२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपयुवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’

युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’

सर्वसुलभ मुल्यमा नयाँ उपकरण र प्रविधीमा आधारित विश्वस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य


डा. इशा पौडेल कोइराला युवापुस्ताकी अब्बल कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट हुन् । एस्थेटिकमा बढी रुचि भएकी उनले काठमाडौं मेडिकल कलेजबाट सन् २०१० मा एमबीबीएस गरेकी हुन् । सन् २०१२ मा उनी डर्माटोलोजीमा विशेषज्ञता हासिल गर्न फिलिपिन्स गइन् । तीन वर्षको रेजिडेन्सी सकेपछि सौन्दर्य स्वास्थ्य (एस्थेटिक) सम्बन्धी थप तालिमका लागि थाइल्याण्ड गइन् ।

थाइल्याण्डको बैंककबाट तालिम लिएर स्वदेश फर्किइन् । त्यसपछि डा. इशा ‘काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी’मा आवद्ध भएर बिरामी सेवामा तल्लीन रहिन् । काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा ७ वर्ष काम गरेपछि ३७ वर्षीया यी युवा डर्माटोलोजिष्टलाई फरक र नौलो गर्ने हुटहुटी सुरु भयो ।

‘मलाई आफूले नै केही गर्नुपर्छ भन्ने महसुस भयो,’ उनले सुनाइन्, ‘अन्य ठाउँमा सेवा विस्तार, उपकरण, उपचार शैली आफूले चाहेअनुसार स्वतन्त्र रुपमा काम गर्न पाइदैंन् । त्यही कारण आफ्नै अत्याधुनिक सेन्टर बनाउने योजना बनाए ।’ त्यसका लागि ६ महिनाअघि उनले आफ्नै व्यवस्थित र सुविधासम्पन्न क्लिनिक स्थापना गर्ने तयारी सुरु गरिन् ।

सेन्टरका लागि प्राइम र घरपायक लोकेसनको खोजीमा लागिन् । त्यही क्रममा शंखमुल ओरालोमा नयाँ बनेको बीएण्डएस भवनमा ठाउँ लिइन् । असारबाट नयाँ सेन्टर सेटअपको काम अगाडि बढ्यो । ‘भदौं अन्तिम सातातिर सेटअपको काम सकियो,’ उनले भनिन् ।

स्कीन एण्ड हेयर क्लिनिकको नाम राखिन्—‘एस्थेटिक औरा’ । नाम कसरी जु¥यो ? ‘मैले निकै समय लगाएर नाम जुराएकी हुँ,’ डा. इशा भन्छिन्, ‘डर्माटोलोजीमा रेजिडेन्सी गर्दादेखि नै मलाई एस्थेटिकमा एकदमै रुचि थियो । क्लिनकिको नाम पनि धेरै रिसर्च गरेपछि त्यही रुचिअनुसार नै राखे ।’

फिलिपिन्समा रेजिडेन्सी गर्दा नै आफूलाई एस्थेटिकमा केही नवीन कुरा नेपालमा भित्र्याउन मन लागेको उनले सुनाइन् । ‘ती नवीन कुराहरु आफ्नो सेन्टरमा मात्रै सम्भव हुन्छ,’ उनले भनिन्, ‘त्यही कारण पनि म आफ्नै सेन्टर स्थापना गर्न हौसिएकी हुँ ।’ सेन्टरको सेटअप सकिएलगतै डा. इशाले शंखमुल ओरालोमा आईकालुसँगै रहेको भवनमा नयाँ स्थापित सेन्टर ‘एस्थेटिक औरा’बाट सेवा दिन पनि सुरु गरिसकेकी छन् ।

वर्कलाइफ र फ्यामिली लाइफलाई सन्तुलित रुपमा अगाडि लैजान रुचाउने डा. इशाले दुई जना सन्तान पनि हुर्काइरहेकी छन् । त्यसैमा उनको नयाँ सन्तानका रुपमा ‘एस्थेटिक औरा’ थपिएको छ । तीन वटैलाई सन्तुलित ढंगबाट अगाडि लैजाने सोच उनले बनाएकी छन् । ‘एस्थेटिक औरा’मा दुई जना विशेषज्ञसहित ७ जना कर्मचारी छन् ।

‘डर्माटोलोजीका धेरै ब्रान्चहरु छन्, त्यसमा कति धेरै कुराहरु छन् । कति कुराहरु ल्याउन सजिलो छैन । कतिपय कुरा हस्पिटल सेटअपमै गर्नुपर्ने हुन्छ,’ डा. इशा भन्छिन्, ‘तर, सके जति गुणस्तरीय सेवा हामीले यो सेन्टरबाट प्रवाह गर्नेछौं ।’ एस्थेटिकमा गुणस्तरीय सेवा प्रवाहसँगै बजारमा आएका नयाँ प्रविधी र उपकरणमा ल्याएर क्लिनिकले सेवा दिइरहेको छ । त्यसबाहेक नयाँ—नयाँ एक्सपोजर लिएका जनशक्तिबाट उपचार दिने योजना रहेको उनले बताइन् । ‘विश्वबजारमा आएको नयाँ प्रविधी र विदेशकैस्तरमा सेवा दिने योजना छ,’ डा. इशाले भनिन् ।

सेन्टरले अहिले चाउरी हटाउने, स्कीन टाइट गर्ने, थ्रेड लिफ्टिङ, फिलर, लेजर टाटु रिमुभल, स्कार रिमुभल सर्जरी, बोटक्स, हाइड्रा फेसियल, दाग हटाउने, रौंहरु हटाउने, कोठी र चोटपटकबाट बनेका दागहरु हटाउने, पीआरपी माइक्रोनिडलिङ, कपाल प्रत्यारोपणलगायतका दर्जन बढी सेवाहरु दिइरहेको छ । ‘त्यसबाहेक स्कीनलाई राम्रो, सफा र मुलायम बनाउन आवश्यक सबै उपचार हामी कहाँ छन्,’ डा. इशाले भनिन् ।

दक्ष जनशक्ति, अत्याधुनिक प्रविधीबाट सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यका साथ ‘एस्थेटिक औरा’ संचालनमा ल्याएकी डा. इशा केही नौलो गर्ने योजनाका अगाडि बढिरहेकी छन् । ‘यसले जागिरको कन्फर्ट जोनबाट बाहिर मात्रै ल्याएको छैन्,’ उनले भनिन्, ‘रोजगारीका अवसर पनि सिर्जना भएका छन् । नयाँ इम्पोलोमेन्ट, नयाँ सर्विस दिन पाउँछु ।’ डा. इशाको ‘एस्थेटिक औरा’का शाखाहरु भविष्यमा अन्यत्र पनि विस्तार गर्ने योजना छ । ‘इमान्दारिताका साथ सहज र सर्वसुभल रुपमा गुणस्तरीय सेवा दिने मेरो उद्देश्य छ,’ उनले भनिन् । चायाँ, पोतो, दाद, डन्डीफोर, कपाल झर्नेलगायतका समस्या नेपालीहरुमा बढी देखिने गरेको उनको अनुभव छ ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #एस्थेटिक, #एस्थेटिक औरा, #कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट, #डा. इशा पौडेल कोइराला


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ