चरिकोट—दोलखाको जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटले जनशक्तिको अभाव झेलिरहेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिबारे आयोजित सामाजिक परीक्षण कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दक्ष र अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण सेवा विस्तारमा चुनौती रहेको बताए ।
अस्पतालसँग १८ रोपनी क्षेत्रफलमा फैलिएको परिसर, चारवटा भवन, ५८ वटा कोठा तथा ५० शय्याको क्षमता रहेको छ । ‘आवश्यक भौतिक पूर्वाधार र अधिकांश स्वास्थ्य उपकरण उपलब्ध भएपनि दरबन्दीअनुसार दक्ष तथा अनुभवी चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण सेवा विस्तारमा चुनौती छ,’ डा. पौडेलले भने । उनले गत आर्थिक वर्षमा २७ हजार ८५६ जना बिरामीले सेवा लिएको जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा बिरामीको संख्या केही घटेको छ ।
सामाजिक परीक्षण कार्यक्रममा उपस्थित नागरिकहरुले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् । अस्पतालको भौतिक पूर्वाधार र उपकरण पर्याप्त भएपनि सेवा प्रवाह अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले सुधारका लागि विभिन्न सुझाव दिएका हुन् ।
सहभागीहरूले पछिल्लो समय अस्पतालबाट मिर्गौला डायलाइसिस सेवा सञ्चालन हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यस्ता सेवाबारे नागरिकलाई पर्याप्त जानकारी नपुगेको बताए । राजेश थापाले काठमाडौंमा महँगो शुल्क तिरेर डायलाइसिस गरिरहेका धेरै बिरामीलाई जिल्लामै यस्तो सेवा उपलब्ध रहेको जानकारी नहुँदा यसको प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको बताए । अस्पतालमा रहेका कतिपय आधुनिक उपकरण नियमित प्रयोगमा आउन नसकेको भन्दै उपलब्ध स्रोतको अधिकतम उपयोग गर्नुपर्ने सुझाव पनि उनले दिए ।

नरेश सापकोटाले अस्पतालमा अत्यावश्यक औषधिको अभाव हुने गरेको गुनासो गर्दै उपचारका क्रममा तत्काल आवश्यक पर्ने औषधिसमेत बजारबाट किन्नुपर्ने बाध्यता रहेको बताए । बिरामीलाई एक्लै छाडेर औषधि लिन जानुपर्ने अवस्था अन्त्य गर्न अस्पतालले आवश्यक औषधिको नियमित व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । सिर्जना कार्कीले पछिल्लो समय बढ्दो मानसिक स्वास्थ्य समस्या र थाइराइडजस्ता दीर्घरोगका औषधि पनि अस्पतालमा सहज रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिइन् । जिल्लाको स्वास्थ्य आवश्यकता अध्ययन गरेर सोहीअनुसार औषधि व्यवस्थापन गर्न सके बिरामीले थप सहज सेवा पाउने उनको धारणा थियो ।
कार्यक्रममा विवेक बुढाथोकीले अस्पताल परिसरमै रहेको पोस्टमार्टम कक्षको फ्रिज मर्मत नहुँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै सामान्य मर्मतसम्भार र कर्मचारीको मनोबल बढाउने कार्यक्रम अस्पताल व्यवस्थापनले आफ्नै पहलमा गर्न सक्ने बताए । उनले नियमित सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले अस्पतालको सेवा सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
यद्यपि सहभागीहरूले सरकारी अस्पतालले न्यून शुल्कमै विशेषज्ञ सेवा उपलब्ध गराउनु, आर्थिक रूपमा विपन्न नागरिकलाई सहज उपचारको अवसर प्रदान गर्नु, मिर्गौला डायलाइसिसजस्ता सेवा जिल्लामै विस्तार गर्नु तथा आवश्यक भौतिक पूर्वाधार तयार गर्नु अस्पतालका महत्वपूर्ण उपलब्धि भएको पनि उल्लेख गरे । अब उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन, औषधि आपूर्तिमा सुधार, जनशक्ति व्यवस्थापन र सेवाको प्रचारप्रसारमा विशेष ध्यान दिन सके अस्पतालप्रति नागरिकको विश्वास अझ बढ्ने उनीहरूको भनाइ थियो ।
साथै अस्पताल हाताभित्रै ब्लड बैक हुँदाहुँदै बिरामीका आफन्तले अन्यत्र रगत खोज्नुुपर्ने अवस्था भएकाले यसतर्फ ध्यान दिन गोकर्ण पोखरेलले ध्यानाकर्षण गराए । यदि अस्तपालका सबै कर्मचारी, व्यवस्थापन पक्ष र नागरिकले चाहेमा अस्पतालमा सुधार आउने र गुणस्तरीय सेवा प्रवाह गर्न सकिने पोखरेलले प्रतिवद्धता जनाए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रवक्ता तानानाथ चौलागाई, वडा नं. ३ का अध्यक्ष हरिशरण शिवाकोटी, जिल्ला समन्वय समितिकी सदस्य कल्पना थामी तथा नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष विनिता भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
पशुपति चौलागाई स्मृति अस्पतालको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण रेडियो भीमेश्वरले गरेको पत्रकार गोकर्णप्रसाद भण्डारीले जानकारी दिए ।