२०८३ असार १, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट

मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट

बजेटमा कुन—कुन स्वास्थ्यका कार्यक्रममा छन् ?


जनकपुरधाम—मधेश प्रदेशले स्वास्थ्यतर्फ ५ अर्ब ९५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । सोमबार मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा ५ अर्ब ९५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन् ।

‘प्रदेशका नागरिकको आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि ५ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छु,’ अर्थमन्त्री भट्टराईले भने ।

मधेश प्रदेशले ‘मेरो स्वास्थ्य—मेरो जिम्मेवारी’ नारालाई सार्थकता दिन स्थानीय तहसँगको सह—लागतमा सबै वडाहरुमा नागरिक आरोग्य केन्द्र स्थापना गर्न उपकरण खरिद गर्ने, प्रादेशिक अस्पताल जनकपुरलाई मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार सेवासहित सुविधासम्पन्न अस्पतालमा स्तरोन्नती गर्ने बजेटमा छ ।

तराई मधेशमा मुख्य समस्याका रुपमा रहेको सर्पदंशको उपचारलाई सर्वसुलभ बनाउन आधारभूत स्वास्थ्य केन्द्रहरुमा एन्टी स्नेक भेनमसहितको ‘सर्पदंश उपचार केन्द्र’ विस्तार गर्ने, डेंगु औलोजस्ता सरुवा रोग नियन्त्रणमा ध्यान दिने पनि मधेशका अर्थमन्त्री भट्टराईले बजेटमा उल्लेख गरेका छन् ।

संघीय सरकारसँगको समन्वयमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण कार्य सुरु गर्ने, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्यलाई गति दिने पनि मधेशको बजेटमा छ ।

‘मधेश पोषण मिसन २०८३’, ‘गर्भवती आमा पोषण प्याक’, ‘मुख्यमन्त्री पोषण कोसेली’, ‘निःशुल्क स्तन तथा पाठेघरको क्यान्सर स्क्रीनिङ घुम्ती शिविर’, ‘खेतदेखि थालसम्म विद्यालय खाजा’, ‘एक पालिका, एक पोषण उत्पादन केन्द्र’लगायतका कार्यक्रम सञ्चालन गर्ने पनि बजेटमा छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ