२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययसरी बन्यो गोदावरीमा क्षयरोग अनुसन्धान केन्द्र

यसरी बन्यो गोदावरीमा क्षयरोग अनुसन्धान केन्द्र


धनगढी–आजभन्दा ९ बर्ष अगाडी गोदावरी नगरपालिकाको वडा नम्बर ६ श्रीपुरमा धनगढी इन्टरनेशलन कलेज स्थपना गर्ने योजना सहित भवन निर्माण थालियो । मानव विकास संशाधन प्रतिष्ठान धनगढीले महायज्ञको आयोजना गर्दै कलेज स्थापना गर्न स्थानीयबाट एक करोड ८० लाख संकलन गरेको थियो।

तर त्यसपछि झन्झटिलो कानुनी प्रक्रियाका कारण कलेज स्थापना गर्न नसकिएपछि सोही भवनमा क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ। क्षयरोग अनुसन्धान केन्द्रमा बेल्जियमको दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग थियो भने मानव संशोधन विकास प्रतिष्ठानले भौतिक संरचना निर्माण गरेको हो।

क्षयरोग उपचार केन्द्र स्थापना भएसंगै यस क्षेत्रका विरामी उपचारका लागि सहज हुने भन्दै खुसी भएका छन्। श्रीपुरमा उपचार गराईरहेका एक जना विरामी भने, ‘विगतमा क्षयरोगको उपचार गर्न तथा औषधी सेवन गर्न निकै समस्या हुने गरेको थियो। श्रीपुरमा उपचार केन्द्र स्थापना भएसंगै आफुजस्तै अन्य विरामीहरुलाई पनि निकै सहज हुने विश्वास लिएको छु।’
१५ शैयाको उक्त उपचार केन्द्रमा सबै प्रकृतीको क्षयरोगको उपचार गरिने संञ्चालक समितिले जनाएको छ। एक्सरे, ल्याव लगायतका सेवाहरु प्रदान गर्ने उक्त उपचार केन्द्रमा प्रदेश वाहिरबाट पनि विरामीहरु आउन सक्ने क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्र श्रीपुरका डाक्टर प्रमोद भट्टराईले बताए।

‘अहिले सुदूरपश्चिम प्रदेशका ९ जना क्षयरोगका विरामी अस्पतामा भर्ना भएका छन्।’ उनले भने ‘प्रेषण तथा अनुसन्धान केन्द्र समेत भएका कारण क्षयरोग सम्बन्धि थप अध्ययन र उपचार गर्ने योजना छ।’ अहिले उक्त केन्द्रले विरामीको निदान, औषधी उपचार संगै अस्पतालमै वस्न चाहानेहरुका लागि उचित वासस्थानको समेत व्यवस्था गरेको उनले बताए।

प्रदेश सरकार मातहत रहने गरि स्थापना गरिएको उक्त उपचार केन्द्रमा सेवाहरु थप्दै जाने दावी गरिएको छ। मानव विकास संशाधन प्रतिष्ठानले गरेको अगुवाईमा उक्त भवन निर्माणको लागि केही आर्थिक संकलन भएपनि जग्गा अभावका कारण सुरुवातमा समस्या भएको थियो।

त्यसपछि लक्ष्मीनारायण मन्दिरले तीन विगाह जग्गा निःशुल्क सहयोग गरेपछि उक्त स्थानमा भवन निर्माण गरिएको मानव विकास संशाधन प्रतिष्ठानका महासचिव पदमराज जोशीले बताए। ‘मानव विकास संशाधन प्रतिष्ठानले संकलन गरेको एक करोड ८० लाख सहित बेल्जियमको दामियन फाउन्डेसनको तीन करोड सहयोगमा उक्त भवन निर्माण गरिएको हो,’ उनले भने, ‘अनुसन्धान केन्द्र समेत भएका कारण आगामी दिनमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजनालाई निरन्तरता दिदै आयुर्वेद लगायतका अन्य क्षेत्रमा समेत काम गरिने छ।’

लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र श्रीपुरमा उपचार गर्ने विरामीहरुलाई विभिन्न आत्मरोजगारका तालिमहरु समेत संञ्चालन गरिने भएको छ। क्षयरोगका विरामीहरुले २० महिना सम्म पनि निरन्तर उपचार गर्नु पर्ने भएका कारण उक्त समयमा विभिन्न तालिमहरु समेत संञ्चालन गरिने दावी संञ्चालक समितिको छ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ