२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकाठमाडौं मेडिकल कलेज किन्न सुनिल शर्माले कसरी जुटाउँदैछन् १ अर्ब ७० करोड रूपैयाँ ?

काठमाडौं मेडिकल कलेज किन्न सुनिल शर्माले कसरी जुटाउँदैछन् १ अर्ब ७० करोड रूपैयाँ ?


काठमाडौं—काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को संस्थापक सेयरको ५१.३८ प्रतिशतसहित कुल ४७.१ प्रतिशत सेयर लिएर केएमसीमा सुनिल शर्मा भित्रिदैंछन् । जसका लागि उनले १ अर्ब ६९ करोड ८६ लाख ४० हजार रुपैयाँ लगानी गर्दैछन् ।

पूर्वी नेपालको मोरङमा अवस्थित नेपालकै ठूलोमध्येको नोबेल मेडिकल कलेजका सञ्चालक हुन्—शर्मा । अहिले एकातिर मेडिकल शिक्षाको व्यवसाय ओरालो लागिरहेको छ भने अर्कोतिर अस्पतालका नियमित सेवाहरु पनि कोरोना भाइरसको बढ्दो संक्रमणका कारण प्रभावित छन् । यही बेला केएमसीको २८ लाख ३१ हजार ६७ कित्ता सेयर किन्न शर्माले कसरी पैसा जुटाउँदैछन् ?

स्रोतकाअनुसार काठमाडौं मेडिकल कलेजको संस्थापक सेयर बिक्रेतामध्येका बढी शेयर भएका एक सञ्चालक नै शर्मालाई सेयर किन्ने पैसा जुटाउन सहयोग गर्दैछन् । शर्माका लागि पैसा जुटाउन सहयोग गर्नेमा चिकित्सा शिक्षाको खस्कँदो अवस्था देखेर सेयर बिक्री गर्न लागेका केएमसी सञ्चालक समितिमा समेत रहेका संस्थापक राधेश पन्त लागेका छन् । पन्त नै बोर्ड अफ डाइरेक्टरमा रहेको बैंक अफ काठमाण्डू (बिओके)ले नेतृत्व गरेर उक्त रकम जोहो गरिदैछ ।

केएमसी र बैंक अफ काठमाण्डू दुवैतिरको व्यवस्थापनमा रहेका पन्तले आफूले केएमसीको सेयरका किन्नका लागि शर्मालाई लोन दिनका लागि सहयोग गर्न लागिरहेको भन्ने कुरा सत्यता नभएको बताए । आफ्नो सेयर बेचेको पैसा आफ्नै बैंकबाट जुटाइदिने वातावरण तपाईले बनाएको हो ? भन्ने प्रश्नमा पन्तले बैंक अफ काठमाण्डू पहिलेदेखिकै नोबेलको कन्सोर्र्टिएम भएको बताए ।

‘बिओके पहिलेदेखि नै नोबेलको कन्सोर्टिएम हो । त्यसमा गभर्नेन्सको कुराहरु डेफिनेटल्ली छन् । यो लोन बिओएकेले नै दिने होइन्, कन्सोर्टिएमले दिएको लोन हो,’ उनले हेल्थआवाजसँगको टेलिफोन कुराकानीमा भने, ‘अर्को कुरा केएमसीको सेयर कसले बेच्ने कसले नबेच्ने भन्ने कुरा पनि टुंगो लागेको छैन । सेयर किनबेचको कुरा मेरो उपस्थितीमा भएको पनि होइन । त्यसरी हेर्न मिल्दैन्, यो नेपाल राष्ट्र बैंकको नियमअनुसार नै भएकोजस्तो मलाई लाग्छ । यो ठूलो प्रक्रिया छ । बैंकमै फोन गर्नुहोस्, त्यहाँ डिटेल थाहा होला ।’ उनले नेपालमा केही सानो चिज गर्न खोज्दा पनि ठूलो बनाएर कसरी भत्काउने भन्ने खेल हुने गुनासो पोखे ।

उक्त पैसाको जोहो गर्नका लागि शर्माले विराटनगर महानगरपालिका—४ को ठेगानामा नयाँ प्रोजेक्ट दर्ता गराएका छन् । त्यसका लागि उनले ५ असारमा कम्पनी रजिष्ट्रारको कार्यलयमा ‘नोबेल क्यान्सर हस्पिटल प्रा.लि.’ दर्ता गराएका हुन् । सोही प्रोजेक्टका आधारमा बैंक अफ काठमाण्डू कन्सोर्टिएम भएर २ अर्ब ३८ करोड लोन पास गर्ने कुरा लगभग अन्तिम चरणमा छ । बैंक स्रोतकाअनुसार उक्त कन्सोर्टियम लोनका लागि अन्य ५ वटा बैंकलेसमेत सहमति जनाइसकेका छन् ।

हेल्थ आवाजले यस विषयमा बैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्तसँग जिज्ञाशा राख्दा उनले कन्सोर्टियम लोनको प्रक्रिया अगाडि बढेको बताए । ‘उहाँ (नोबेल मेडिकल कलेज सञ्चालक) १२ वर्षदेखिको हाम्रो ग्राहक हो । उहाँले क्यान्सर अस्पताल एक्स्टेन्सनका लागि प्रपोजल ल्याउनुभयो । त्यसमा हामी कन्सोर्टिएम भएर ४—५ वटा बैक मिलेर लोन दिने कुरा अगाडि बढेको हो,’ सिइओ पन्तले भने, ‘उहाँ भरपर्दो ग्राहक हो । यसअघि पनि २—३ अर्ब लोन लिनुभएको छ ।’

सिइओ पन्तले नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल बिओकेको हाइभोलुमको ट्रान्जेक्सन गर्ने ग्राहक भएको पनि बताए । ‘बिरामीहरुको एकदमै राम्रो फ्लो भएको र राम्रो चलेको मेडिकल कलेज भएकाले लोन दिएका हौं,’ उनले कारण प्रस्टयाए, ‘अस्पताल चलाउँदा क्यान्सरका बिरामी पनि आएकाले उहाँले क्यान्सर अस्पताल चलाउने राम्रो प्रोजेक्ट ल्याउनुभयो । पूरानो र भरपर्दो ग्राहकको त्यति राम्रो प्रोजेक्टलाई लोन नदिने कुरा पनि आउँदैन् ।’

क्यान्सर अस्पतालका नाममा सो लोन स्वीकृत भएपछि नोबेल क्यान्सर अस्पताल प्रा.लि.ले सुनिल शर्माको नाममा कञ्चनवारी रहेको ७ विघा जग्गा धुरको ८ लाखका दरले किन्ने प्रोजेक्ट बनेको छ । उक्त मूल्यमा सो जग्गा किन्दा जग्गाको मूल्य २ अर्ब २४ करोड हुन आउँछ । बाँकी रकम भने सो जग्गामा पूर्वाधार बनाउन र इक्वीपमेन्ट खरिदका लागि खर्चने तयारी छ ।

शर्माको व्यक्तिगत जग्गा कम्पनीले किनिसकेपछि आउने २ अर्ब २४ करोड पैसा कम्पनीको नभई उनको व्यक्तिगत हुने आर्थिक मामलाका जानकारहरु बताउँछन् । जग्गा बेचेपछि व्यक्तिगत नाममा आउने सोही पैसाबाट शर्माले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको सेयर किन्ने तयारी गरेका छन् ।

शर्माले केएमसीका १ सय ३३ जना संस्थापक सेयर धनीको कुल १७ लाख ७१ हजार ६५ कित्ता किन्न लागेका हुन् । त्यस्तै, उनले कम्पनीका बहालवाला सञ्चालक रवीन्द्रराज पाण्डे, शशीराज पाण्डे, शिवान्तराज पाण्डे र राधेश पन्त र उनीहरुका परिवारमा नाममा रहेको थप १० लाख ६० हजार २ कित्ता सेयर पनि खरिद गर्ने पक्कापक्की भएको स्रोतले जनाएको छ ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको नाममा अहिले संंस्थापक ३ सय ५४ जनाको ७० प्रतिशत र सर्वसाधारण (कर्मचारी) ७ सय १८ जनाको ३० प्रतिशत सेयर रहेको छ । कुल ६० लाख ९ हजार ५ सय ५३ कित्ता सेयरमध्ये संस्थापकका नाममा ५५ लाख ९ हजार ५ सय ५३ कित्ता र सर्वसाधारणका नाममा ५ लाख कित्ता सेयर छ । संस्थापकको ५५ लाख ९ हजार ५ सय ५३ कित्तामध्ये २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माको हातमा जाँदैंछ ।

यो पनि पढ्नुस 

Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, #बिओके, #सुनिल शर्मा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ