२०८२ साउन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यजब चिकित्सकले महिलालाई भने, ‘तपाईंको कलेजोमा बच्चा छ’

जब चिकित्सकले महिलालाई भने, ‘तपाईंको कलेजोमा बच्चा छ’


पश्चिमी उत्तर प्रदेशबाट हालै एक गर्भावस्थाको अचम्मको घटना सार्वजनिक भएको छ । यो घटना अनौठो त्यसकारण हो कि भ्रूण गर्भाशयमा नभई कलेजो (लिभर) मा विकास भइरहेको थियो ।

यही कारणले बुलन्दशहर जिल्लाको दस्तुरा गाउँकी ३५ वर्षीया सर्वेश अहिले धेरै वरिष्ठ चिकित्सक र अनुसन्धानकर्ताको ध्यानको केन्द्र बनेकी छन् ।

सामान्य मानिससँगै विशेषज्ञहरू पनि जान्न चाहन्छन् कि आखिर यो कसरी भयो र सर्वेश अहिले कुन अवस्थामा छिन् ।

म पनि यिनै प्रश्नहरूको जवाफ खोज्न दस्तुरा गाउँ पुगेँ ।

जब हामी सर्वेशको घर पुग्यौं, उनी खाटमा पल्टिरहेकी भेटिइन् । उनको पेटमा एकदमै चौडो बेल्ट बाँधिएको थियो र उनको लागि यताउता पल्टिनसमेत कठिन भइरहेको थियो ।

उनी बताएअनुसार पेटको दायाँ भागको माथिल्लोतर्फ २१ वटा टाँका लगाइएको छ । चिकित्सकले कुनै पनि भारी सामान उठाउन रोक लगाएका छन् र एकदम हल्का खाना खान र सकेसम्म धेरै आराम गर्न सुझाव दिएका छन् ।

खाटमा बसाल्नेदेखि लिएर शौचालय लैजाने र कपडा फेर्नेजस्ता सबै कामका लागि सर्वेशले आफ्ना पति परमवीरको मद्दत लिनुपर्छ ।

सर्वेश र उनका पति परमवीरकाअनुसार बितेका तीन महिना उनको परिवारका लागि निकै कठिन रहे ।

सर्वेशले बीबीसीलाई भनिन्, ‘मलाई अत्यधिक बान्ता भइरहेको थियो । सधैं थकाइ लाग्थ्यो र दुखाइ पनि हुन्थ्यो । बुझ्नै कठिन थियो कि मलाई के भइरहेको हो ।’

उनको अवस्था बिग्रिँदै गएपछि चिकित्सकले अल्ट्रासाउन्ड गर्न भने । तर पहिलो रिपोर्टमा केही देखिएन । उनी पेटको संक्रमणको औषधि खान थालिन् ।

तर, महिनाभरको उपचारपछि पनि सुधार नभएपछि पुनः अल्ट्रासाउन्ड गराइयो । यस पटक रिपोर्टमा आएको कुरा यति दुर्लभ थियो कि चिकित्सकहरूलाई पनि विश्वास गर्न गाह्रो भयो ।

‘तपाईको कलेजोमा बच्चा छ’

अल्ट्रासाउन्ड गर्ने चिकित्सक डा. सानिया जेहरा सर्वेसलाई उनको लिभरमा बच्चा भएको बताइन् ।

पुष्टि गर्न उनी मेरठ गइन् र फेरि अल्ट्रासाउन्ड तथा एमआरआई गराइन्, त्यसमा पनि त्यही कुरा देखियो ।

एमआरआई गर्ने रेडियोलोजिस्ट डा. केके गुप्ताले २० वर्षको आफ्नो करियरमा यस्तो केस कहिल्यै नदेखेको बताए ।

उनले भने, ‘महिलाको लिभरको दायाँ भागमा १२ हप्ताको गर्भावस्था थियो, जसमा धड्कन पनि स्पष्ट देखिन्थ्यो । यसलाई ‘इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ, जुन निकै दुर्लभ हुन्छ ।’

‘शल्यक्रियाबाहेक अर्को कुनै विकल्प छैन’

चिकित्सकले दम्पतीलाई भने कि यदि भ्रूण ठूलो भयो भने कलेजो फाट्ने खतरा हुन्छ । यस्तो अवस्थामा न बच्चा बाँच्छ, न आमा । त्यसैले शल्यक्रियाबाहेक अरू कुनै विकल्प छैन ।

परमवीर भन्छन् कि बुलन्दशहरमा कुनै पनि चिकित्सक यो केस लिन तयार थिएनन् । उनी मेरठ पनि गए तर त्यहाँ पनि निराशा मात्र हात लाग्यो ।

चिकित्सकहरूको भनाइ थियो कि यो एक जटिल अवस्था हो र यसमा आमा र बच्चा दुवैको ज्यानलाई खतरा छ, त्यसैले सबैले उनलाई दिल्ली जान सल्लाह दिए ।

सर्वेशले भनिन्, ‘हामी गरिब हौं र हाम्रो लागि दिल्ली गई त्यहाँको खर्च व्यहोर्न सम्भव थिएन । धेरैपटक धाउनुपरेपछि हामीले यहीँ उपचार गराउने निर्णय गर्यौं ।’

अन्ततः मेरठको एक निजी अस्पतालमा चिकित्सकहरूको टिम सर्वेशको शल्यक्रियाका लागि तयार भयो ।

शल्यक्रिया टिमको सदस्य रहेकी डा. पारुल दहिया भन्छिन्, ‘जब बिरामी मेरोमा आइन्, उनी तीन महिनादेखि पीडामा थिइन् । उनको साथमा अल्ट्रासोनोग्राफी र एमआरआईको रिपोर्ट थियो, जसमा स्पष्ट देखिन्थ्यो कि यो ‘इन्ट्राहेपाटिक एक्टोपिक प्रेग्नेन्सी’ हो । यस्तो केसमा शल्यचिकित्सकको आवश्यकता पर्छ, त्यसैले हामीले वरिष्ठ शल्य चिकित्सक डा. सुनील कंवलसँग यसबारे कुरा गर्यौं । उहाँ पनि सहमत हुनुभयो, जसपछि बिरामीको शल्यक्रिया गरियो ।’

चिकित्सकहरूको अनुसार यो शल्यक्रिया गर्न डेढ घण्टा लाग्यो ।

डा. केके गुप्ताले बीबीसीलाई शल्यक्रियाको भिडियो र भ्रूणका तस्वीरहरू पनि देखाए ।

दुर्लभ अवस्था

सामान्यतयाः कुनै महिला गर्भवती तब हुन्छिन्, जब अण्डाशयबाट निस्किएको अण्डा शुक्राणुसँग भेटेर निषेचित हुन्छ ।

यो निषेचित अण्डा फलोपियन ट्युबको बाटो हुँदै गर्भाशयतर्फ बढ्छ र त्यसपछि गर्भाशयमै भ्रूण विकास हुन्छ ।

बीएचयूको इन्स्टिच्युट अफ मेडिकल साइन्सेसकी प्राध्यापक डा. ममताकाअनुसार कुनै बेला निषेचित अण्डा गर्भाशयमा पुग्नुको सट्टा फलोपियन ट्युबमै रहन्छ वा कुनै अर्को अंगको सतहमा टाँसिन्छ ।

जस्तो कि यस घटनामा यो कलेजोमा टाँसियो । कलेजोमा रक्त आपूर्ति राम्रो हुने भएकाले प्रारम्भिक दिनहरूमा भ्रूणका लागि यो ‘उर्वर भूमि’ जस्तै काम गर्छ ।

तर, केही समयपछि आमा र बच्चा दुवैका लागि खतरनाक अवस्था सिर्जना हुन्छ, जहाँ शल्यक्रियाबाहेक अर्को कुनै विकल्प हुँदैन ।

भारतमा अहिलेसम्म यस्ता कति घटना भए ?

‘इन्ट्राहेपाटिक एक्टोपिक प्रेग्नेन्सी’ कत्तिको दुर्लभ हुन्छ ?

यो विषय बुझ्न हामीले पटना एम्सको प्रसूति तथा स्त्रीरोग विभागकी प्राध्यापक डा. मोनिका अनन्तसँग कुरा गर्यौं।

डा.मोनिकाका अनुसार विश्वभर ‘इन्ट्राहेपाटिक प्रेग्नेन्सी’ औसतमा एक प्रतिशत मात्र देखिन्छ । उनले भनिन्, ‘एउटा अनुमानअनुसार ७०–८० लाख गर्भावस्थामध्ये केवल एउटा मात्र केस इन्ट्राहेपाटिक प्रेग्नेन्सीको हुन सक्छ।’

डा. मोनिकाले थप बताइन् कि हालसम्म विश्वभर यस प्रकारका ४५ वटा घटना मात्र रिपोर्ट भएका छन्, जसमा तीन वटा भारतका हुन्।

भारतमा पहिलो घटना सन् २०१२ मा दिल्लीमा रिपोर्ट भएको थियो। दोस्रो घटना सन् २०२२ मा गोवा मेडिकल कलेजमा र तेस्रो घटना सन् २०२३ मा एम्समा रिपोर्ट भएको थियो।

पटना एम्सको घटनालाई स्वयं डा. मोनिका अनन्त र उनकी टिमले हेरेको थियो । यसमा उनको टिमले औषधि (मेथोट्रेक्सेट)को सहायताले महिलाको गर्भ थैलीलाई निष्क्रिय बनाउन प्रयास गर्‍यो । त्यसपछि पूरै एक वर्षसम्म बिरामीको निगरानीमा राखिएको थियो ।

पछाडि डा. मोनिकाले यो दुर्लभ केसलाई दस्तावेजीकरण गरिन् र त्यसपछि यो पबमेडमा भारतको तेस्रो इन्ट्राहेपाटिक एक्टोपिक प्रेग्नेन्सीको रूपमा प्रकाशित भयो । पबमेड अमेरिकाको प्रमुख स्वास्थ्य अनुसन्धान (मेडिकल रिसर्च) डेटाबेस हो ।

डा. पारुल दहिया र डा. केके गुप्ताको भनाइमा उनको टिमले पनि आफ्नो केसलाई दस्तावेज गर्ने काम सुरु गरिसकेका छन् ।

बीबीसी हिन्दीबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ