२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ?

दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ?


डा. सुवास घिमिरे, मुख तथा अनुहार शल्यचिकित्सा सर्जन (एमडीएस)

दाँतमा देखिने रोगहरुको चर्चा गर्दा मुखको बारेमा कुरा गर्न पनि जरुरी हुन्छ । दाँत र मुखलाई अलग गर्न सकिंदैन् । दाँतमा धेरै प्रकारका रोग लाग्छन् । सबै रोगका पाटापक्ष बारेमा लेख्ने हो भने एउटा किताब नै बन्छ । तर, सामान्यतयाः अधिकांश मानिसमा दाँतमा किरा लाग्ने, गिजा सुनिने र रगत आउने समस्या बढी देखा पर्छ । विभिन्न कारणले दाँत र गिजामा रोग लाग्छ ।

त्यसमा एकथरि जन्मदैं आउने रोग हुन्छ, अर्को जन्मिसकेपछि लाग्छ । जन्मिसकेपछि आउने रोग भनेको शरीरका विभिन्न समस्याका कारण हुन्छ । जब दाँत निस्कन सुरु गर्छ, त्यतिबेला देखिने दाँतमा समस्या हुन सक्छ । जस्तो कुनै बच्चाको जन्मदै दाँत नै नभै ठूटा भएर निस्कन्छ भने कुनै बच्चाको जन्मदैं दाँत पलाएको हुन्छ । पछिल्लो समय क्यान्सरको समस्या पनि देखिइरहेको छ ।

यदि मानिसको दाँत हल्लने समस्या छ र केयर गरिएन भने त्यो क्यान्सर समेत भएको हुन सक्छ । त्यस्तै, मुख गन्हाउने समस्या छ भने पनि क्यान्सर हुन सक्छ । मुखबाट रगत आइरहन्छ भने त्यो गिजाको मात्र समस्या नभै अन्य जटिल समस्या पनि हुनसक्छ ।

दाँतलाई रोगहरुबाट कसरी बचाउन सकिन्छ ?
एउटा मान्छेको दाँत र गिजालाई स्वस्थ राख्नको लागि सबैभन्दा पहिले उसको जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । विहान चाँडै उठ्ने, नियमित व्यायाम गर्ने, सकारात्मक सोचाइ राख्ने, चिन्ता नलिने सबै कुराको महत्व छ । चिन्ता लियो भने पनि मान्छेको दाँतमा समस्या आउँछ, जस्तो कि रातमा दाँत घोटिने, दाँत किटिकिटि गर्ने । यसले गर्दा दाँत हल्लने, दाँत फुस्कने, दाँत कमजोर हुने हुन्छ ।

यस्तै, खानपिनले पनि दाँतको स्वास्थ्यमा ठूलो भुमिका खेल्छ । मुख शरीरको द्वार भएकाले सहि तरीकाले खाना खाइएन भने मुखका साथै पूरै शरीरमा समस्या आउँछ । त्यसैले सकेसम्म माछा मासु कम खाने र हरिया सागपात, फलफूलजस्ता रिफाइन नगरी खान सकिने बोटानिकाल प्रोडक्ट बढी खानुपर्छ । यसले नेचुरल क्लीन्जरको काम समेत गर्छ ।

यस्ता समस्याबाट बच्नको लागि चारवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कम्तिमा दुई पटक ब्रस गर्नुपर्छ । धेरैले कि बिहान मात्र कि खाना खाएपछि मात्र ब्रस गर्छन । राति सुत्नुअघि ब्रस ग¥यो भने हामीले खाएको खाना दाँतमा जम्मा हुन पाउँदैन् । र बिहान ब्रस गर्दा रातमा आफैं जम्मा हुने किटाणुले असर गर्न पाउँदैन् ।

अधिकांश मानिसले जिब्रो, गाला र दाँतको टोक्ने भाग मात्र सफा गर्छन् । तर दाँतको बीचको भाग धेरैले सफा गर्दैनन् । जिब्रो सफा गर्दा प्रेसर दिनुहुन्न । हल्कासँग गर्नुपर्छ । गिजा र वरीपरीका भागलाई विस्तारै मसाज गर्नुपर्छ । दाँतमा केही समस्या छ कि भनेर कम्तिमा हप्ता दिन वा १५ दिनमा आफूले आफूलाई चेक गर्नुपर्छ । यसका साथै नियमित रुपमा ३ देखि ६ महिनाका बीचमा डेन्टिस्टलाई भेट्नु राम्रो हुन्छ । दाँतको उपचार महँगो हुने भएकाले समयमै यसको उपचार गर्ने हो भने पैसा पनि बचत हुन्छ ।

कस्तो ब्रस प्रयोग गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । दाँत पलाएदेखि नझरेसम्म लामो समय दाँत माझ्दा ब्रसका कारण पनि दाँत बिग्रन सक्छ । कस्तो ब्रस प्रयोग गर्ने भन्ने विषयमा डेन्टिस्टको सल्लाह लिन सकिन्छ । अर्को दाँतको ब्रस गर्ने पनि तरिका हुन्छ । ब्रस गर्दा दाँतको भित्र र बाहिर दुवै पट्टीबाट तलमाथि र दायाँबायाँ गर्नुपर्छ । र, दाँतको टोक्ने भागका बीचमा पनि माझ्नुपर्छ ।

उपचार विधि के–के हुन्छन् ?
मैलेअघि नै भनिसकें दाँतको समस्या विभिन्न कारणले आउँछ । समस्या के हो भन्ने कुरामा उपचार विधि भर पर्छ । मनोवैज्ञानिक कारणले समस्या भएको हो भने एउटा कारणले मात्र बिसेक हुँदैन । शारीरिक व्यायामले यसमा सहयोग गर्न सक्छ । अर्को कुरा दाँतको उपचारका लागि ‘सपोर्टिभ ट्रिटमेन्ट’ पनि गर्न सकिन्छ ।

राति सुत्दाखेरि लगाउनुपर्ने, हेशियारी पु¥याउने विषयमा चिकित्सकसँग सल्लाह गर्न सकिन्छ । किरा लागेको छ भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । दाँतको बाहिरको भाग इनामेलमा समस्या आएको हो भने चिकित्सकलाई देखाएर करेक्सन गर्न सकिन्छ । होइन डेन्टिलको भागसम्म पुगिसकेको छ भने पनि यसैगरी उपचार गर्न सकिन्छ ।

तर, गिजासम्म पुगिसकेको छ भने निकै पीडादायक हुन्छ । गिजाको समस्याको उपचारका लागि सामान्यतया यसलाई राम्रोसँग सफा गर्नुपर्छ । खानाका साथै चुरोट, खैनी, रक्सी आदिको सेवन पनि बन्द गर्नुपर्छ ।

(यो सामाग्री चाबहिलस्थित ओम समाज डेन्टल अस्पतालका प्रमुख डा. घिमिरेसँगको कुराकानीका आधारमा तयार पारिएको हो । ।)


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ