२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टस्वास्थ्यका ४० वर्षमुनिका १० सहसचिव, जसले कम उमेरमै पाए लोभलाग्दो सफलता

स्वास्थ्यका ४० वर्षमुनिका १० सहसचिव, जसले कम उमेरमै पाए लोभलाग्दो सफलता


काठमाडौं—सरकारी जागिर । त्यसमा पनि कमै उमेरमा उच्च तहमा पुग्नु भाग्यकै कुरा हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४० वर्ष नकट्दै उपल्लो तहमा पुग्ने उच्च अधिकारीहरु छन् । स्वास्थ्य सेवातर्फका १ सय २५ जना सह—सचिवमध्ये १० जना ४० वर्ष नकटेका सहसचिव छन् ।

अझ रोचक त के भने ४० वर्ष उमेर नकटदैं स्वास्थ्यका उच्च पदमा पुग्ने १० जनामध्ये महिला र पुरुषको संख्या बराबरी छ । अझ रमाइलो त के भने १० जनामध्ये ९ जना त चिकित्सक नै हुन् । एक जनामात्रै मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन् । १० जनामध्ये दुई जना निर्देशक पदमा छन् ।

हेल्थआवाजलाई प्राप्त तथ्यांकअनुसार ४० वर्ष नकटदैं स्वास्थ्य सेवाको सहसचिवजस्तो उच्च पदमा पुग्ने युवाहरुको जमात आशालाग्दो छ । सरकारी सेवामा ४० नकट्दै उच्च तहमा पुगेका उनीहरुको सफलता लोभलाग्दो छ । तीनै १० जना युवा सहसचिवको हाइलाइटहरु हेल्थआवाजले प्रस्तुत गरेको छ ।

सुदूरका इएनटी विशेषज्ञ डा. अशोक

भेरी अस्पतालमा दरबन्दी भएर काजमा सेती प्रादेशिक अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट ईएनटी सर्जन डा. अशोक श्रीपाइली पनि ४० वर्ष नकटेका युवा सहसचिव हुन् । डा. श्रीपाइली २०६६ साल पुसमा सरकारी सेवामा प्रवेश गरेका हुन् । उनले २०७३ साउनमा एघारौं तहमा बढुवा पाएका हुन् ।

वि.सं. २०४० साल फागुनमा कैलालीको टीकापुरमा जन्मिएका हुन्—डा. अशोक । उनको शिक्षादीक्षा स्थानीय वीरेन्द्र विद्या मन्दिरबाट अगाडि बढेको हो । त्यहीबाट उनले वि.सं. २०५६ सालमा डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरेका हुन् ।काठमाडौंको नोबेल एकेडेमीबाट वि.सं. २०५७ सालमा उनले प्लस टु को अध्ययन पूरा गरे ।

त्यसपछि सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न बंगलादेश गए । उनले सन् २००७ मा बंगलादेशबाट एमबीबीएस सकेर स्वदेश फर्किए । त्यसपछि सरकारसँगको करार सम्झौताअनुसार उनले सेती अस्पतालमा दुई वर्ष काम गरे । वि.सं. २०६६ सालमा मेडिकल अधिकृतका रुपमा लोकसेवाबाट उनको सरकारी सेवामा प्रवेश भयो ।

त्यसपछि उनले कैलालीको मालाखेती अस्पतालमा अढाई वर्ष सेवा गरे । वि.सं. २०७२ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट उनले नाक, कान र घाँटी रोगमा विशेषज्ञता हासिल गरे । त्यसको अर्को वर्ष खुल्ला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाले । ‘सरकारी सेवामा आनन्द महसुस गरिरहेको छु,’ उनले भने, ‘सुदूरपश्चिमका सबै जिल्लाबाट बिरामी आउने सेती प्रादेशिक अस्पताल रिफरल अस्पताल हो । यही शल्यक्रिया गर्ने अवसर पाएको छु ।’ बिरामीको सेवा गर्न पाएकोमा उनी खुसी छन् ।

लगनशीलता, अध्ययन र पढ्ने वातावरणलाई उनी आफ्नो सफलताको कारण मान्छन् । डा. श्रीपाइली वि.सं. २१०० फागुनमा अवकास पाउनेछन् । उनको सरकारी सेवामा ११ वर्ष पुगेको छ ।

भेरीमा रमाएका डा. बद्री

डा. बद्री चापागाई अहिले ठ्याक्कै ३९ वर्ष ७ महिनाका भए । भेरी अस्पताल बाँकेमा प्रमुख कन्सल्ट्यान्ट डर्माटोलोजी, लेप्रोलोजिष्ट, भेनरल डिजिजका रुपमा कार्यरत छन् । डा. चापागाईले २०६३ फागुनबाट सरकारी सेवामा नियुक्ति लिएका हुन् । २०७३ साउन ५ गते एघारौं तहमा बढुवा भएका हुन् । उनले ११ औं तहको नियुक्ति लिँदा ३४ वर्ष ६ महिनाका थिए ।

वि.सं. २०३८ साल पुसमा पर्वत कुर्घामा जन्मिएका हुन्—डा. चापागाई । काठमाडौंको स्वर्णिम शिक्षा सदनबाट वि.सं. २०५३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । पछिल्लो ८ वर्षदेखि भेरी अस्पतालमा कार्यरत डा. चापागाईले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट एमडी र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गरेका हुन् ।

सानैदेखि बिरामीको सेवा गर्ने हुटहुटीले चिकित्सक बनेका उनी अहिलेको नेपालको स्वास्थ्यको वर्किङ कल्चर र केही नीतिगत कुराहरुमा पुनःसंचरना गर्नुपर्ने धारणा राख्छन् । ‘म व्यक्तिगत रुपमा आफ्नो सेवाबाट सन्तुष्ट छु,’ उनले भने, ‘तर, यही रुपमा हाम्रो स्वास्थ्य संरचना अगाडि बढ्न सक्तैन । त्यसैले वर्किङ कल्चर र केही नीतिगत कुराहरुमा पुनःसंरचना आवश्यक छ ।’

यी चिकित्सक आफूलाई बिरामीको सेवामा रहँदा सबैभन्दा बढी आनन्द प्राप्त हुने धारणा व्यक्त गर्छन् । भन्छन्, ‘बिरामीको सेवा गर्न पाउँदा मनै रमाउँछ ।’ डा. चापागाईले सरकारी सेवामा १४ वर्ष पुगेको छ । यो अवधिमा उनले दैलेख, जुम्ला, पाल्पा, मुगुलगायतका जिल्लामा काम गरिसकेका छन् । उनी वि.सं. २०९८ साल पुसमा सेवाबाट अवकास पाउनेछन्

जनस्वास्थ्य प्रशासक डा. राधिका

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी हाकिम डा. राधिका थपलियामा पनि कान्छी सहसचिवमध्येमा पर्छिन् । वि.सं. २०६६ साल पुसमा सरकारी सेवा प्रवेश गरेकी डा. थपलियाले २०७४ भदौंमा ११ औं तहमा बढुवा भएकी हुन् । डा. थपलिया प्रमुख स्वास्थ्य शिक्षा प्रशासक हुन् ।

उनी वि.सं. २०४० साल फागुनमा नुवाकोटको थानसिंहमा जन्मिएकी हुन् । उनको प्रारम्भिक शिक्षा सोह्रखुट्टेस्थित सिद्धि गणेश माविमा भएको थियो । त्यहीबाट उनले वि.सं. २०५६ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुन् । त्यसपछि उनी आईएस्सी पढ्न अस्कल गइन् । अस्कलबाट वि.सं. २०५८ सालमा आईएस्सीको अध्ययन पूरा गरिन् ।

त्यसपछि डा. राधिकाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को आयुर्वेद क्याम्पसबाट बीएमएसको पढाइ सकिन् । वि.सं. २०६४ सालमा बीएमएसको पढाइ सकेपछि उनले लोकसेवा दिइन् । विभिन्न कारणले लोकसेवा केही ढिलो भयो । वि.सं. २०६६ सालमै उनले आठौं तहको आयुर्वेद चिकित्सकका रुपमा सरकारी सेवा सुरु गरिन् । आयुर्वेद चिकित्सका रुपमा उनको सुरुवाती पोष्टिङ रामेछापमा भयो । त्यहाँ उनले साढे दुई वर्ष बिताइन् । वि.सं. २०७२÷०७३ मा हेल्थ प्रवद्र्धन शिक्षामा स्नातकोत्तर गरिन् ।

वि.सं. २०७४ सालमा लोकसेवाको खुल्लातर्फ सहसचिवमा नाम निकालिन् । काठमाडौंमा सरकारी जागिरको आकर्षण नदेखेकी डा. राधिका भने सानैदेखि सरकारी सेवामै लाग्ने भनेर पढिन् । त्यहीअनुसार उनले आफ्नो करिअरको योजना अगाडि बढाइन् । ३२ वर्षको उमेरमै ११ औं तहमा नाम निकालेकी उनले विमा संस्थानको कार्यकारी निर्देशक रहँदा संगठनको अस्थायी संरचना बनाउनदेखि त्रिवि शिक्षण अस्पताललाई बिमामा आवद्ध गराउने काम गराइन् । केही समय फाजिलमा समेत रहेकी उनी राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशकको जिम्मेवारीमा छन् । उनी स्वास्थ्य शिक्षालाई प्रवद्र्धनात्मक रुपमा अगाडि बढाउने योजनामा लागिरहेकी छन् । उनी वि.सं. २१०० फागुनमा अवकास पाउनेछिन् । डा. थपलियाको स्वास्थ्य सेवामा ११ वर्ष पुगेको छ ।

टेकुका युवा निर्देशक डा. अनुप

डा. अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक हुन् । एघारौं तहका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन विशेषज्ञ उनी २०६३ फागुन २८ मा सरकारी सेवामा प्रवेश गरेका हुन् । उनी विगत १३ वर्षयता टेकु अस्पतालमा कार्यरत छन्, त्यसअघि उनले दार्चुलामा काम गरेका थिए । डा. अनुप २०७५ जेठमा ११ औं तहमा खुल्लाबाट नाम निकालेका हुन् ।

टिमवर्कमा विश्वास गर्ने उनको कोभिड—१९ का बिरामीहरुको उपचारमा खेलेको भूमिका कारण पनि चर्चा भएको थियो । वि.सं. २०३८ साल फागुनमा पोखरामा जन्मिएका उनले वि.सं. २०५३ सालमा लक्ष्मी आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । काठमाडौं युनिभर्सिटीबाट आइएस्सी अध्ययन पुरा गरेका उनले नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस गरेका हुन् । उनले न्याम्सबाट डर्माटोलोजीमा र बैंककको स्कुल अफ ट्रोपिकल मेडिसिन महिडोल युनिभर्सिटीबाट ट्रोपिकल एन्ड इन्फिक्सियस डिजिजमा एमडी गरेका छन् ।

डा. अनुपको पारिवारिक विरासत पनि सरकारी सेवासँग जोडिएको छ । त्यही कारण उनी सानैदेखि सरकारी सेवाप्रति आकर्षित भएको बताउँछन् । ‘म सरकारी सेवामा आउनुको पहिलो कारण त जनताको सेवा नै हो । फ्यामिलीका सदस्यहरु पनि सरकारी सेवामै भएकाले म बाहिर जान लागिन्,’ उनी भन्छन्, ‘विशेषगरी फ्यामिलीका कारण सरकारी सेवाप्रति विकास भएको एट्याचमेन्ट र आफ्नो रुचिकै कारण यो सेवामा आएको हुँ ।’

१४ वर्ष सरकारी सेवामा बिताएका डा. अनुप बिरामीको सेवा गर्दा प्राप्त हुने सुख र आनन्दले लगातार आफूलाई सरकारी सेवाले उर्जावान बनाइरहेको उनी बताउँछन् । मेहनत, वातावरण र रुचिका कारण आफू लोकसेवामा सफल भएको उनको अनुभव छ । डा. अनुप २०९८ फागुनमा सरकारी सेवाबाट अवकास पाउनेछन् ।

सेवा गर्ने रहरले स्वदेशमा बसेका सर्जन

प्रमुख कन्सल्ट्यान्ट सर्जन डा. अनिप जोशी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा कार्यरत छन् । डा. जोशी पनि ४० नकटेका स्वास्थ्यका सहसचिव हुन् । उनले वि.सं. २०६६ साल माघमा सरकारी सेवामा प्रवेश गरेका हुन् । वि.सं. २०७५ जेठमा एघारौं तहमा बढुवा भएका हुन् ।

वि.सं. २०३९ साल पुसमा ललितपुर महानगरपालिकामा जन्मिएका डा. जोशी जनरल सर्जन हुन् । उनले आर्दश विद्यामन्दिरबाट वि.सं. २०५४ सालमा डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरेका हुन् । विश्व निकेतन मावि त्रिपुरेश्वरबाट प्लस टु गरेका डा. अनिपले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस गरेका हुन् । वि.सं. २००५ मा एमबीबीएस गरेपछि उनका धेरैजना साथीहरु विदेश हानिए ।

तर, देशमै केही गर्ने भावना भएकाले उनले सरकारी सेवा रोजेका हुन् । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट सन् २०१३ मा एमडी गरेका उनको सानैदेखि सरकारी सेवामा रुचि थियो । ‘मलाई देशमै केही गरौ भन्ने थियो । सरकारी सेवा मेरो पहिलेदेखिकै रोजाइ हो,’ उनले भने । डा. जोशी लोकसेवाका लागि आफ्नो मेहनत, केही गर्छ भन्ने भावना र भिजन पछ्याउने शैली आवश्यक पर्ने बताउँछन् । उनी वि.सं. २०९९ पुसमा अवकास पाउनेछन् । उनको सरकारी सेवा सुरु गरेको ११ वर्ष पुगेको छ ।

ग्यास्ट्रोका भविष्य डा. मुकेश

डा. मुकेश शर्मा पौडेल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टेरोलोजिष्ट हुन् । पौडेल पनि ४० वर्ष नकेटेका स्वास्थ्य सेवाका सहसचिव हुन् । वि.सं. २०७७ साल भदौंमा सिधैं ११ औं तहबाट सरकारी सेवामा सेवा प्रवेश गरेका हुन्, उनी ।

वि.सं. २०३९ साल बैशाखमा कपिलवस्तुको तौलिहवामा जन्मिएका हुन्, उनी । उनले त्यहीको स्थानीय स्कुलबाट कक्षा ४ सम्म अध्ययन गरे । ४ कक्षादेखि १० कक्षासम्म उनले बुटवलको सिद्धार्थ इग्ंिलस बोर्डिङ स्कुलमा पढे । डा. मुकेशले वि.सं. २०५५ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेका हुन् । बुटवलकै तिलोत्तमा स्कुलबाट उनले वि.सं. २०५७ सालमा विज्ञानमा प्लस टु सके ।

एमबीबीएसमा छात्रवृत्तिमा नाम निस्किएपछि सन् २००२ मा उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गए । सन् २००८ मा विपीबाट एमबीबीएस सके । त्यसपछि उनी एमडी गर्नका लागि भारतको नयाँदिल्ली गए । नयाँदिल्लीको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) बाट सन् २०१२ मा एमडी सके । त्यसपछि स्वेदश फर्किएका डा. मुकेशले केही समय लुम्बिनी मेडिकल कलेजमा प्रायाक्टिस गरे । उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट ग्यास्ट्रोमा डिएम गरेका छन् ।

११ औं तहबाट सरकारी सेवामा प्रवेश गर्ने भाग्यशाली डा. मुकेशले यो सेवा रोज्नुको कारण पनि फरक छ । ‘प्राइभेटमा काम गर्दा बिरामी जाच्छौं, निको पार्छौ । क्युरेटिभका कामहरु मात्र गर्न सकिन्छ ।’ उनी भन्छन्, ‘तर, सरकारी सेवामा प्रिभेन्टी, प्रमोटिभ र क्युरेटिभ तीनै कामहरु गर्न सकिन्छ । त्यही कारण सरकारी सेवा मेरो रोजाइमा परेको हो ।’

यी युवा चिकित्सक मेहनत गर्ने हो भने लोकसेवामा पनि सहजै नाम निकाल्न सकिने बताउँछन् । ‘एकेडेमिक र कोर्स कुराहरु हामीले पढिरहेकै हुन्छौं । व्यवस्थापन र नीतिगत कुराहरुमा जोड दिएर पढ्नुपर्छ,’ उनी सुनाउँछन्, ‘सिनियरहरुको समेत आइडिया लिँदा लोकसेवा पास गर्न सहज हुन्छ ।’ वीरका निर्देशक डा. भूपेन्द्र बस्नेत पनि ग्यास्ट्रोकै विशेषज्ञ भएकाले ग्यास्ट्रोका धेरै विषयमा काम गर्न सहज भएको अनुभव उनले सुनाए । डा. शर्मा पौडेल वि.सं. २०९९ बैशाखमा सरकारी सेवाबाट अवकास पाउनेछन् ।

अर्थोकी आशा डा. शिलु

राष्ट्रिय ट्रमा सेन्टरकी युवा अर्थोपेडिक सर्जन हुन्—डा. शिलु श्रेष्ठ । डा. श्रेष्ठ वि.सं. २०७७ भदौंमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी पनि सिधैं एघारौं तह (सहसचिव)बाट सरकारी जागिर सुरु गर्नेमा पर्छिन् ।

वि.संं. २०४० असोजमा पाटनमा जन्मिएकी डा. श्रेष्ठले आर्दश विद्या मन्दिरबाट वि.सं. २०६४ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुन् । क्यास्पियन एकेडेमीबाट प्लस टु गरेकी उनी त्यसपछि एमबीबीएसको तयारीमा लागिन् । काठमाडौं विश्वविद्यालय धुलिखेलबाट सन् २००७ मा उनले एमबीबीएस उत्तीर्ण गरेकी हुन् । डा. श्रेष्ठ केयु धुलिखेलको पहिलो ब्याचको एमबीबीएस विद्यार्थी हुन् । उनले धुलिखेलबाटैं सन् २०१३ मा अर्थोपेडिक सर्जरीमा एमडी गरिन् । त्यसपछि एक वर्ष सिंगापुर गएर उनले ह्याण्डको माइक्रो सर्जरी सम्बन्धमा फेलोसीप गरिन् ।

फेलोसीप गरेर स्वदेश फर्किएपछि डा. श्रेष्ठले बीएण्डबी अस्पतालमा केही समय काम गरिन् । गत वर्ष ११ औ तहमा सरकारी जागिर खुलेपछि उनी त्यसको तयारीमा लागिन् । पहिलो प्रयासमै उनले ११ औं तहको सरकारी जागिरमा नाम निकालिन् । ‘पहिले सरकारीमा केही गर्न सकिदैन होला भनेर मेरो सरकारी सेवातर्फ आकर्षण थिएन,’ हालैको साँझ हेल्थआवाजसँग उनले भनिन्, ‘तर, विस्तारै बुझ्दैं जाँदा सरकारीमा पनि गर्न सकिने पर्याप्त ठाउँहरु रहेछन् ।’

डा. श्रेष्ठका श्रीमान डा. पारसमणि श्रेष्ठ वीर अस्पतालमै कार्यरत छन् । उनकै पहलमा वीर अस्पतालको युरोलोजी विभाग राम्रो बनेको उनले देखिन् । यसले उनमा सरकारी जागिर गर्ने जागर भ¥यो । त्यसपछि उनले लोकसेवाको तयारी गरिन् र पहिलो प्रयासमै उच्च पदमा नाम निकालिन् । ‘लोकसेवामा नाम निकाल्नका लागि बेस्सरी पढ्नुपर्ने रहेछ,’ डा. शिलुले सुनाइन्, ‘एकेडेमिक कुराहरुमात्रै होइन्, मुलुकको स्वास्थ्य स्थिती, नीति नियम, व्यवस्थापनजस्ता कुराहरु पनि पढ्नुपर्दोरहेछ ।’ लोकसेवा तयारी गर्दा पनि रमाएकी उनी अहिले सरकारी स्वास्थ्य संस्थामा २५—२६ विद्यार्थीलाई पढाउने, शल्यक्रिया गर्नेलगायतका काममा रमाइरहेकी छन् । वि.सं. २१०० असोजमा सरकारी सेवाबाट अवकास पाउनेछन् ।

सबैभन्दा कान्छी सहसचिव

डा. रश्मि शर्मा अहिलेका स्वास्थ्यका सबै सहसचिवहरुमा कान्छी हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट डर्माटोलोजिष्टका रुपमा कार्यरत छन् । । डा. रश्मिले वि.सं. २०७० साल पुसमा मेडिकल अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । त्यसपछि उनले वि.सं. २०७७ साल भदौमा एघारौं तहमा नाम निकालिन् ।

वि.सं. २०४४ साल असारमा जन्मिएकी हुन्, डा. रश्मि । ३३ वर्षकै उमेरमा सहसचिवमा बनेकी उनको स्थायी ठेगाना बाग्लुङको जैमिनी नगरपालिका हो । वि.सं. २०६० सालमा बुढानिलकण्ठबाट स्कुल डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरेकी उनले त्यहीबाट प्लस टु गरेकी हुन् । शिक्षक बुवाआमाकी छोरी रश्मि पढाइमा सदैव अब्बल थिइन् ।

उनले नेपालगन्ज मेडिकल कलेजबाट वि.सं. २०६९ मा एमबीबीएस उत्तीर्ण गरेकी हुन् । वि.सं. २०६३ सालमा उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) छालारोगमा एमडी गरिन् । डा. रश्मिले बाग्लुङ र चितवनमा काम गरेकी छन् ।

बुवाआमाको हेरविचार, गुरुहरुको माया र आफ्नो मेहनतलाई सफलताको मुख्य कारण मान्ने उनी लोकसेवामा पास गर्न पढ्नुपर्नेमा जोड दिन्छिन् । डा. रश्मि लोकसेवाका लागि सबैभन्दा बढी पढाइमै मेहनत गर्नुपर्नेमा जोड दिन्छिन् । वि.सं.२१०४ असारमा अवकास पाउने उनले सरकारी सेवामा प्रवेश गरेको ७ वर्ष भएको छ ।

ल्याब टेक्नोलोजिष्ट लिली

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट लिली श्रेष्ठ पनि ४० नकटेका सहसचिवमध्येमा पर्छिन् । उनी वि.सं. २०७१ कात्तिकमा सातौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन् । वि.सं. २०७७ भदौमा एघारौं तहमा पुगेकी श्रेष्ठले सरकारी सेवामा प्रवेश गरेको ६ वर्ष पुगेको छ ।

श्रेष्ठ वि.सं. २०३९ पुसमा पाटनमा जन्मिएकी हुन् । उनले त्यहीको बी राइजिङ स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । त्यही स्कुलबाट वि.सं. २०५४ सालमा उनले एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि आइएस्सी पढ्नका लागि अस्कल गइन् । अस्कलबाट वि.सं. २०५७ सालमा उनले आईएस्सीको अध्ययन पूरा गरिन् ।

त्यसपछि उनको रोजाइमा मेडिकल टेक्नालोजी प¥यो । त्यसका लागि उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा बीएमएलटी अध्ययन गर्ने अवसर पाइन् । वि.सं. २०६६ सालमा उनले बीएमएलटी पास गरिन् । लिलीले आईओएमबाटै सन् २०१३ मा एमएस्सी इन क्लिनिकल बायोकेमेष्टीको अध्ययन पूरा गरिन् ।

स्वदेशमै बस्ने र एक्स्पोजर पनि पाइने भएकाले उनले सरकारी सेवा रोजेकी हुन् । ‘सरकारी सेवामा नीतिगत कामहरु पनि गर्न पाइने, एक्स्पोजर पनि राम्रो पाइन्छ,’ उनले भनिन्, ‘देशमै बस्ने भएपछि सरकारी सेवा नै राम्रो अनि सरकारी सेवामा आए ।’

सरकारी जागिरको यो अवधिमा उनले केही समय भरतपुर अस्पताल बिताइन् भने अधिकांश समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै बितेको छ । उनले वि.सं. २०९९ पुसमा सरकारी सेवाबाट अवकास पाउनेछिन् ।

मोफसलकी युवा सर्जन

डा. वर्षा थापा लुम्बिनी प्रादेशिक अस्पतालकी प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन हुन् । स्वास्थ्यका ४० वर्ष नकटेका सहसचिवहरुमा उनी पनि पर्छिन् । उनले वि.सं. २०७५ साउनमा ९ औं तहमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । डा. थापाले वि.सं. २०७७ भदौंमा एघारौं तहमा नाम निकालिन् र प्रमुख कन्सल्ट्यान्ट डेन्टल सर्जन भइन् ।

वि.सं. २०४० असारमा रुपन्देहीको सिद्धार्थनगरमा जन्मिएकी हुन्—डा. थापा । उनको प्रारम्भिक शिक्षादीक्षा रुपन्देहीमै अगाडि बढेको हो । त्यहीको वुद्धज्योति माविबाट उनले २०५५ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलबट उनले सन् २००० मा आईएस्सी पास गरिन् ।

त्यसपछि उनी बिडिएस पढ्नका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा गइन् । सन् २००२ बाट बिडिएसको अध्ययन सुरु गरेकी उनले सन् २००८ मा अध्ययन सकिन् । सन् २०११ मा उनले चीनबाट एमडी गर्नका लागि नेपाल सरकारको छात्रवृत्ति पाइन् । चीनबाट अर्थोडेन्टीष्टमा माष्टर्स गरेर सन् २०१४ मा उनी नेपाल फर्किइन् ।

डा. वर्षाले नेपाल फर्केपछि उनले खुल्लातर्फ लोकसेवा पास गरिन् । सुरुमा नवौं तहबाट सरकारी सेवामा अग्रसर भएकी उनी पछि ११ औं तहमा नाम निकालिन् । उनी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन् । दुवै प्रयासमा लोकसेवामा सफलता पाएकी उनी लोकसेवामा सुरुमा अप्ठ्यारो लागेपनि पढ्दै गएपछि सहजता आउने बताउँछिन् । ‘मेरो अनुभवमा पहिलो पटक लोकसेवा गाह्रो हुन्छ । नीति नियमहरु अप्ठ्यारा लाग्छन्,’ उनले सुनाइन्, ‘निरन्तर र नियमित समय दिए पढ्ने हो भने लोकसेवा पास गर्न सकिन्छ ।’

सरकारी सेवामा पनि उनले मिश्रित अनुभव रहेको छ । ‘धेरैले सरकारी जागिरमा अवसर देख्दैनन्,’ उनी भन्छन्, ‘तर, सरकारी सेवामा चाहना राख्यो भने गर्न सकिने धेरै ठाउँहरु छन् ।’ उनी पोजेटिभ सोचाइ राख्ने र केही गर्न चाहने मान्छेहरु सरकारी सेवामा आएमा धेरै सुधार गर्न सकिने बताउँछिन् । सरकारी सेवामा २ वर्ष बिताएकी डा. थापा वि.सं. २१०० असारमा अवकास पाउनेछिन् ।

यो पनि पढ्नुस

स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन्


क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #डा. अनिप जोशी, #डा. अनुप बास्तोला, #डा. अशोक श्रीपाइली, #डा. बद्री चापागाई, #डा. मुकेश शर्मा पौडेल, #डा. रश्मि शर्मा, #डा. राधिका थपलिया, #डा. वर्षा थापा, #डा. शिलु श्रेष्ठ, #लिली श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)