२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपफार्मेसी चेन विस्तार गर्दै सुशान्त, ९ वर्षमै वार्षिक १ अर्ब टर्न ओभर

फार्मेसी चेन विस्तार गर्दै सुशान्त, ९ वर्षमै वार्षिक १ अर्ब टर्न ओभर

९ वर्षअघि १ करोड लगानीमा सुरू भएको शारदा मेडिकेयर ट्रेडर्समा २ सय जना जागिर गर्छन्


नेपालगन्ज—हजुरबुवा बनारसीलाल मुरारका जनकपुरका कहलिएका व्यापारी । बनारसीलालले सुरु गरेको पुर्खौली व्यवसाय गार्मेन्ट, खाद्यान, इट्टा उद्योगलाई उनका छोराहरुले निरन्तरता दिइरहेका थिए । व्यापार व्यवसाय राम्रैसँग चलिरहेको थियो । तर, त्यही व्यवसायिक घरानाका नाति भने फरक व्यवसायमा होमिए । बनारसीलालको व्यापारिक संसारका तेस्रो पुस्ता हुन्–३८ वर्षीय सुशान्त मुरारका ।

हजुरबुवाले कोरेको व्यवसायिक बागडोरमा इट्टा थप्ने क्रममा उनले सन् २०१२ मा सुरु गरे—शारदा मेडिकेयर ट्रेडर्स प्रालि । करिब १ करोड लगानीमा सुरु भएको यो कम्पनीले औषधीको कारोबार गर्न थाल्यो । सुशान्तले भारतका विभिन्न कम्पनीका औषधीहरु र फुड सप्लिमेन्ट उत्पादनहरु नेपालमा आयात गर्दै आएका छन् ।

दिल्लीको श्रीराम कलेज अफ कमर्सबाट बीकम र काठमाडौं विश्व विद्यालयबाट एमए गरेका सुशान्तले सुरु गरेको व्यवसायले ९ वर्षमै छलाङ मारेको छ । सुशान्तले संचालन गरेको व्यवसायको वार्षिक टर्न ओभर करिब १ अर्ब पुगेको छ । सुशान्तको शारदा मेडिकेयर ट्रेडर्स प्रालिलगायत विभिन्न कम्पनीमा करिब दुई सय जना कार्यरत छन् ।

‘औषधी कारोबारमा अनुभव थिएन । भारतबाट नगदमा औषधी किनेर उधारोमा बिक्री गरे,’ उनले सुरुवाती दिनहरु स्मरण गरे, ‘तैपनि धेरै औषधीहरु बिक्री नभएर एक्सपाएर भयो । वर्षभर मेहनत गर्दा पनि नाफा कमाउन हम्मे–हम्मे प¥यो ।’ भनिन्छ, हिम्मतिलाहरुको जित एक दिन अवश्यक हुन्छ । सुशान्तको हकमा पनि त्यही भयो । तीन वर्षको निरन्तर अथक प्रयासपछि उनको कम्पनीले नाफा कमाउन सुरु ग¥यो । सन् २०१५ देखि भने उनलाई पछाडि फर्केर हेर्नु परेको छैन ।

सुशान्तको काठमाडौंमा करर्पोरेट अफिस छ । ७७ वटै जिल्लाहरुमा उनको कारोबार छ । नेपाल स्कीन अस्पतालसहित काठमाडौंका ४ वटा र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा गरेर ६ वटा अस्पतालहरुमा उनले फार्मेसी चलाइरहेका छन् ।

विदेशबाट गुणस्तरीय औषधी आयात गरिरहेका सुशान्तको आगामी योजना भने देशैभर फार्मेसी चेन चलाउने छ । ‘फार्मेसी चेनले कम्पनीको कारोबार दिगो हुन्छ,’ उनले भने, ‘उपभोक्ताहरुले पनि सहज रुपमा सुपथ मुल्यमा गुणस्तरीय औषधी पाउन सक्छन् ।’ सुशान्त निकट भविष्यमै देशका २० वटा ठाउँमा फार्मेसीको शाखा विस्तार गर्ने योजनामा छन् ।

युवा विजनेशम्यान सुशान्त विजनेशमा दिनरात खटिरहेका छन् । ‘विजनेशमा नयाँ नयाँ टे«न्ड आएका छन् । नयाँ पुस्ताले नयाँ काम गर्न रुचाउँछन्,’ उनी फेरिँदो व्यवसायिक कल्चरबारे भन्छन्, ‘म त झन् एकै ठाउँमा बसेर काम गर्न नसक्ने भएकाले दौडधुपमै हुन्छु ।’ पछिल्ला दिनहरुमा उनको धेरैजसो दौडधुप काठमाडौं, नेपालगन्ज, लखनउ र नयाँदिल्लीमा भइरहेको हुन्छ ।

औषधीको ट्रेड विजनेशमा जमेका सुशान्तलाई उनकी जीवनसंगीनीले साथ दिइरहेकी छन् । काठमाडौंमा रहेर उनले विजनेश हेरिरहेकी छन् । ट्रेड विजनेश गरिरहेका उनी उत्पादनमा कहिले लाग्छन् त ? त्यसका लागि योजना नबनाएका पनि होइनन् । उनले जग्गा समेत खरिद गरेर उत्पादनमा हात हाल्ने कि भनेर सोचिसकेका छन् । औषधी उत्पादन निकै संवेदनशील काम हो । सानो गल्तीले पनि लाखौको जीवन बर्बाद हुन सक्छ । ‘औषधीको उत्पादन सुरु गर्नुभन्दा पनि गुणस्तरीय उत्पादन हाम्रो लक्ष्य हो,’ उनी आफ्नो लक्ष्यबारे मुख खोल्छन्, ‘हामी अहिले अध्ययन—अनुसन्धान मै केन्द्रित छौं । निकट भविष्यमै निष्कर्षमा पुग्छौं ।’


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #फार्मेसी, #शारदा मेडिकेयर ट्रेडर्स प्रालि, #सुशान्त मुरारका


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ