२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित

स्वास्थ्य मन्त्रालयले काजका डाक्टर चलाउँदा प्रदेश अस्पतालको सेवा प्रभावित

सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी, ओ.पी.डी, सिटीस्क्यानदेखि शल्यक्रियासम्मका अत्यावश्यक सेवामा असर


धनगढी—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा दरबन्दी भएर कामकाजमा सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुलाई फिर्ता बोलाएको छ । विशेषज्ञ चिकित्सकहरुलाई अन्यत्र पठाउदा सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या आएको छ ।

कामकाजमा कार्यरत ४ जना विशेषज्ञ चिकित्सक र छात्रवृत्ति करारमा रहेका ४ जना विशेषज्ञ चिकित्सक गरी ८ जनालाई संघीय सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै सेतीमा सञ्चालित दैनिक स्वास्थ्य सेवामा प्रवाहमा समस्या परेको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले बताए ।

अस्पतालका अनुसार छात्रवृत्ति करारमा रहेका एमडिजीपी डा. गणेश फुलारा, प्याथोलोजिष्ट डा. वर्षा आचार्य, मुटुरोग विशेषज्ञ डा. विप्लव कार्की र स्त्री रोग विशेषज्ञ डा. श्रृष्टि जोशी छन् । त्यसैगरी, संघमा दरबन्दी भएर सेती प्रादेशिक अस्पतालमा काजमा रहेका वरिष्ठ रेडियोलोजिष्ट डा. होम पन्थ, प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. जगदीश बिष्ट, शल्यचिकित्सक डा. शंकर अधिकारी र अर्थोपेडिक सर्जन डा. मोहन नाथ रहेका छन् । उनीहरु सबैलाई मन्त्रालयले फिर्ता बोलाएको छ ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ ५ जना चिकित्सकमध्ये २ जना फिर्ता जाँदा सेवा प्रवाहमा समस्या भएको र बिरामीको संख्या पनि बढिरहेको सुचना अधिकारी उपाध्यायले बताए । ‘स्त्री तथा प्रसुति रोग विभागमा बिरामीको संख्या बढी हुन्छ । उक्त सेवा नै प्रभावित नै भएको छ,’ उनले भने, ‘अल्ट्रासाउण्ड सेवा चिकित्सकको ब्यवस्था नभएकाले बन्द नै हुने स्थितीमा छ ।’

साधारणतर्फ १ सय ६ जनाको दरबन्दी रहेकोमा ५१ जना स्थायी र १५ करारमा जम्मा ६६ मात्र कार्यरत छन् भने ४० जनाको दरबन्दी रिक्त छ । यस्तै, अस्पताल विकास समितिको ८६ जम्मा दरबन्दीमध्ये २९ स्थायी र २० जना करारका कर्मचारी गरी ४९ जना अस्पतालमा कार्यरत छन् भने दरबन्दी भएर पनि ३७ जना कर्मचारीको अभाव छ ।

४० वर्षदेखि ५० शैय्याको मात्र स्वीकृत दरबन्दी रहेकोमा हालसम्म थप दरबन्दी सिर्जना भएको छैन । अस्पताल विकास समितिले थप ७५ शैय्याबाट सेवा दिइरहेका छ । स्वीकृत दरबन्दीमा रहेको रिक्त रहेको पदमा पदपूर्ति गर्न आवश्यक पहलको लागि सामाजिक विकास मन्त्रालयमा लेखी पठाएको र करारमा विज्ञापन गर्दा समेत आवेदन नै नपर्ने समस्या रहेको सूचना अधिकारी उपाध्यायले बताए ।

१७ असारमा स्वास्थ्य मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै १ साउनदेखि लागु हुने गरी काजमा रहेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएका थिए । जसमा प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भएर समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिनसमेत निर्देशन दिइएको थियो ।

यसैगरी, प्रदेश र स्थानीय तहमा समायोजन भई सङ्घको विभिन्न निकायमा कामकाजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समायोजन भएको तत् तत् तहमा सात दिनभित्र काज फिर्ता गरी सो जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको थियो ।

मन्त्रालयको निर्णयपछि केही कर्मचारीहरू काजमा रहेको ठाउँबाट रमाना बुझी खटाइएको ठाउँमा गइसकेको छन् भने केही जाने तयारीमा छन् । दरबन्दीअनुसार कर्मचारी नभएको समयमा सेवा प्रवाह गरिरहेका काजका चिकित्सकहरुपनि फिर्ता जाँदा सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी, ओ.पी.डी, सिटीस्क्यानदेखि शल्यक्रियासम्मका अत्यावश्यक सेवाहरू समेत प्रभावित भइरहेका छन् ।

विशेषज्ञ चिकित्सक २२ जनाको दरबन्दी रहेकोमा यहाँ ७ स्थायी र १ करारका गरी ८ जनाको मात्रै पदपूर्ति भएको छ भने १४ जना चिकित्सक अस्पतालले पाउन सकेको छैन । यस्तै, मेडिकल अधिकृततर्फ पनि ७ जनाको दरबन्दी रहेकोमा १ जना मात्रै कार्यरत छन् भने बाँकी ६ जनाको दरबन्दी रिक्त छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ