२०८३ साउन १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र आकस्मिक शुल्क

सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र आकस्मिक शुल्क

अस्पताल व्यवस्थापन समिति वार्षिक १ करोड ५० लाखभन्दा बढी घाटामा रहेको व्यवस्थापनको दावी


काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका ६ वटा प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले शुल्क बढाएको छ । प्रदेश सरकार मातहत रहेको महाकाली प्रादेशिक अस्पतालको जेठ पहिलो साता बसेको व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०८२÷०८३ को जेठ महिनादेखि आकस्मिक र ओपिडी शुल्कमा दोब्बर वृद्धि गरेको हो ।

त्यसअघि ओपीडी टिकट २५ रुपैयाँ र आकस्मिक टिकट शुल्क ५० रुपैयाँ थियो भने अहिले ओपीडीको शुल्क ५० रुपैयाँ र आकस्मिक टिकट शुल्क १ सय रुपैयाँ लिने गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका ६ अस्पतालमध्ये महाकाली प्रादेशिक अस्पतालले मात्रै ओपीडी तथा आकस्मिक शुल्कमा वृद्धि गरेको हो । प्रदेश सरकार मातहत रहेका अन्य अस्पतालहरुले भने साविककै शुल्कमा सेवा दिइरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहत सेती, महाकाली , टिकापुर, लम्की चुहा, जोगबुढा र बयलपाटा प्रादेशिक अस्पताल छन् ।

महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टले विभिन्न प्रादेशिक अस्पतालसँगै स्वास्थ्य बीमाको शुल्कका आधार शुल्क समायोजन गरिएको बताए ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले अस्पतालको व्यवस्थापन समिति घाटामा रहेको र चिकित्सक भत्तासमेत समितिबाट दिनुपर्ने भएकाले शुल्क समायोजन गरिएको बताए । ‘गरिब, असहायसँगै अन्य समाजिक सुरक्षा दिनुपर्ने बिरामीको निः शुल्क उपचार छ,’ उनले भने ।

अस्पतालले प्रवाह गरिएको सेवामा अन्यमा समेत शुल्क वृद्धिको प्रस्ताव आएको तर अन्यमा केही नगरी ओपीडी र आकस्मिक शुल्क मात्रै वृद्धि गरिएको उनले बताए । ‘हाल अस्पताल व्यवस्थापन समिति वार्षिक १ करोड ५० लाखभन्दा बढी घाटामा रहेको छ, ’ उनले भने ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ