काठमाडौं—बेलायती आइएनजिओ अक्सफोर्ड पोलिसी म्यानेजमेण्ट (ओपीएम) नेपालका कन्ट्री डाइरेक्टर डा. सुरेश तिवारी स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरी डा. तिवारीलाई बोर्डको सदस्यमा नियुक्त गरेका हुन् ।
स्वास्थ्य बिमा बोर्डले नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । डा. तिवारीलाई मन्त्री ढकालको उपस्थितीमा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले बुधबार सपथ गराएका छन् ।
डा. तिवारीसँगै स्वास्थ्य बिमा बोर्डको सदस्य चन्द्र थापा पनि नियुक्त भएका छन् । उनलाई पनि आजै शपथ गराइएको छ ।
डा. तिवारी आवद्ध ओपीएमले गरिब तथा विकासोन्मुख देशहरुको नीतिगत तहमा प्रत्यक्ष प्रभाव पारेर काम गर्ने गर्दछ । स्वास्थ्य मन्त्रालयमा नेपाल हेल्थ सेक्टर प्रोग्राम (एनएचएसपी)को सबैभन्दा ठूलो साभेदारका रुपमा ओपीएम रहेको छ ।
स्वास्थ्य सम्बन्धित जुनसुकै नीति निर्माण हुँदा यसको प्रत्यक्ष प्रभाव रहने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । डा. तिवारी पछिल्लो समय मन्त्री ढकालको किचन क्याबिनेटमा रहेर अदृश्य सल्लाहकारका रुपमा काम गर्दै आएका छन् ।