२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपअमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूको ‘क्याम्स’ क्लिनिक नयाँ बानेश्वरमा

अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूको ‘क्याम्स’ क्लिनिक नयाँ बानेश्वरमा

अमेरिकी शैलीमा त्यहाँ सिकेको सीप र ज्ञान नेपाली बिरामीको उपचारमा खर्चिने योजना


कोभिड—१९ को विश्वव्यापी महामारीमा विश्व शक्ति केन्द्र अमेरिका नै थिलोथिलो भयो । नेपालबाट अमेरिका गएर डिग्री हासिल गरेर सेटल भइसकेका विशेषज्ञ चिकित्सकहरुले त्यो ‘हेल्थ डिजास्टर’ आँखै अगाडि देखें । जहाँ पुगे पनि मन त नेपाली न हो । त्यही बेला त्यहाँ काम गरिरहेका नेपाली चिकित्सकलाई नेपालमा के भइरहेको होला भन्ने चिन्ताले सत्तायो । उसो त व्यक्तिगत तवरमै सही पहिलेदेखि नै केही चिकित्सकहरुलाई आमाबुवा, देश र परिवारसँग कतिन्जेल टाढा रहेर काम गर्ने भन्ने कुराले पनि नेपाल फर्कने वातावरण बनाइरहेको थियो ।

महामारीपछि त्यसले नेपाल फर्कने सोच झन बलियो बनायो । त्यही मेसोमा १० वर्ष अमेरिका बसेका संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी र ३ वर्ष अमेरिका बसेका मलिक्युलर माइक्रोबायोलोजिष्ट डा. गुणराज ढुंगाना नेपाल फर्किएका थिए । नेपाल फर्केका बेला झण्डै डेढ वर्षअघि डा. अधिकारी र डा. ढुंगानाको काठमाडौंमै भेट भयो । नेपालको स्वास्थ्य सिष्टममा कसरी टेवा पुर्‍याउने भन्नेमा दुवैजना घोत्लिए । लोकसेवा, तहजस्ता कारण सरकारी सिष्टमबाट काम गर्न नसकिने देखेपछि उनीहरुले प्राइभेट तहमै अमेरिकामा सिकेको सीप नेपालीहरुको स्वास्थ्य उपचारमा खर्चिने योजना बनाउन थाले ।

क्लिनिकका प्रबन्ध निर्देशक डा. गुणराज ढुंगाना

त्यही बेला उनीहरुको भेट अमेरिकाबाटै फर्केका वरिष्ठ संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइरालासँग भयो । २५ वर्ष अमेरिका बसेर प्रतिष्ठित साउथर्न इलिनोइस युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक भएर स्वदेश फर्किएका डा. कोइराला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिरहेका थिए । डा. अधिकारी र डा. ढुंगानाको मनमा अकुराउँदैं गरेको योजनामा डा. कोइराला श्रीमती बाल रोग विशेषज्ञ डा. संगीता बस्नेत कोइराला पनि जोडिइन् ।

त्यसमा केही दिनमै उच्चस्तरको अमेरिकन सुपरस्पेसियालिटी डिग्री हासिल गरेका मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश थपलिया जोडिए । अमेरिका रिटर्न पाँच जना चिकित्सकहरुको टिम बनेपछि वि.सं. २०६९ बैशाखमा लाजिम्पाटमा क्लिनिक खुल्यो । नाम राखियो—‘सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिष्ट (क्याम्स)’ । क्लिनिकमा काम गर्ने सबै अमेरिकामै ट्रेन भएका चिकित्सकहरुको टिम भएकाले ‘सेन्टर फर अमेकिरन मेडिकल स्पेशलिष्ट’ राखिएको क्लिनिकका प्रबन्ध निर्देशक डा. गुणराज ढुंगाना बताउँछन् ।

लाजिम्पाटमा क्याम्स संचालनमा आएपछि अमेरिकाबाटै फर्किएकी नर्सिङ प्रयाक्टिसनर डा. पुनम केसी पनि नर्सिङ निर्देशकका रुपमा टिममा जोडिएकी छन् । अमेरिकाबाटै फर्किएका कोलोरेक्टल सर्जन डा. सत्यदीप भट्टाचार्यलगायतका अन्य चिकित्सकहरु पनि जोडिएका छन् । अहिले क्याम्समा अमेरिकामा डिग्री हासिल गरेर काम गरिरहेका अन्य चिकित्सकहरु पनि जोडिदैंं गएका छन् । ‘विजनेशम्यानभन्दा पनि चिकित्सकहरु नै मिलेर थोर—थोरै लगानी गरेर क्याम्स सुरु गरेका छौं,’ डा. ढुंगाना भन्छन्, ‘स्वदेशमै अमेरिकी स्ट्याण्डर्डको स्वास्थ्य उपचार दिने र अमेरिकामा फर्केका साथीहरुलाई स्पेश दिने हिसाबले हामी यो क्लिनिक खोलेका हौं ।’

केही समय लाजिम्पाटबाट सेवा दिएपछि अमेरिकी सर्टिफाइड विशेषज्ञहरुको यो क्लिनिक गत बैशाखदेखि नयाँबानेश्वर सरेको छ । नयाँ बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि नयाँ बनेको पाँच तले भवनको चार तलामा क्लिनिक अत्याधुनिक सेटअपमा तयार भएको छ । झण्डै ६ करोड हाराहारी लगानी हुने यो क्लिनिक भोलि (शनिबार)देखि औपचारिक रुपमा शुभारम्भ हुँदैंछ ।

क्याम्सले अहिले संक्रामक रोग, हेमाटो अंकोलोजी, ट्रपिकल मेडिसिन एण्ड ट्राभल मेडिसिन, कार्डियोलोजी, जनरल एण्ड कोलोरेक्टल सर्जरी, न्यूरोलोजी, युरोलोजी, पेडियाट्रिक्स, गाइनोकोलोजी, इन्डोक्राइनोलोजी, अर्थोपेडिक्सलगायतका विशेषज्ञ सेवा दिनेछ । यसैगरी, एडभान्स मलिक्युलर ल्याबरोटोरी, प्रयोगशाला, एक्सरे, फार्मेसी, रेडियोलोजी, अल्ट्रासाउण्ड सेवाहरु क्लिनिकमा उपलब्ध छन् । डा. प्रकाश फर्किसकेपछि केमोथेरापी पनि सुरु गर्ने योजना छ । डा. ढुंगानाकाअनुसार अहिले नेपालमा क्यान्सरका बिरामीहरु एउटा डाक्टरले एउटा भन्ने, अर्कोले अर्को भन्ने भएकाले थर्ड ओपनियनका लागि भारत जानुपर्ने अवस्था छ । त्यही कारण अहिले डा. प्रकाशले थर्ड ओपनियनका लागि टेली कन्सल्टेसनमार्फत सेवा दिइरहेका छन् ।

यसबाहेक क्याम्सले बिरामीलाई कम्तिमा आधा घण्टा बिरामीलाई समय दिने अमेरिकी उपचार शैलीको प्रोटोकल बनाएको छ । ‘पहिलो बिरामीलाई हामीले प्रोटोकल नै एक जना बिरामीलाई कम्तिमा आधा घण्टा समय दिने बनाएका छौं । कसैको एक घण्टा पनि जान सक्छ,’ डा. ढुंगाना भन्छन्, ‘एपोइन्टमेन्ट सिष्टमबाट मात्र हामीले बिरामीलाई कन्सल्टेसन सर्विस दिइरहेका छौं ।’

क्याम्स क्लिनिकका चिकित्सकहरु आवश्यक इन्भेष्टीगेसनको सल्लाहमात्रै बिरामीलाई दिने पनि उनले बताए । ‘बिरामीलाई कति कुराहरु त काउन्सिलिङले नै ठीक हुने हुन्छन्, त्यही कारण हामी काउन्सिलिङलाई बढी जोड दिनेछौं,’ उनले सुनाए, ‘बिरामीको हिस्ट्री, मेडिकेसन, परिवारिक पृष्ठभूमी, जेनेटिक्सलगायतका कुराहरु डिटेल हेर्नुपर्छ ।’ क्याम्सले मेडिकल इलेक्ट्रोनिक्स रेकर्ड सिष्टममा बिरामीको हिस्ट्रीहरु राख्ने भएकाले बिरामीहरुले फाइल बोक्नुपर्ने झन्झट हुने छैन, एटीएम कार्डजस्तै ‘हेल्थ कार्ड’मात्रै बोके पुग्नेछ । बिरामीहरुको सहजताका लागि क्लिनिकले ‘वान टु वान’ नर्सिङ केयर उपलब्ध गराउनेछ । ‘बिरामी आएदेखि एक्जीट हुँदासम्म हाई लेभलको केयर गर्ने मेकानिजम हामी विकास गर्दैछौं,’ प्रबन्ध निर्देशक ढुंगानाले थपे ।

क्याम्सको प्रयोगशालामा संक्रामक रोगमा नेपालमा नहुने परीक्षणहरु पनि गरिने उनले बताए । ‘संक्रामक रोगहरुमा अहिले पनि कति परीक्षणहरु बाहिर जान्छन्,’ उनी भन्छन्, ‘त्यसलाई हामीले सिकेको टेक्नोलोजीबाट स्वदेशमै गरौं भनेर सोचाइ राखेका छौं । मलिक्युलर डाइग्नोसिस सुरु भइसकेको छ र सबै किसिमका पिसिआरका लागि सुविधासम्पन्न बी ग्रेडको प्रयोगशालाका लागि काम गरिरहेका छौं ।’ त्यसका लागि क्याम्समा प्रयोगशाला बन्दैंछ भने आवश्यक मेसिनहरु पनि आउने क्रममा छन् । केही परीक्षण अहिलेका मेसिनहरुमा डिटेक्सन नहुने भएकाले ‘नेक्स्ट जेनेरेशन सिक्वेन्सिङ टेक्नोलोजी’ भित्र्याउने तयारी आफूहरुको रहेको उनले जानकारी दिए ।

क्याम्समा युएस रिटर्न डाक्टरहरुसँगै नेपालमै रहेका चिकित्सकहरुलाई ‘क्याम्स एशोसिएट’का रुपमा आवद्ध गरिनेछ । हाल क्याम्समा नेपालमै विशेषज्ञता हासिल गरेर प्रायक्टिस गरिरहेका चिकित्सकहरु पनि जोडिएका छन् । अहिले १८ जना विशेषज्ञ चिकित्सकसहित क्याम्सको ३० जनाको टिम बनेको छ । यो टिम क्याम्स पूर्णरुपमा संचालनमा आउँदा ५० जनाभन्दा बढी हुने प्रबन्ध निर्देशक डा. ढुंगाना बताउँछन् ।

क्याम्स क्लिनिकमा ओपीडी सेवामा मात्रै उपलब्ध हुने भएकाले सिरियस बिरामीको भने भर्ना लिइने छैन । इमर्जेन्सीबाहेक तत्काल उपचार गर्नुपर्ने केसका लागि क्लिनिकले ‘वाल्क इन क्लिनिक’ सेवा दिनेछ । ‘अमेरिकातिर अर्जेन्ट केयर क्लिनिक हुन्छ, त्यसमा एपोइन्टमेन्ट लिनुपर्दैन्,’ उनले भने, ‘त्यो क्लिनिकलाई वाक इन क्लिनिक भनेर हामीले सुरु गरेका छौं । त्यसमा विशेषज्ञ फिजिसियन, एमडिजीपी चिकित्सकले सेवा दिनेछन् ।’

त्यसबाहेक, क्याम्सले प्रिभेन्टीभ केयरलाई उच्च प्राथमिकतामा राखेर काम गर्नेछ । त्यसका लागि खानपान, रहसन, वर्क कल्चर, उमेर, लिंग, जेनेटिकलगायतका कुरालाई हेरेर प्रिभेन्टीभ प्याकेज बनाउने डा. ढुंगानाले जानकारी दिए । ‘यसका लागि बाहिरतिर स्थापित प्रोटोकलहरु छन्,’ उनले भने, ‘हामी त्यहीअनुसार प्याकेज बनाएर प्रिभेन्टीभ केयरमा जोड दिन्छौं ।’ त्यसबाहेक भ्याक्सिनेसन, इम्युनाइजेसन, स्वास्थ्य सचेतना कार्यक्रम र अनुसन्धानका कामहरु अगाडि बढाइने उनले जानकारी दिए ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #क्याम्स, #डा. प्रकाश थपलिया, #डा. प्रभात अधिकारी, #प्रा.डा. जनक कोइराला, #माइक्रोबायोलोजिष्ट डा. गुणराज ढुंगाना, #मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट, #संक्रामक रोग विशेषज्ञ, #सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिष्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ