रसारण विराट मेडिकल कजेलको कन्फेरेन्स हलमा देखाइएको थियो । लाइभ सर्जरीको माध्यमबाट विराट मेडिकलका विशेषज्ञ चिकित्सकसहित अन्य राष्ट्रका विशेषज्ञ चिकित्सकहरूले यौनाङ्ग नभएका तथा अविकसित भएका यौनाङ्ग बनाउनुका साथै गम्भीर प्रकृतिका महिलाहरूमा हुने मुत्र रोगलगायतका समस्याहरूको सामाधानका विषयमा अध्ययन गरेका थिए ।

सम्मेलनको पहिलो दिनमा अपरेशन पनि सम्मेलन उद्घाटन गरिएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका सहयोगी प्राध्यापक तथा प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा. तरुण प्रधानले जानकारी दिए । पाठेघर खस्ने, पिसाबमा समस्या भएको महिलाको मात्र शल्यक्रिया गर्ने बिरामी महिलाहरूलाई अस्पतालमा बोलाइएको थियो ।

पहिलो दिन ९ जनाको सफल शल्यक्रिया भएको थियो । सम्मेलनपछि अस्पतालमा ५ वटा थप शल्यक्रिया भएको थियो। पाकिस्तानका डाक्टर तथा प्रोफेसर शेरशाह सायेदले पाठेघर खसिरहेका बिरामीको पाठेघर झिक्दा ध्यान दिनु पर्ने, पाठेघर झिकेपछि पिसाबको थैली तथा किड्नीबाट आएको नलीलाई चोट पर्नबाट बचाउने, पाठेघर झिकेपनि पछि फेरी पिसाबको थैली नझरोस भनेर भित्र लगेर टाका लगाएर अड्काउने सल्यक्रिया मार्फत सिकाएका थिए ।

बंगलादेशका डाक्टर रोकिया बेगमले पाठेघर झिक्ने अपरेशन गरिन् । पाकिस्तानकी डाक्टर राहीलाले पाठेघर खसिसकेको २७ वर्षीय महिलाको पाठेघर भित्र राखेकी थिइन् । पाठेघर खसेको उपचार झिक्नु मात्र नभएको भन्दै उनले पाठेघर जोगाएर झरेको अंगलाई मात्र भित्र राखेर शल्यक्रिया गरेर देखाइन् ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले तीन वटा सफल शल्यक्रिया गरे । उनले खोक्दा पिसाब चुहुने समस्या भएका महिलाको दुरबिनबाट पिसाबको नलीमा छेउछेउमा टाका पिसाब नचुहिने शल्यक्रिया गरे ।
पाठेघरको आङ्ग खस्यो भनेर अपरेशन गरे पनि पुनः आङ खसेजस्तो महसुस हुने महिलाको पनि दुरबिनबाट शल्यक्रिया गरे । तेस्रो शल्यक्रियामा डा. कार्कीले आङ खसेको समस्यालाई मिलाउन शल्यक्रियामार्फत सिकाएका थिए ।

सम्मेलनमा १४ वर्षीय जन्मजात पाठेघर तथा योनी बन्ने नली नभएको बालिकाको योनी बनाउने जस्तो जटिल शल्यक्रिया पनि गरिएको छ । भेजाइनो प्लास्टी अर्थात् प्लास्टिकसर्जरी जस्तै योनी बनाइने शल्यक्रियाको प्रयोग गरेर नयाँ योनी बनाइएको छ ।

सम्मेलनको पहिलो दिन शल्यक्रिया गरेका चिकित्सकले दोस्रो दिन प्यानल छलफलमार्फत अनुभव आदान–प्रदान गरेका थिए । प्यानल छलफलमा पाठेघर निकाल्ने शल्यक्रिया धेरै भए पनि, त्यससम्बन्धी उब्जिएका जटिलताहरूलाई घटाउने, पाठेघर निकाल्ने शल्यक्रियालाई सुरक्षित तरिकाले गर्ने विषयमा छलफल भएको थियो ।

सम्मेलनमा नाम दर्ता गराएर शल्यक्रिया गर्न बाँकी बिरामीहरूलाई विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले समय मिलाएर निःशुल्क उपचार गर्नेछ । शल्यक्रिया गरिएका ३ जना बिरामीहरूलाई डिस्चार्ज गरिएको छ । बाँकी भएकाहरूमा जटिल प्रकारको शल्यक्रिया भएका कारण थप ४ देखि ५ दिन निगरानीमा राखेर डिस्चार्ज गरिने छ ।

विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरू, प्रसूति तथा स्त्रीरोगमा स्नातकोत्तर गरिरहेका घोपा क्याम्प, नोबेल मेडिकल कलेज, कोशी अस्पताल, काठमाडौँबाट प्रसूतिगृहका निर्देशक, मोडल अस्पताल, श्री मेमोरियल अस्पताल, वीरगञ्ज नेशनल अस्पतालबाट पनि विशेषज्ञहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ