२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सनियमित स्वास्थ्य परीक्षण ‘होलवडी चेकअप’ के हो? किन जरुरी छ ?

नियमित स्वास्थ्य परीक्षण ‘होलवडी चेकअप’ के हो? किन जरुरी छ ?


डा. ठाकुर देवकोटा
सिनियर कन्सल्ट्यान्ट फिजिसियन,
ॐ वेलनेश क्लिनिक,ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल काठमाडौं 

‘शरीरको पूर्ण स्वास्थ्य परीक्षण’ का लागि हाम्रा अस्पतालहरुले अहिले हेल्थ चेकअप प्याकेजहरु अफर गर्ने गरेका छन् । हरेक व्यक्ति स्वस्थ रहन स्वास्थ्य परिक्षण अपरिहार्य हुन्छ । विरामीलाई उपचार गर्नुभन्दा अघि स्वाथ्य अवस्था कस्तो रहेछ भनेर थाहा पाउन यस्ता स्वास्थ्य परीक्षण गर्ने गरिन्छ। हाम्रो समाजमा अझै पनि मानिसहरु बिरामी नभै स्वास्थ्य जाँच गर्दैनन् । तर, पछिल्लो समयमा जनमानसमा स्वास्थ्यप्रतिको सजगता र चेतना दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य परिक्षणको क्रम बढ्दो अवस्थामा छ ।

सहरमा समय–समयमा नियमित स्वास्थ्य परीक्षण गराउने चलन बिस्तारै सुरु हुन थालेको छ। आम नागरिकको आवश्यकता बुझेर अस्पतालहरुले स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज उपलब्ध गराउन थालेका छन् । तिनै मध्येको प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात पूर्ण शारीरिक परीक्षण । होलबडी चेकजाँचबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के–के जाँच गरिन्छ, के–के कुरामा ध्यान दिनुपर्छ भन्ने चाहिँ जानकारी राखेको पाईँदैन।

के हो ‘होलबडी चेकअप’ ?

यस अन्तर्गत मानव शरीरको सम्पूर्ण स्वास्थ्य परिक्षण गरिन्छ । यस भित्र शारिरिक मात्र नभएर मानसिक सु-स्वास्थ्य पनि परिक्षण गरिन्छ । व्यक्तिले आफ्नो शरीरको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेकजाँच गर्नु⁄गराउनुनै होल बडी चेकअप हो। ‘होलबडी चेक’ गर्दा सामान्यतया सम्भावित रोग र रोग लाग्न नदिने उपायहरूका बारेमा पूर्व जानकारी गराउँछ। होलबडीमा मुख्यतः मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीलगायत शरीरको अंगको अवस्थाका बारेमा जानकारी दिने गरिन्छ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो र कलेजोको अवस्था पत्ता शारीरिक परीक्षणबाट जानकारी हुन्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर चिकित्सकहरूले सुझाव दिने गर्छन्। ती सुझावहरू अबलम्वन गर्न सकेमा लाखौँ खर्चेर निको नहुने रोगहरूबाट सजिलै बच्न सकिन्छ।

होलबडी चेकअपबाट भिडियो एक्सरे, मुत्रथैलीको अवस्था, इसिजी, अल्ट्रासाउण्ड, ईको, थाइराईड परीक्षण गरी शरीरका विभिन्न भागहरूको पूर्व जानकारी लिने गरिन्छ। अहिलेको सामान्य खर्चले, भोलिको सम्भावित लाखौं खर्च जोगाउन होलबडी चेकअपले अग्रणी भूमिका निर्वाह गर्छ।

होलवडी चेकअपलाई अस्पतालहरूमा प्याकेज शीर्षक राखी महिला, पुरुष, उमेर समूहलगायतका हकमा फरक–फरक शुल्क तोकिएको छ। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरू परीक्षण गर्नुपर्ने भएकाले शुल्क थोरै बढी पर्न जान्छ । प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरूलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरूमा प्रारम्भिक चरण र दोस्रो चरण गरी होलबडि प्याकेज तयार पारिएको हुन्छ।

के–के जाँच गरिन्छ ?

– विशेषतः आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ भनेर गरिने स्वास्थ्य परीक्षणलाई ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतयाः यसमा उमेर र लिङ्गअनुसार जाँच गरिन्छ।

मानसिक सुस्वास्थ्यको बिषयमा जीवनशैलीले प्रभाव गर्ने विषयहरुको बारेमा परामर्श गरिन्छ । यसमा स्वास्थ्य परीक्षणको भिन्नै किसिमको साधन प्रयोग गरी जाँच गरिन्छ ।

होलबडी चेकअप पुर्वको तयारी– कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमुना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्व तयारी आवश्यक छ।

•जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८–१० घन्टा सुत्नुपर्छ।
•जाँच गर्नुभन्दा अगाडि कम्तीमा तीन दिन साधारण खाना खानुपर्छ।
•धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड) रगतमा हुने बोसोको मात्रा) बढाउँछ।
•प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ। ब्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।
•विशेषगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८ देखि १० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ।
•कमसेकम २४ घन्टा अघिदेखि धुम्रपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ।
•भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।
•जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ।
•जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनावारी चलिरहेको बारे जानकारी गराउनुपर्छ। पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ