२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलस्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन्

स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन्


धेरैका लागि सरकारी जागिर ‘ड्रिम’ हो । अझ उच्च तहको सरकारी जागिरको अर्कै महत्व हुन्छ । त्यसमा पनि कमै उमेरमा त्यो मुकाम हासिल गर्न सबैका लागि सम्भव हुँदैन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २५ जना सहसचिवमध्ये डा. रश्मि शर्मा सबैभन्दा कान्छी सह—सचिव (११ औं तह) हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको ११ औं तहकी प्रमुख कन्सल्टेन्ट डर्मोटोलोजिष्ट, लेप्रोलोजिष्ट हुन् । डा. रश्मिले यो मुकाम ३३ वर्षको कलिलै उमेरमा हासिल गरेकी हुन् ।

लोकसेवामार्फत उनले गत वर्षमात्रै सह-सचिवमा नाम निकालेकी हुन् । यी कान्छी सह-सचिव शर्माको स्थायी ठेगाना बाग्लुङको जैमिनी नगरपालिका हो । वि.सं. २०४४ असार १० मा उनको जन्म भने काठमाडौंमै भएको हो । ९ भदौं २०७७ मा उनले ११ औं तहमा नाम निकालेकी हुन् ।

उनका बुवा मुकुन्दप्रसाद शर्मा बुढानिलकण्ठ स्कुलमा अध्यापन गराउँथे । आमा मायादेवी शर्मा पनि बुढानिलकण्ठ स्कुलमै पढाउँथिन् । मुकुन्द र मायादेवीका तीन वटा सन्तान शैक्षिक माहौलमै हुर्किए । ४ कक्षासम्म बुढानिलकण्ठ प्राथमिक स्कुलमा पढेकी डा. रश्मीपछि बुढानिलकण्ठ स्कुल गइन् । त्यही क्वार्टरमा बुवाआमासँगै बसेकी उनले बुढानिलकण्ठकै शैक्षिक परिवेशमा हुर्किन पाइन् । ‘बुढानिलकण्ठको उत्कृष्ट शैक्षिक वातावरणको लाभ हामीलाई मिल्यो,’ उनले सुनाइन् ।

भनिन्छ, हुने विरुवाको चिल्लो पात डा. रश्मि पनि पढाइमा अब्ब थिइन् । परिणाम नै मान्नुपर्छ, वि.सं. २०६० सालमा उनले डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरिन् । प्लस टु पनि उनी बुढानिलकण्ठ स्कुलमै विज्ञान विषय लिएर पढ्न थालिन् । वि.सं. २०६३ सालमा उनले बुढानिलकण्ठबाटै डिस्टिङसनमा प्लस टु उतीर्ण गरिन् । लगातार दुई महत्वपूर्ण परीक्षामा डिस्टिङ्स उनको अब्बलताका उदाहरण हुन् ।

आमाबुवासँग डा. रश्मि

पढाइमा सानैदेखि तीक्ष्ण रश्मिले एमबीबीएसको इन्ट्रास दिइन् । उनको छात्रवृत्तिमै नाम निस्कियो । एमबीबीएस पढ्न वि.सं. २०६३ साल फागुनमा नेपालगन्ज मेडिकल कलेज गइन् । त्यहाँबाट वि.सं. २०६९ भदौंमा उनले एमबीबीएस उत्तीर्ण गरिन् । एमबीबीएस उत्तीर्ण गरेपछि सरकारसँगको करार सम्झौताअनुसार उनी सेवा गर्न बाग्लुङ गइन् । बाग्लुङको धौलागिरी अस्पतालमा करार सेवामा एक वर्ष बिताएपछि लोकसेवा खुल्यो । उनले वि.सं. २०७० साल पुसमा लोकसेवा दिइन् । लोकसेवामा उनको आठौं तहमा नाम निस्कियो ।

पहिलो ट्राइमै लोकसेवामा नाम निकालेकी उनी मेडिकल अधिकृतका रुपमा सरकारी सेवाका लागि बाग्लुङको कुश्मीशेरा प्राथमिक स्वास्थ्य चौकीमा पुगिन् । त्यहाँ बस्दा उनले हेल्थ क्याम्पका क्रममा पूरै बाग्लुङ घुम्ने अवसर पाइन् । ‘म त्यतिबेला पूरै बाग्लुङ घुमेर सेवा गरे,’ उनले सुनाइन्, ‘२ वर्ष बाग्लुङ बस्दा पूरै जिल्ला घुमेर बुझ्ने अवसर पाएँ ।’

वि.सं. २०७३ सालमा डा. रश्मि एमडीका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा इन्ट्रान्स दिइन् । उनको नाम छात्रवृत्तिमै निस्कियो । त्यसपछि उनी आईओएम एमडी अध्ययन गर्न थालिन् । वि.सं. २०७६ सालको जेठमा उनले छालारोगमा एमडी सकिन् । त्यसपछि उनले वि.सं. २०७७ बैशाखदेखि साउनसम्म चार महिना भरतपुर अस्पतालमा बिताइन् ।

त्यही क्रममा ११ औं तहको लोकसेवा खुल्यो । वि.सं. २०७७ भदौं उनले नेपाल सरकारको ११ औं तहमा नाम निकालिन् । त्यसपछि उनको पोष्टिङ न्याम्स, वीर अस्पतालमा भयो । अहिले उनी ११ औं तहको छालारोग विशेषज्ञका रुपमा वीरमा कार्यरत छन् ।

सधैं छात्रवृत्ति पाउन के गर्नुपर्छ ? हेल्थआवाजको प्रश्नमा उनले भनिन्, ‘यसमा मुख्यतयाः बुवाआमाको हेरविचार नै हो । शिक्षक-शिक्षिकाको प्रेम र आफ्नो मेहनत अर्को कारण हो ।’

लोकसेवाको परीक्षालाई एकदमै कठिन मानिन्छ । तर, डा. रश्मिले आफू सहभागी दुवै लोकसेवाका परीक्षामा पहिलो प्रयासमै उत्तीर्ण गरिन् । ‘लोकसेवा पास गर्ने मुख्य फर्मुला त पढाइ नै हो,’ उनले सुनाइन्, ‘त्यसमा पढाउने शिक्षक—शिक्षिका र आफ्नो मेहनेत मुख्य हुन्छ ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #डा. रश्मि शर्मा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ