चरिकोट—दोलखाको शैलुङ गाउँपालिकाले गर्भवती, सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै ‘बच्चा काखमा, पोषण सामग्री हातमा, जन्मदर्ता साथमा’ नामक विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा, क्याल्सियमलगायतका पोषणयुक्त सामग्री प्रदान गरिन्छ । स्वास्थ्य शाखाका संयोजक विष्णुबहादुर कार्कीका अनुसार गर्भावस्थादेखि नै दैनिक एउटा अण्डा र क्याल्सियम वितरण गरिँदै आएको छ । सुत्केरी भएपछि राज्यले उपलब्ध गराउने सुविधासँगै गाउँपालिकाले थप दुई हजार पाँच सय रुपैयाँ बराबरको पोषण सामग्री उपलब्ध गराउँछ ।
गाउँपालिकाले गर्भवती वा सुत्केरी महिलालाई अस्पताल आवत–जावतका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेको छ । २८ दिनभित्रका नवजात शिशुलाई अस्पताल पु¥याउने/ल्याउने सुविधा पनि यसमा समावेस छ । ‘एम्बुलेन्स नपाएको खण्डमा अन्य सवारी साधन प्रयोग गर्दा त्यसको भाडा एम्बुलेन्सले लिने बराबरको रकम पनि गाउँपालिकाले उपलब्ध गराउँछ,’ स्वास्थ्य शाखाकी हेल्थ असिस्टेन्ट अनिता न्यौपानेले बताइन् ।
आर्थिक वर्ष ०८१/८२ मा मात्रै १५ जना गर्भवती तथा सुत्केरी महिलाले यो सुविधा लिएको स्वास्थ्य शाखाले जनाएको छ । साथै, नवजात शिशु, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्ग तथा गम्भीर मानसिक रोगीका लागि पनि गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ ।