२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसाउदी अरबमा नेपाली नर्सले कमाउन सक्छन् मासिक १ लाख २० हजारदेखि २ लाखसम्म

साउदी अरबमा नेपाली नर्सले कमाउन सक्छन् मासिक १ लाख २० हजारदेखि २ लाखसम्म


काठमाडौं—पछिल्लो समय नेपाली नर्सका लागि साउदी अरब रोजगारीको नयाँ गन्तव्य बन्दैं गएको छ । हालसम्म साउदी अरबका विभिन्न अस्पतालहरुमा ६ सय नर्सहरू कार्यरत छन् । नेपालबाट साउदी जाने नर्सहरूले एक लाख २० हजारदेखि दुई लाख रुपैयाँसम्म कमाउन सक्ने मनास्लु मनास्लु इन्टरनेशनल सर्भिसका संचालक बालकृष्ण श्रेष्ठले बताए ।

नेपाली नर्सलाई साउदी अरबस्थित मल्टी–नेशनल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुप (एचएमजी) ले यो वर्ष दुई सय नेपाली नर्सको माग गरेको छ । उक्त अस्पताल व्यवस्थापनले बढ्दो संख्यामा सेवा प्रदान गर्न थप नर्सको आवश्यकता बढेपछि यो निर्णय गरेको हो । अस्पतालमा हाल एक हजार ९ सयभन्दा बढी शैय्या, १३ हजार कर्मचारी र दुई हजार ७ सय ५० कन्सल्टेन्ट चिकित्सकहरुले बिरामीको सेवा प्रदान गरिरहेका छन् । उक्त अस्पतालले विगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी प्रदान गर्दै आइरहेको छ ।

नेपालबाट जाने नर्सहरुले निःशुल्क रुपमा जान सक्नेछन् । सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने जनाइएको छ । अस्पताल आफ्ना बिरामीहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेकाले नेपाली नर्सको माग बढ्दै गएको छ । डा.सुलिमान अल हबिब अस्पतालले थप नेपाली नर्सहरूको माग गरेको छ । अस्पताल व्यवस्थापनले उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न शतप्रतिशत निःशुल्क भर्ति गर्ने निर्णय गरेको छ । साउदी अरेबियाको सरकारको मापदण्डअनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । यद्यपि, अस्पतालले अब एनएनसी लाइसेन्स भएका नर्सिङका नयाँ स्नातकहरूलाई अवसर प्रदान गरिरहेको छ ।

अस्पतालले एक वर्षको ओपन डाउन टिकट, पूर्ण रूपमा सुसज्जित आवास, शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने छ । नर्सहरूका लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च बहन पनि अस्पतालले नै गर्नेछ । फ्रेस नर्सहरुका लागि नर्सिङमा आफ्नो करिअर सुरु गर्ने र विश्वस्तरीय अस्पतालमा वहुमूल्य अनुभव प्राप्त गर्ने यो उत्कृष्ट अवसर भएको अस्पतालले जनाएको छ ।

डा. सुलेमान अल हबीब अस्पतालले आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र उनीहरूलाई राम्रोसँग हेरचाह गरिएको सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ । आउने मे २० मा डा. सुलेमान अल हबिब मेडिकल ग्रुपका भाईस प्रिसिडेन्ट प्रोफेसर डाक्टर सुलेमान ए.अल–माजिद नेपाल भ्रमण गर्ने तयारीमा छन् । उनले नेपाल सरकार, नेपालका हस्पिटल तथा कलेजमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मनास्लु इन्टरनेशनल सर्भिसका बालकृष्ण श्रेष्ठले बताए । ‘डा. सुलेमान नेपालप्रति एकदमै सकारात्मक व्यक्ति हुन्,’ श्रेष्ठले भने, ‘नेपालबाट गएका नर्सहरुको कामबाट हामी प्रभावित छौं । अन्य देशबाट आउने नर्सको दाँजोमा नेपाली नर्स काममा एकदमै मिहिनेती, कामप्रति समर्पित पायौं ।’

मनास्लु इन्टरनेशनल सर्भिसले बुधबार राजधानीको नयाँ बानेश्वरमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो बताएको हो । हालसम्म साउदी अरबका बिभिन्न अस्पतालहरुमा छ सय नर्सहरू कार्यरत छन् । सन् २०१९ देखि नेपाली नर्सहरु साउदी जान थालेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ