२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिलाको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

महिलाको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


कैलाली-धनगढी उप महानगरपालिका वडा नम्बर १९ फूलवारीमा महिलाहरुको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुरक्षित मातृत्व सञ्जाल कैलालीको आयोजनामा आइतबार फूलवारी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो ।

उप–महानगरपालिकाको सहकार्यमा भएको शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग, एचआईभी परीक्षणसहित औषधि वितरण गरिएको थियो ।

उक्त शिविरमा सेती प्रादेशिक अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेष डा. अन्जना अर्यालसहित ६ जना डाक्टरको टोलीले स्वास्थ्य जाँच गरेको थियो । शिविरमा ३ सय ५० जनाले सेवा लिएका स्वास्थ्य चेक जाँच गराएका थिए । स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर, यौन रोग, सेतो पानी बग्ने, पाठेघर खस्ने समस्या भएका बढी भेटिएको डा. अर्यालले जानकारी दिइन् । “जाँच गरेका धेरैको स्वास्थ्य सामान्य नै छ, पाठेघरमा घाउ भएको र क्यान्सर नै देखिएकोलाई थप उपचारका लागि ठूलो अस्पतालमा रिफर गरेका छौं, उनले भनिन् ।

कम उमेरमा विवाह गर्ने, खानपान तथा सरसफाइमा ध्यान नदिने, धेरै जनासँग यौनसम्बन्ध राख्ने, धेरै बच्चा जन्माउने र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघर क्यान्सरको जोखिम बढी हुने डा. अर्यालले बताइन् ।

शिविरको उद्घाटन नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले गरेकी थिइन् । नेतृ देउवाले कार्यक्रममा बोल्दै महिलाको स्वास्थ्य सुधार भएमात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुने बताइन् । उनले अझैपनि गाउँघरमा महिलाहरु प्रजनन् र यौन सम्बन्धिका समस्याहरु लुकाउने गरेको बताइन् । परिवारमा खुलेर नभन्ने, उपचारको लागि अपस्ताल नजानेजस्ता समस्या रहेको भन्दै आगामी दिनमा यस्ता कूप्रथाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।

महिलाहरुले पाठेघर र प्रजनन सम्बन्धि समस्याले दिनहुँ ज्यान गुमाइरहेको बताउँदै यस्ता समस्याहरु लुकाउन नहुने भन्दै परिवार र समाजमा खुलेर भन्न सक्नुपर्ने धारणा ब्यक्त गरिन् । महिलाहरुले आफूमा भएका समस्या भन्न लजाउने गरेकाले सचेतना जगाउने र घरदैलोमै विशेष डा. ल्याएर उपचार सेवा उपलब्ध गराउँदा स्थानीय महिलाहरुलाई जाँच गर्न सहज हुने भएकाले शिविर आयोजना गरिएको उनले बताइन् ।

स्वास्थ्य शिविर उद्घाटनमा उपमहानगरका मेयर नृप वडले महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न शिविरहरु सञ्चालन गर्दै आएको बताए । पालिकाले आँखा शिविर, सिकलसेल एनिमियाका शिविर, हाइड्रोशिल रोगको शिविरलगायतका स्वास्थ्य सम्बन्धी शिविरहरु सञ्चालन गरिसकेको बताए । आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क शिविरहरु सञ्चालन गरी सेवा दिदै आएको बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ