जुम्ला—कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव देखिएको छ । करिब दुई महिनादेखि एन्टीबायोटिक एमोक्सिलिन, सिप्रोफोलोक्सासिनजस्ता अत्यावश्यक औषधि अभाव भएको हो ।
मालिकाबोता स्वास्थ्य चौकी इन्चार्ज रतन हमालका अनुसार स्वास्थ्य चौकीमा ९२ प्रकारका औषधि आउनुपर्ने हो । तर, १३/१४ प्रकारका औषधि पनि आउने गरेको छैन । उनले भने, ‘एन्टीबायोटिक औषधि स्वास्थ्य चौकीमा अत्यावश्यक पर्ने गर्दछ । तर, त्यही औषधि करिब दुई महिनादेखि अभाव छ ।’
हमालले गाउँपालिकामा माग फाराम भरेर पठाएको भएपनि अहिलेसम्म प्राप्त नभएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको औषधि समयमा खरिद पहिलो चौमासिक असोज कार्तिक महिनामा औषधि खरिद गरिसक्नुपर्ने हो । तर, भर्खर खरिद औषधि गाउँपालिकाको स्टोरमा पुगेको छ भन्ने सुनिएको छ । स्वास्थ्य चौकीमा पुगेको छैन ।’
दैनिक १०/१५ जना बिरामी स्वास्थ्य चौकीमा आउने गरेको इन्चार्ज हमालले बताए । उनले भने, ‘यहाँको हावापानी चिसोका कारण दम रोगका बिरामी बढी आउने गरेका छन् । अत्यावश्यक औषधि नहुँदा समस्या भएको छ ।
प्रसुति गृहले दुर्गमका गर्भवतीलाई सहज
गाउँबस्ती नजिकै प्रसुति गृह सञ्चालन भएको गर्भवती र सुत्केरी महिलालाई सहज भएको छ । जसले गर्दा नियमित चेकजाँच र प्रसुति गर्न सहज भएको हो । गत वर्ष १९ जना र चालु आर्थिक वर्षको चैत १ गतेसम्म १३ जना प्रसुति गृहमा सुत्केरी भएका छन् ।
नियमित गर्भ चेकजाँच गरेबापत प्रति सुत्केरी महिला ८ सय र यातायात प्रोत्साहन बापत तीन हजार रुपैयाँ सुत्केरी महिलालाई वितरण गर्ने गरेको स्वास्थ्य चौकी इन्चार्ज हमालले बताए । उनले भने, ‘प्रदेश सरकारले उपलब्ध गराउने प्रति सुत्केरी महिला दुई हजार रुपैयाँ पनि आर्थिक वर्षको अन्तिम चौमासिकमा वितरण गर्ने तयारी गरिएको छ ।’
कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायका अनुसार ७ लाख रुपैयाको औषधि खरिद गरेर पालिकाको स्टोरमा पुगेको छ । ‘त्यो औषधि अभाव भए—नभएको रेखदेख गरेर स्वास्थ्य चौकीमा पठाउने छौं,’ उनले भने, ‘पुन १३ लाख रुपैयाँको औषधि खरिद गर्ने तयारी गरेका छौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमै औषधि खरिद गर्नुपर्ने हो । तर, विविध कारणले औषधि अलि ढिला खरिद हुन पुगेको हो ।’