२०८२ पुस ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय

डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय


स्तन क्यान्सर विश्वभरका महिलामा हुने सबैभन्दा सामान्य क्यान्सर हो। हरेक वर्ष झण्डै २० लाखभन्दा बढी महिला यो क्यान्सरबाट प्रभावित हुने गर्छन् । नेपालमा पनि यसको प्रकोप तीव्र रूपमा बढ्दो क्रममा छ।

क्यान्सर शरीरका कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने अवस्था हो । स्तनमा रहेका दूध बनाउने कोष (लोब्युल्स) र दूध बग्ने नली (मामरी डक्ट्स) अनियन्त्रित रूपमा बढ्न थालेमा स्तन क्यान्सरको सुरुवात हुन्छ। यदि समयमै नियन्त्रण गर्न नसकिएमा यो रगत वा लिन्फाटिकको माध्यमबाट शरीरका अन्य भागहरूमा पनि फैलिन सक्छ।

स्तन क्यान्सर जोसुकै महिलालाई पनि हुन सक्छ । तर, उमेर, वंशानुगत कारण, हर्मोनको असन्तुलन, सन्तान र स्तनपानसँग सम्बन्धित कारण, अस्वस्थ जीवनशैली, मोटोपन, धुम्रपान र मद्यपानले यसको जोखिम बढाउँछ।

४० वर्षभन्दा बढी उमेरका महिलामा स्तन क्यान्सर सामान्य देखिएपनि पछिल्ला वर्षहरूमा कम उमेरका महिलामा पनि यसको प्रकोप बढ्दै गएको छ । यस्तो अवस्थामा रोग बढी ‘एग्रेसिभ’ हुने र उपचार कठिन हुने सम्भावना हुन्छ।

स्तन क्यान्सरका मुख्य लक्षणहरू

  • स्तनमा नयाँ गाँठो महसुस हुनु
  • आकारमा परिवर्तन आउनु
  • छालामा बाक्लोपन वा रातोपन देखिनु
  • निप्पल भित्र पस्नु वा रगत निस्किनु
  • असामान्य दुखाइ र काखेमा गाँठो आउनु आदि ।

महिलाहरूले हरेक महिना कम्तिमा एक पटक स्तन स्व–परीक्षण गर्नुपर्छ । २५ वर्षभन्दा माथिका महिलाले तीन वर्षमा एक पटक र ४० वर्षभन्दा माथिका महिलाले प्रत्येक वर्ष क्लिनिकल ब्रेस्ट एग्जामिनेसन गर्नुपर्छ ।

ब्रेस्ट क्यान्सरको सबैभन्दा संवेदनशील परीक्षण म्यामोग्राफी हो, जसले ब्रेस्टभित्र रहेका गाँठो वा अन्य असामान्य संरचनाहरू पत्ता लगाउन मद्दत गर्छ । त्यस्तै, अल्ट्रासाउन्ड र ब्रेस्ट एमआरआई परीक्षणले पनि ब्रेस्टको अवस्था बुझ्न सहयोग पुर्‍याउँछ। आवश्यक परेमा एफएनएसी वा बायोप्सी गरेर क्यान्सर सेल्सको पुष्टि गरिन्छ।

रोकथामका उपाय

  • स्वस्थ जीवनशैली
  • सन्तुलित आहार खाने
  • नियमित व्यायाम गर्ने
  • स्तनपान गराउने
  • धुम्रपान–मद्यपानबाट नगर्ने

समयमै ब्रेस्ट क्यान्सर पत्ता लागेमा ९० प्रतिशत महिलाहरू पूर्ण रूपमा निको हुन्छन्। प्रारम्भिक चरणमा उपचार गर्दा स्तन जोगाउन पनि सकिन्छ भने उपचार सस्तो र प्रभावकारी हुन्छ । बिरामी तथा परिवार दुवैलाई आर्थिक र मानसिक रूपमा सहज हुन्छ। चाँडै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रुपमा निको पार्न सकिने रोग हो ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ