काठमाडौं—उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलको आधुनिक चिकित्सा कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट प्रा.लि. ले दायर गरेको रिट निवेदन खारेज गरेको छ। बुधबार अदालतका न्यायाधीशद्धय राजुकुमार खतिवडा र प्रकाश ढुंगानाको संयुक्त इजलासले स्पार्कको रिट खारेज गर्ने निर्णय गरेको हो ।
जेठ पहिलो साता काउन्सिलले चन्द्रागिरीमा रहेको स्पार्क इन्टरनेशनल रिसोर्ट प्रा.लि.मा अनुगमन गरेको थियो । उक्त अनुगमनपछि स्पार्कको तर्फबाट स्काई इन्टरनेशनल हेल्थ रिसोर्ट प्रा.लि.ले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदैं काउन्सिल र चन्द्रागिरी नगरपालिकालाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेको थियो ।
रिटमा स्पार्कले काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर रिसोर्टमा अनुगमन गरेको र आफूहरूलाई दुःख दिएको जिकिर गरेको थियो ।
तर, अदालतले काउन्सिलको आधुनिक चिकित्सा सम्बन्धि नियमन गर्ने अधिकार सुनिश्चित गर्दै उक्त रिट खारेज गरिदिएको हो । अदालतको यो निर्णयसँगै आधुनिक चिकित्सा (एलोपेथिक) विधाको अभ्यास र नियमन गर्ने कानुनी अधिकार पूर्णतः नेपाल मेडिकल काउन्सिलमा नै रहेको स्पष्ट भएको काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले बताए ।
काउन्सिलको अनुगमन प्रतिवेदनका आधारमा ९ असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्पार्कमा कार्यरत डा. चेतना पौडेललाई पक्राउ गरेको थियो । उनको पक्राउपछि नेचुरोप्याथी र एलोपेथिक विधाबीच तीब्र विवाद सिर्जना भइरहेको छ ।