२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्समधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर

मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर


डा. इन्दुप्रसाद ढुगेंल
आँखा रोग विशेषज्ञ
नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर

हाम्रो शरीरको हरेक भाग एकअर्कासँग जोडिएका हुन्छन् । एकअर्कासँग जोडिएका कारण नै यो अस्तित्वमा रहन सकेको छ । यिनीहरु हाम्रो शरीरमा एक अर्काका परिपूरक बनेर बसेका हुन्छन् । त्यसैले शरीरको एउटा भागमा लागेको रोगले शरीरका अन्य भागहरुमा समेत प्रत्यक्ष प्रभाव पार्दछ ।

उच्च रक्तचाप र मधुमेह लागे लगत्तै ब्यक्तिको दृश्य दृष्टिमा समेत असर पुग्न जान्छ । आखिर किन यस्तो हुन्छ त? यी रोगहरु र आँखाबीचको सम्बन्ध के छ? यो अधिकांशको प्रश्न तथा जिज्ञासा हुन सक्छ ।

आँखा अस्पतालमा दैनिक विभिन्न किसिमका समस्याहरु लिएर बिरामी  आउने गर्दछन् । त्यसमध्ये १५ देखि २० प्रतिशतका बिरामीहरु मधुमेह र उच्च रक्तचापका कारण दृष्टि कमजोर हुFदै गएको गुनासो बोकेर आउने गरेका छन् । हिजोआज रक्तचाप र मधुमेहका बिरामी बढे लगत्तै आँखाका बिरामीहरु पनि बढ्न थालेका छन् ।

मधुमेहका कारण पर्ने असर

ब्यक्तिको शरीरमा चिनीको मात्रा बढी भएमा मधुमेह लाग्ने गर्दछ । मधुमेहले आँखा मात्र नभै शरीरको सम्पूर्ण भागमा प्रभाव पार्दछ । तर, विशेषगरी यसले आँखाको पछाडि भागको रेटिनामा बढी असर पार्दछ । आँखामा भएका ‘क्यापिलेरी’ पनि भनिने स–साना रक्तनलीकालाई असर गरी यसले ती रक्तनलीहरुलाई सुन्नाउने काम गर्दछ । जसबाट आँखामा रहेका ती रक्तनलीहरु ठूलो बन्न पुगी आँखामा रहेका पर्दाहरु पनि सुन्निने हुन्छ । त्यसबाट विस्तारै रगत बग्न थाली यसले आँखाको दृष्टिलाई कमजोर बनाउँछ । र, फलस्वरुप आँखा कम देख्न थाल्ने हुन्छ ।

मधुमेहका बिरामीले सुगरको लेभललाई कम गरेको खण्डमा यो पनि स्वतः कम हुँदै जाने हुन्छ । तर, यसको नियन्त्रण नगरेको खण्डमा भने यसबाट आँखाको उक्त रक्तनलीहरु सुन्निन पुगी फुटेर आँखाभित्र नै रक्त बाहव हुने गर्दछ । त्यसले आँखामा रहेको पर्दा पनि च्यातिन पुग्दछ । र, क्रमशः यसले विस्तृत रुप लिई आँखा नै नदेखिने पनि हुन सक्छ ।

उच्च रक्तचापका कारण

उच्च रक्तचापले मुख्यतयाः मष्तिक, मुटु, आँखा र मृगौलामा विशेष असर गर्दछ । आँखाको विषयमा भन्नुपर्दा, यसले पनि मधुमेहलेजस्तै आँखाको रक्तनलीलाई असर पार्दछ । यसको पनि असर स्तरअनुसार फरक फरक हुने हुन्छ । यसले भने आँखामा रहेको स–साना रक्तनलीमा असर पारी त्यसलाई खुम्चाउने काम गर्दछ ।

जसबाट आँखाको रक्तनलीहरु लिक हुन पुगी रगत जम्न थाल्छ । यसबाट आखाँको मुख्य नशा सुन्निन पुगी बिरामीको दृष्टि शक्ति कमजोर हुदै जाने हुन्छ । रक्तचापमा नियन्त्रण नगरिएको खण्डमा यसले पनि आँखाको दृश्य शक्तिलाई पुर्ण रुपमा असर पारी ब्यक्ति आँखा नदेख्नेसम्म पनि हुन सक्छ ।

उपचार तथा बच्ने उपाय

सर्वप्रथम त सुगर र रक्तचाप भएका ब्यक्तिहरुले समयमा नै आँखाको चेकजाँच गराउनु पर्दछ । अस्पतालमा यस्ता मधुमेह र रक्तचापका कारण आँखामा समस्या देखिएका ब्यक्तिहरुको अवस्था अनुसार, सुइ वा लेजरको माध्यमबाट उपचार गर्ने गरिन्छ ।

जसबाट आँखाको दृष्टिलाई बचाउन सकिन्छ । अन्यथा यसबाट पुर्ण रुपमा दृष्टि गुम्न सक्ने सम्भावना रहन्छ ।


प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ