२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडो मौसममा गर्भवती महिलाले के कुरामा सावधानी अपनाउने ?

जाडो मौसममा गर्भवती महिलाले के कुरामा सावधानी अपनाउने ?


अहिले चिसो विस्तारै बढ्दैंछ । चिसो मौसममा गर्भवती महिलाले आफनो विशेष हेरचाह गर्नुपर्छ । किनभने यतिबेला महिलाहरु रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले जाडो मौसममा गर्भवती महिलाले आफ्नो स्वास्थ्यदेखि भोजनसम्ममा विशेष ख्याल गर्नुपर्छ ।

गर्भावस्था भनेको शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधि हो । यो अवधि २७० दिन अथवा ४० हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ । पेटमा बच्चा हुर्किइरहेको यो समय गर्भवतीका महिलाका लागि एकदमै संवेदनशील समय हो । त्यो बेलमा हर्मोनल परिवर्तहरु हुने भएकाले हुँदा छालामा परिवर्तनहरु देखा परिरहेका हुन्छन् । प्रतिरोधात्मक क्षमता पनि कम भइरहेको हुन्छ । त्यो कारणले अलि बढी ध्यान दिनुपर्ने हुन्छ । त्यसका साथै महिलालाई मात्र असर नभएर बच्चालाई समेत असर पर्ने हुनाले त्यो बेलालाई विशेष संवेदनशील भनिएको हो ।

यो समयमा अरु बेलाभन्दा पानीको मात्रा बढाउनुपर्छ । जाडो महिनामा प्रायजसो पानी त्यति पिउनु मन गर्दैनन् । तर, गर्भवती महिलाले यो बेला २ देखि ३ लिटर पानी पिउनुपर्ने हुन्छ । आमाको शरीरमा पानीको कम भयो भने बच्चाको शरीरमा पनि पानीको मात्रा कम हुन्छ । कहिलेकाहीँ त्यही कारण समय अगावै सुत्केरी हुन जान्छ र बच्चामा अरुमा समस्याहरु हुन जान्छन् । त्यसैले सकेसम्म गर्भावस्थामा अरु बेलाभन्दा पानीको मात्रा बढाउनुपर्छ ।

छालामा समस्या आउन नदिन के गर्ने ?

गर्भावस्थामा महिलाको छाला एकदमै सुख्खा हुने हुन्छ र छालामा समस्या आउने हुन्छ । अरुबेला भन्दा चिसो मौसममा मोइस्चराइजर पर्याप्त र राम्रोसँग लगाउनु पर्छ । यो बेला महिलाले आफ्नो छालालाई सुख्खा हुन नदिएर मुलायम बनाइराख्नु पर्छ । मोइस्चराइजरको प्रयोग गरियो भने गर्भावस्थामा शरीर चिलाउने समस्या कम हुन्छ र मार्क पनि हुन दिन्न । नुहाउँदा मनतातो पानीमा नुहाउनु पर्छ ।

गर्भावस्थामा बाहिर कसरी निस्कने ?

जाडो मौसममा चल्ने चिसो हावाले विभिन्न रोगहरु निम्त्याउन सक्छ । त्यसैले घरबाहिर निस्कनुअघि गर्भवती महिलाले राम्ररी लुगा लगाएर आफनो शरीर ढाक्नु पर्छ । खुकुलो लुगा लगाउनु पर्छ । धेरै भिडमा जानु परे माक्स लगाएर जानुपर्छ ।

जाडो मौसममा खुट्टाहरूमा चिसो लागेर नसाहरू सुन्निने समस्या भैरहेको हुन्छ । त्यसैले सकेसम्म मोजा लगाएर खुट्टालाई तातो बनाइराख्नु पर्छ । त्यसका साथै बाहिर निस्कँदा मौसम हेरेर घर बाहिर निस्कनु पर्छ ।

के खाने, के नखाने ?

चिसो मौसममा चिया कफी प्रायः सबैले धेरै मात्रामा खाने गर्छन् । तर, गर्भवती महिलाले चिया कफी खानु हुन्न । कफी खायौं भने पिसाब धेरै गराउँछ र पिसाबसँगै पानी पनि जाने भएकोले लिक्वीडलाई कम गराउँछ । सुरुको तीन महिना त गर्भवती महिलालाई कफी सकेसम्म दिनु नै हुँदैन् । यदि खानै परे सानो कपको आधा कप मात्रै खानु पर्छ ।

यस्तो बेला महिलाले प्रोटिनयुक्त भोजन खानुपर्छ । फलपूmल र साग तरकारी धेरै खाने गर्नुपर्छ । अमला, कागती हालेको पानी खानुपर्छ ।

फ्लू भए के गर्ने ?

फ्लूबाट बच्नका लागि फ्लू भ्याक्सिनहरु दिने गरिन्छ, त्यो लिनुपर्छ । त्यसका साथै आराम गर्ने, पानी खाने, भिटामिन खाने, हात राम्रोसँग धुने, रुघा लागेका मान्छे छ भने उनीहरुबाट टाढा बसेर रुघा लाग्न बाट बच्न सकिन्छ । यदि रुघा लागिहाल्यो भने बाहिरबाट आफै औषधी किनेर खानुभन्दा बरु आफ्नो डाक्टरको सल्लाहअनुसार औषधी लिन जरुरी हुन्छ ।

सुत्दा के—के कुरामा ध्यान दिने ?

जाडो महिनामा प्रायः सबैले हिटर बालेर सुत्ने गर्छन् । तर, गर्भवती महिलाले सकेसम्म हिटर बालेर सुत्नु हुँदैन् । किनभने, जाडो महिनामा ढोका झयालहरु राम्रोसँग बन्द गरेर सुत्ने गरिन्छ । त्यसैले त्यो बेला हिटर बाल्यौ भने हिटरले कार्बोमोनो अक्साइड ग्याँस बनाउँछ, जसले गर्दा ढोकाहरु बन्द हुनाले हावा आवत—जावत हुँदैन् । र, त्यसले गर्दा मृत्यु समेत भैरहेका केसहरू देखिन्छन् ।

त्यसैले हिटरमा गर्भवती महिलाले सुत्नु हुँदैन् । कोठा तातो बनाउनुपर्छ तर सुत्दा हिटर बन्द गरेर सुत्नु पर्छ । त्यसका साथै सुत्ने बेला कतिपय सिधा सुत्ने गर्छन्, सिधा सुत्नु हुँदैन् । किनभने, सिधा सुत्यो भने रगतको नली थिचिन्छ जसकारण बच्चालाई राम्रोसँग ब्लड फ्लो हुँदैन् । कोल्टे फर्केर सुत्नु राम्रो हुन्छ ।

सकेसम्म गर्भवती महिलाले गर्न हुने योगाहरु गर्नुपर्ने हुन्छ । घरभित्रका सामान्य व्यायामहरु पनि गर्न सकिन्छ ।

प्रस्तुतीः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ