२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकोभिड–१९ संक्रमितले कति दिनसम्म अरुलाई भाइरस सार्न सक्लान् ?

कोभिड–१९ संक्रमितले कति दिनसम्म अरुलाई भाइरस सार्न सक्लान् ?


काठमाडौं–र्‍यापिड टेष्ट किट (आरडिटी)मार्फत जाँच गराउँदा बिहीबार धादिङमा एक युवामा विदेशबाट फर्किएको ४२ दिनपछि कोभिड–१९ पोजेटीभ देखियो । बिहिवार नै काठमाडौको सनसिटी हाउजिङमा विदेशबाट नेपाल फर्किएको २८ दिनमा पिसिआर प्रविधीबाट जाँच गर्दा एकै परिवारका दुई जनाको कोभिड–१९ पोजेटीभ देखियो । अघिल्लो दिन त्यही परिवारका एक सदस्यमा पनि र्‍यापिड टेष्ट किटबाट जाँच गर्दा पोजेटीभ देखिएको थियो ।

सरकारले र्‍यापिड टेष्ट किट र पिसिआर दुवै विधिबाट परिक्षण जारी राखेको छ । कोभिड–१९ पोजेटीभ देखिएका व्यक्तिहरु अधिकांशको ट्राभल हिष्ट्री हेर्दा कम्तीमा दुई हप्ता नाघेको छ । चैत्र ४ गते नेपाल आएकी दोस्रो संक्रमितको २५ दिनपछिको जाँच पनि कोभिड–१९ पोजेटीभ नै आएको थियो ।

नेपालमा पुष्टी भएका अधिकांशमा लामो समयसम्म पनि पोजेटीभ देखिएसँगै अब प्रश्न उब्जिएको छ संक्रमित व्यक्तिले कति समयसम्ममा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न सक्छन् ? कति समयसम्म अर्को व्यक्तिमा संक्रमण सार्न सक्लान ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २ देखि १४ दिनको बीचलाई संक्रमितले अन्य व्यक्तिहरुलाई सार्न सक्ने उच्च सम्भावना भएको भनेर क्वारेन्टाइनको समय त्यति तोकेको छ । तर, नेपालमा आएका संक्रमितको अवस्था हेर्दा विश्व स्वास्थ्य संगठनले भनेझै ठ्याक्कै नमिलेको विज्ञहरु बताउँछन् । तर, संक्रमितले एन्टीबडी तयार गर्ने क्रम भने त्यही १४ दिन भित्रैबाट सुरु हुने विज्ञहरुको दावी छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमण भएको जति लामो समय हुन्छ त्यति सार्ने सम्भावना कम हुने बताउँछन् । ‘संक्रमित भएको जति लामो समय भयो, त्यति अर्को व्यक्तिमा सार्ने सम्भावना कम हुन्छ,’ डा. पुन भन्छन्, ‘लक्षण देखिएको समय भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने सम्भावना धेरै हुन्छ ।’

विभिन्न अध्ययनले व्यक्तिमा संक्रमण सुरु भएको ६ देखि ७ दिनबाट अरु व्यक्तिमा सार्ने सम्भावना बढी देखाएको डा. पुन बताउँछन् । यस्तो लक्षण सामान्यतयाः एक हप्तासम्म रहन सक्छन् । ‘संक्रमण सुरु भएको २ देखि १४ दिनको समयमा लक्षणहरु बढी देखिन्छन्,’ उनी भन्छन्, ‘लक्षण देखिनु भनेको भाइरसको संक्रमण बढी हुनु हो ।’ यो समयमा शरीरले धेरै भाइरसलाई बाहिर फाल्ने गर्छ ।

मानिसमा भाइरसको संक्रमण भएको केही दिनपछि शरीरले त्यो भाइरससँग जुध्ने क्षमता विकास गर्न थाल्छ । सो भाइरस विरुद्धको क्षमता विकास भएसँगै लक्षणहरु कम हुँदै जाने र क्षमता विकास गर्न नसके समस्या थपिदै जाने हुन्छ ।

लक्षण देखिएको बेला कसरी संक्रमण बढ्न सक्छ ? ‘लक्षण देखिएको बेला बढी खोक्ने हुँदा सिधै भाइरसहरु हावाको माध्यामबाट अरुमा सहजै सर्छ,’ डा. पुन भन्छन्, ‘लक्षण कम भएपछि भाइरस बाहिर फाल्ने क्रम कम हुन्छ । संक्रमितको जुठो खाँदा वा थुकका माध्यामबाट सर्न सक्छ जुन ज्यादै कम सम्भावना हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की संक्रमणको ० दिनदेखि ५ दिनसम्म लक्षण नदेखिन सक्ने समय भएको बताउँछन् । यो समयमा पनि संक्रमितले अरुलाई सारेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैगरी ५ देखि ७ दिनमा लक्षण देखिने, ७ देखि १४ दिनमा आइजिएम एन्टीबडी उत्पादन प्रक्रिया सुरु हुन्छ । यहि समयमा एक संक्रमितले अर्कोमा सार्ने सम्भावना बढी हुने उनी बताउँछन् । १४ दिनदेखि २१ दिनमा आइजिजी एन्टीबडी उत्पादन सुरु हुन्छ । यो अवस्थामा भाइरसको इम्युन पावरभन्दा मानिसको इम्युन पावर बढ्दै जाने हुनाले संक्रमण सार्ने क्रम कम हुँदै जाने गरेको विभिन्न अध्ययनले देखाएको कार्की बताउँछन् ।

२१ दिनपछि शरीरबाट निष्कृय (आइजिजी) हराउँदै जाने र यो लामो समयसम्म पनि शरीरमा रहिरहन्छ । ‘आइजीएम (सक्रिय) एन्टिबडी भएको बेला एक संक्रमितबाट अर्कोमा सर्ने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्, ‘जब आइजिजी एन्टीवडी बन्न थाल्छ, संक्रमण हुने सम्भावना कम हुँदै जान्छ । तर, आइजिजी मानिसको शरीरमा महिनौंसम्म पनि रहन सक्छ ।’

विश्व स्वास्थ्य संगठनले कुनै पनि व्यक्तिमा भाइरसको संक्रमण भएको २ देखि १४ दिन भित्रमा लक्षण देखिने भनेको छ । तर, नेपालमा इनकुभेसन अवधी २१ दिन भनेको छ । स्वाब जाँच गरेर पिसिआर जाँच गरेका १६ जनामध्ये अधिकांश दुई हप्ताभन्दा बढी समयदेखि संक्रमति भएका छन् । दुई हप्ताभन्दा बढीदेखि संक्रमित रहेकाहरुको जाँचमा पोजेटीभ रिपोर्ट देखिएपछि नेपाल सरकारले ंशंकास्पद व्यक्तिले २१ दिन क्वारेन्टाइनमा बस्ने भनिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बताउँछन् ।

भाइरोलोजिष्ट समेत रहेका डा. पाण्डे सामान्यतयाः संक्रमितमा २१ दिनपछि पिसिआर पोजेटीभ आएतापनि भाइरस मरिसकेको हुँदा उसले अन्य मानिसमा सार्ने सम्भावना न्यून हुने बताउँछन् । ‘स्वावलाइ पिसिआर प्रविधिबाट जाच्दा त्यसले भाइरसको लोड मात्र देखाउँछ,’ उनी भन्छन्, ‘त्यो सक्रिय भाइरस हो कि निस्क्रिय भइसकेको छ भनेर हेर्न भाइरसको सेललाई क्वारेन्टाइनमा राखेर हेर्नुपर्छ ।’ भाइरसको सेललाइ क्वारेन्टाइन राखेर हेर्ने प्रविधी नेपालमा नभएको हुँदा अहिलेसम्म पोजेटीभ आएका व्यक्तिहरुको भाइरस अवस्था हेर्न नसकिएको उनको भनाइ छ ।

विश्व स्वास्थय संगठनले पोजेटीभ आएका बिरामीहरुको दुई पटकसम्म जाच्दा नेगेटीभ नआएसम्म कोभिड–१९ संक्रमित नै मानेको छ । नेपालले पनि त्यही नियमलाई पछ्याइरहेको डा. पाण्डे बताउँछन् । तर, पिसिआर रिपोर्ट पोजेटीभ आएपनि कुनै पनि संक्रमितमा २१ दिनपछि लक्षण नदेखिए आइसोलेसनमा राखी राख्नुनपर्ने उनको धारणा छ । ‘पिसिआर रिपोर्टमा भाइरस पोजेटीभ देखिएपनि २१ दिनपछि त्यो सामान्यतयाः निस्क्रिय भइसकेको हुन्छ,’ उनी भन्छन्, ‘त्यस्तो संक्रमितलाई आइसोलेसनमा राखिराख्नु पर्दैन्, होम क्वारेन्टाइनमा बसे हुन्छ ।’ सरकारले अब त्यो गाइडलाइन बनाउनुपर्ने उनको भनाइ छ ।

कुनै पनि संक्रमित व्यक्तिले संक्रमण भएको २१ दिनपछि अर्को मानिसलाई सार्ने सम्भावना ज्यादै न्युन हुने कुरामा डा. पुन पनि सहमत छन् । ‘जति पछि हुँदै जान्छ मानिसको शरीरमा एन्टी जीन (प्रतिरोधात्मक) क्षमता बनिसकेको हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि भाइरसको शक्ति पनि निस्क्रिय हुँदै जान्छ ।’

कोभिड–१९ भाइरस अन्य भाइरसभन्दा केही फरक देखिएको उनको भनाइ छ । लक्षण देखिनु अगाडि र पछाडिको अवधीमा पनि अन्य व्यक्तिमा सारेको पाइएको छ । लक्षण नदेखिइ सार्न सक्ने भएकै कारण इन्कुभेसनको समय बढी राखिएको उनको दावी छ । ‘सामान्यतयाः अन्य भाइरसमा लक्षण देखिएपछि मात्र सार्न सक्ने शक्ति देखिन्थ्यो,’ उनी भन्छन्, ‘यो भाइरसमा लक्षण नदेखिएपनि सारेको विभिन्न अध्ययनले देखाएको छ ।’

स्वास्थ्य विज्ञानमा कुनै पनि कुरा शतप्रतिशत नहुने यसबाट पनि प्रमाणित भएको उनको बुझाइ छ । ‘जुनसुकै कुरामा पनि अपवाद हुन्छ,’ डा. पुन भन्छन्, ‘विभिन्न देशको अध्ययनमा ३८÷४० दिनमा पनि मानिसमा भाइरस एक्टीभ भएको देखाएको छ ।’ कोभिड–१९ नयाँ भाइरस भएका कारण सबै कुरा यही हो भनेर ठोकुवा गर्नु मुर्खता हुने उनको बुझाइ छ ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ