२०८२ चैत्र २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनुसन्धानको क्षेत्रमा भएको खर्च फजुल ठान्ने प्रवृति छ : मुख्यमन्त्री पाण्डे

अनुसन्धानको क्षेत्रमा भएको खर्च फजुल ठान्ने प्रवृति छ : मुख्यमन्त्री पाण्डे


काठमाडौं—बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनुसन्धानका क्षेत्रमा भएको खर्च फजुल खर्च ठान्ने भएको बताएका छन् । सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका छन् ।

विज्ञान प्रविधि, अध्ययन, अनुसन्धानका क्षेत्रमा पनि प्रदेश सरकारका क्षेत्रबाट पनि अगाडि बढिरहेको उनले बताए । ‘बागमती प्रदेशले नवप्रवद्र्धनका सवालमा एउटा नीति पास गरेको छ । त्यसका आधारमा ऐन बनाएर स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्छौ,’ उनले भने, ‘बागमती प्रदेश स्वास्थ्य अनुसन्धान क्षेत्रका परिषद्सँग सहकार्य गर्न तयार छ ।’

उद्घाटन समारोहका प्रमुख अतिथी रहेका मुख्यमन्त्री पाण्डे स्वास्थ्य शिक्षा सवालमा र स्वदेशमै स्वास्थ्य शिक्षा पाउनुपर्ने भन्ने सवालमा कन्जरभेटिभ भएको बताए । उनले सकेसम्म नेपाली विद्यार्थीहरु विदेशमा जाउन भन्नेमा रहेको उनको भनाइ थियो ।

उनले ०७४ सालदेखि नेपाल नयाँ संरचनामा गएकाले नयाँ परिस्थितीमा नयाँ स्वास्थ्य नीति तयार गर्नुपर्ने जोड दिए । ‘देश संघीयतामा गइसकेपछि ७५३ पालिकामध्ये धेरैले आफ्नै पालिका निर्माण गरेका छन्, कोभिडका बेला आइसोलेसन निर्माण गर्ने, स्वास्थ्य चेतना दिने, औषधि दिने काम गरेका छन्,’ उनले भने, ‘७—८ वर्षअघिसम्म केन्द्र सरकारका मात्रै अस्पताल थिए । अब अहिले त्यो अवस्था छैन । प्रदेश र स्थानीय तहका पनि अस्पताल छ ।’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य अनुसन्धान क्षेत्रमा परिषद्ले गरेको कामको प्रशंशा गरे । उनले विगतका तुलनामा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए । दिनदिनै बढिरहेका जनस्वास्थ्यका सवालहरुमा समाधानका लागि अनुसन्धान परिषद्ले गर्ने अनुसन्धानले टेवा पु¥याउने विश्वास उनको थियो ।

‘अनुसन्धानमा सीप र क्षमता अभिवृद्धि गर्दै आइरहेका छौं,’ राज्यमन्त्री खापुङले भने, ‘अझ यसलाई विस्तारै गर्दै लैजान आवश्यक छ ।’ त्यसका लागि आवश्यक सहयोग र समन्वय गर्न मन्त्रालय तयार रहेको उनले बताए । परिषद्ले तथ्यमा आधारित नीति निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको कुरा भुल्न नसकिने मन्त्री खापुङले बताए ।

बागमतीको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले समयमै नसर्ने रोगको पहिचानका गरेर उपचार अगाडि बढाउनका लागि अभियान चलाएको बताए । महामारी विरुद्ध लड्न र भविष्यको स्वास्थ्य सेवाका चुनौती सामना गर्न नवीन ज्ञानको आवश्यक पर्ने भएकाले त्यसका लागि अनुसन्धान जरुरी रहेको उनको भनाइ थियो । उनले स्वास्थ्य अनुसन्धानका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बजेटको व्यवस्था गर्ने पनि उल्लेख गरे । निकट भविष्यमै प्रादेशिक स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गर्ने पनि मन्त्री लामा जानकारी दिए ।

विशेष अतिथीका रुपमा रहेका नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले निरोगी नेपालको अभियान जारी रहेकाले त्यसका आधारभूत मापदण्ड आवश्यक रहेको बताए । स्वास्थ्य संरचना निर्माणका लागि सरकारले ठूलो लगानी गरेको बताउँदैं त्यसका लागि काम गर्नुपर्ने बताए ।

आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाका दिशामा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उनले जानकारी दिए । ‘केही मानिसका सनकले नीतिहरु गलत दिशामा गएको छ,’ उनले भने, ‘स्वास्थ्य शिक्षामा भएको नियोजनले नेपाली विद्यार्थीहरु पलायन भएको छन् । त्यसमा हामीले कति ध्यान दिइरहेका छौं ।’ जनसंख्या र स्वास्थ्यकर्मीको अनुपातमा नेपाली स्वास्थ्य क्षेत्र कहाँ भन्ने कुरा पनि छलफलको विषय बनाउनुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ