२०८३ भदौ ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो

स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो


सारांश
स्वास्थ्य शिक्षा स्वस्थ जीवनशैली, रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन तथा जिम्मेवार नागरिक व्यवहार विकास गर्ने महत्वपूर्ण माध्यम हो । नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षा केवल स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्ने विषयमा सीमित नभई व्यक्ति, परिवार, विद्यालय र समुदायको स्वास्थ्य व्यवहार तथा सामाजिक चेतना परिवर्तन गर्ने आधारका रूपमा लिन आवश्यक छ ।  विशेषगरी बालबालिका तथा किशोर–किशोरीको विकासको संवेदनशील चरणमा स्वास्थ्य शिक्षा प्रभावकारी रूपमा प्रदान गर्न सकेमा सरसफाइ, पोषण, शारीरिक तथा मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, लागूपदार्थ नियन्त्रण, हिंसा तथा साइबर जोखिम न्यूनीकरण र स्वस्थ जीवनशैली विकासमा दीर्घकालीन प्रभाव पार्न सकिन्छ ।

पछिल्लो समय नेपालमा देखिएका मानसिक स्वास्थ्य समस्या, लागूपदार्थ दुर्व्यसन, हिंसा, साइबर अपराध, अस्वस्थ जीवनशैली तथा अन्य सामाजिक विकृतिको रोकथाममा स्वास्थ्य शिक्षाले प्रत्यक्ष र अप्रत्यक्ष योगदान दिन सक्छ । यद्यपि स्वास्थ्य शिक्षाको कार्यान्वयनमा सैद्धान्तिक तथा परीक्षा–केन्द्रित शिक्षण, दक्ष शिक्षकको अभाव, कमजोर विद्यालय स्वास्थ्य पूर्वाधार, मानसिक तथा सामाजिक स्वास्थ्यलाई पर्याप्त प्राथमिकता नदिनु, अभिभावक–समुदायको सीमित सहभागिता र प्रभावकारी अनुगमन तथा मूल्याङ्कनको अभावजस्ता चुनौती छन् ।

यस लेखले स्वास्थ्य शिक्षाको अवधारणा, आवश्यकता र आयामका साथै नेपालको विद्यालय तहमा यसको वर्तमान सान्दर्भिकता, समस्या तथा चुनौतीको विश्लेषण गर्दै सरकारका लागि नीतिगत सुधारका प्रमुख क्षेत्र पहिचान गरेको छ । स्वास्थ्य शिक्षालाई अनिवार्य, व्यवहारमुखी, जीवनोपयोगी र परिणाममा आधारित बनाउँदै विद्यालय, परिवार, स्वास्थ्य संस्था, समुदाय तथा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्न सकेमा स्वस्थ पुस्ता, सुरक्षित समाज र समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने निष्कर्ष लेखले प्रस्तुत गर्दछ ।

परिभाषा

स्वास्थ्य शिक्षा (Health Education) भन्नाले व्यक्ति, परिवार र समुदायलाई स्वास्थ्यसम्बन्धी वैज्ञानिक तथा सही ज्ञान, सकारात्मक दृष्टिकोण, आवश्यक सीप र स्वस्थ व्यवहार प्रदान तथा विकास गराई आफ्नो स्वास्थ्यको संरक्षण, प्रवर्द्धन र सुधार गर्न सक्षम बनाउने निरन्तर, योजनाबद्ध र उद्देश्यपूर्ण शैक्षिक प्रक्रिया हो ।

यसले रोग तथा स्वास्थ्य समस्याको कारण, जोखिम र रोकथामका उपायबारे जानकारी गराउनुका साथै स्वस्थ जीवनशैली, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, पोषण, शारीरिक तथा मानसिक स्वास्थ्य, रोगको रोकथाम, स्वास्थ्य सेवाको उचित उपयोग र स्वास्थ्यप्रति जिम्मेवार व्यवहार विकास गर्न प्रेरित गर्छ । स्वास्थ्य शिक्षाको मूल उद्देश्य केवल स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्नु मात्र नभई प्राप्त ज्ञान र सीपलाई व्यवहारमा रूपान्तरण गरी व्यक्ति, परिवार र समुदायलाई आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय लिन तथा स्वस्थ जीवनयापन गर्न सक्षम बनाउनु हो । यस अर्थमा स्वास्थ्य शिक्षा रोगको उपचारभन्दा रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन र गुणस्तरीय जीवन निर्माणमा केन्द्रित महत्वपूर्ण सामाजिक तथा शैक्षिक प्रक्रिया हो ।

स्वास्थ्य शिक्षा किन आवश्यक छ?

स्वास्थ्य शिक्षा व्यक्ति, परिवार र समुदायको स्वास्थ्यसम्बन्धी ज्ञान, चेतना, सकारात्मक दृष्टिकोण, सीप र स्वस्थ व्यवहार विकास गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रक्रिया हो। केवल स्वास्थ्य सेवा र औषधिको उपलब्धताले मात्र स्वस्थ समाज निर्माण हुन सक्दैन; नागरिकमा आफ्नो स्वास्थ्यको संरक्षण, रोगको रोकथाम र स्वास्थ्य प्रवर्द्धनसम्बन्धी आवश्यक ज्ञान तथा व्यवहार पनि हुनुपर्छ ।

स्वास्थ्य शिक्षाले व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित खानेपानी, पोषणयुक्त तथा सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, मानसिक तथा सामाजिक स्वास्थ्य, सुरक्षित मातृत्व, बाल स्वास्थ्य र प्रजनन स्वास्थ्यका विषयमा सचेत गराउँछ । यसले संक्रामक रोगको रोकथाम तथा नियन्त्रणसँगै मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सरजस्ता गैरसंक्रामक रोगका जोखिमपूर्ण व्यवहार न्यूनीकरण गर्न पनि सहयोग पुर्‍याउँछ।

त्यसैगरी, स्वास्थ्य शिक्षा धूम्रपान, मद्यपान, लागूपदार्थको दुरुपयोग तथा अन्य हानिकारक व्यवहारबाट टाढा रहन, स्वास्थ्यसम्बन्धी गलत धारणा, अन्धविश्वास र भ्रम हटाउन तथा आवश्यक पर्दा समयमै स्वास्थ्य संस्थाबाट सेवा लिन प्रेरित गर्छ । यसले नागरिकलाई उपलब्ध स्वास्थ्य सेवाको सही र प्रभावकारी उपयोग गर्न, आफ्नो स्वास्थ्यसम्बन्धी अधिकार तथा जिम्मेवारी बुझ्न र स्वास्थ्यसम्बन्धी निर्णयमा सक्रिय सहभागी हुन सक्षम बनाउँछ । परिवार र समुदायमा स्वास्थ्यसम्बन्धी सकारात्मक व्यवहार फैलाउन तथा स्वस्थ वातावरण निर्माण गर्न पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । यसर्थ, स्वास्थ्य शिक्षा रोगको उपचारमा केन्द्रित मात्र नभई रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास, स्वास्थ्य असमानता न्यूनीकरण र व्यक्ति, परिवार तथा समुदायको जीवनस्तर सुधार गर्ने आधारभूत माध्यम हो ।

नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षा

नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षा भन्नाले नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा जनसांख्यिक विविधतालाई ध्यानमा राखी व्यक्ति, परिवार र समुदायलाई स्वास्थ्यसम्बन्धी वैज्ञानिक ज्ञान, सकारात्मक दृष्टिकोण, आवश्यक सीप र स्वस्थ व्यवहार विकास गराई स्वास्थ्यको संरक्षण, प्रवर्द्धन, रोगको रोकथाम तथा स्वास्थ्य सेवाको उचित उपयोग गर्न सक्षम बनाउने निरन्तर, योजनाबद्ध र सहभागितामूलक प्रक्रिया हो। नेपालमा स्वास्थ्य शिक्षा केवल विद्यालयमा स्वास्थ्यसम्बन्धी विषय पढाउने कार्यमा सीमित नभई घर, विद्यालय, समुदाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा विभिन्न सामाजिक संस्थामार्फत स्वास्थ्यसम्बन्धी चेतना र व्यवहार परिवर्तन गर्ने व्यापक माध्यमका रूपमा बुझिन्छ ।

नेपालजस्तो भौगोलिक तथा सामाजिक विविधता भएको देशमा स्वास्थ्य शिक्षाको आवश्यकता अझ महत्वपूर्ण छ। दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँचको कमी, अशिक्षा तथा स्वास्थ्यसम्बन्धी गलत धारणा, पोषणसम्बन्धी समस्या, सरसफाइ तथा सुरक्षित खानेपानीको चुनौती, मातृ तथा शिशु स्वास्थ्यका समस्या, संक्रामक रोगका जोखिम र बढ्दो गैरसंक्रामक रोगका कारण स्वास्थ्य शिक्षा प्रभावकारी स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधार बनेको छ । यसले व्यक्तिगत तथा वातावरणीय सरसफाइ, पोषण र खाद्य सुरक्षा, खोप, सुरक्षित मातृत्व, बाल तथा किशोर स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, संक्रामक रोगको रोकथाम, गैरसंक्रामक रोगको नियन्त्रण, नसर्ने रोगका जोखिमपूर्ण व्यवहार न्यूनीकरण तथा स्वास्थ्य सेवाको सही उपयोग सम्बन्धी ज्ञान र व्यवहार विकास गर्न सहयोग गर्छ ।

त्यसैगरी, नेपालको संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा समुदायको सहभागितामार्फत स्वास्थ्य शिक्षालाई स्थानीय आवश्यकता र प्राथमिकताअनुसार सञ्चालन गर्नु आवश्यक छ । स्थानीय भाषा, संस्कृति र सामाजिक परिवेशअनुकूल स्वास्थ्य सन्देश प्रवाह गर्न सकेमा यसको प्रभावकारिता अझ बढाउन सकिन्छ । यसर्थ, नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षा स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्ने मात्र माध्यम नभई नागरिकको स्वास्थ्य साक्षरता, व्यवहार परिवर्तन, रोगको रोकथाम, स्वास्थ्य सेवामा पहुँच र उपयोग, तथा समग्र स्वास्थ्य तथा जीवनस्तर सुधार गर्ने महत्वपूर्ण आधार हो ।

स्वास्थ्य शिक्षाका प्रमुख आयामहरू

स्वास्थ्य शिक्षा बहुआयामिक विषय हो । यसले रोग नलाग्नु मात्रलाई स्वास्थ्य मानेर सीमित हुँदैन; शारीरिक, मानसिक, सामाजिक तथा समग्र जीवनशैली र वातावरणसँग सम्बन्धित पक्षलाई समेट्छ । प्रमुख आयामहरू यसप्रकार छन्:

१.शारीरिक स्वास्थ्य आयाम (Physical Health)
शरीरलाई स्वस्थ र सक्षम राख्न आवश्यक पोषण, व्यायाम, आराम, निद्रा, व्यक्तिगत सरसफाइ, रोगको रोकथाम तथा स्वास्थ्य परीक्षणसम्बन्धी ज्ञान र व्यवहार विकास गर्नु ।

२.मानसिक तथा भावनात्मक स्वास्थ्य आयाम (Mental & Emotional Health)
तनाव व्यवस्थापन, आत्मविश्वास, सकारात्मक सोच, भावनात्मक सन्तुलन, समस्या समाधान क्षमता तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना विकास गर्नु ।

३.सामाजिक स्वास्थ्य आयाम (Social Health)
परिवार, साथीभाइ र समुदायसँग स्वस्थ सम्बन्ध कायम गर्ने, सहयोग, सहकार्य, सञ्चार, सामाजिक उत्तरदायित्व तथा सामाजिक समायोजनको क्षमता विकास गर्नु ।

४. आध्यात्मिक तथा मूल्यगत स्वास्थ्य आयाम (Spiritual & Value-based Health)
जीवनप्रतिको सकारात्मक दृष्टिकोण, नैतिक मूल्य, उद्देश्यबोध, आत्मअनुशासन, आन्तरिक शान्ति तथा जीवनका चुनौती सामना गर्ने क्षमता विकास गर्नु ।

५. वातावरणीय स्वास्थ्य आयाम (Environmental Health)
स्वच्छ हावा, सुरक्षित खानेपानी, सरसफाइ, फोहोरमैला व्यवस्थापन, स्वच्छ आवास तथा स्वस्थ र सुरक्षित वातावरण निर्माणसम्बन्धी ज्ञान र व्यवहार विकास गर्नु ।

६. पोषण तथा खाद्य स्वास्थ्य आयाम (Nutritional Health)
सन्तुलित तथा पौष्टिक आहार, खाद्य स्वच्छता, पोषणको कमीबाट हुने समस्या र स्वस्थ खानपानसम्बन्धी व्यवहार प्रवर्द्धन गर्नु ।

७. यौन तथा प्रजनन स्वास्थ्य आयाम (Sexual & Reproductive Health)
यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, यौनजन्य संक्रमणको रोकथाम तथा किशोर–किशोरीको प्रजनन स्वास्थ्यसम्बन्धी सही ज्ञान र सीप विकास गर्नु ।

८. रोग रोकथाम तथा स्वास्थ्य प्रवर्द्धन आयाम (Disease Prevention & Health Promotion)
संक्रामक तथा गैरसंक्रामक रोगका जोखिम पहिचान गरी रोकथामका उपाय अपनाउन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सक्षम बनाउनु ।

९. स्वास्थ्य साक्षरता तथा स्वास्थ्य सेवा उपयोग आयाम (Health Literacy & Health-care Utilization)
स्वास्थ्यसम्बन्धी सही सूचना पहिचान र प्रयोग गर्ने, स्वास्थ्य सेवाको उपलब्धता बुझ्ने, आवश्यक पर्दा समयमै सेवा लिने तथा स्वास्थ्यसम्बन्धी सही निर्णय गर्न सक्षम बनाउनु ।

नेपालमा बढ्दो अपराध र स्वास्थ्य शिक्षाको भूमिका

नेपालमा पछिल्ला वर्षहरूमा लागूपदार्थ दुव्र्यसन, घरेलु तथा लैङ्गिक हिंसा, साइबरबुलिङ तथा साइबर अपराध, किशोर–किशोरीसम्बन्धी हिंसा, आत्महत्या, सडक हिंसा र विभिन्न सामाजिक विकृति जस्ता समस्या गम्भीर सामाजिक चुनौतीका रूपमा देखिएका छन् ।

यी सबै अपराधको कारण स्वास्थ्य शिक्षाको अभाव मात्र हो भनेर निष्कर्ष निकाल्न मिल्दैन; अपराधका पछाडि बेरोजगारी, सामाजिक असमानता, पारिवारिक विघटन, लागूपदार्थको प्रयोग, मानसिक स्वास्थ्य समस्या, कमजोर सामाजिक नियन्त्रण, डिजिटल माध्यमको दुरुपयोग र कानुनी चेतनाको कमी लगायत धेरै कारण हुन्छन्। तर स्वास्थ्य शिक्षाले यीमध्ये केही जोखिमलाई प्रारम्भिक चरणमै पहिचान र न्यूनीकरण गर्न महत्वपूर्ण योगदान दिन सक्छ ।

नेपालमा विशेषगरी मानसिक स्वास्थ्य र लागूपदार्थ प्रयोगलाई अपराध न्यूनीकरणसँग जोडेर हेर्नु आवश्यक छ । UNICEF र WHO का अनुसार नेपालमा १३–१९ वर्षका ५.२ प्रतिशत किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् र ६–१८ वर्षका १८.३ प्रतिशत बालबालिकाले भावनात्मक वा व्यवहारसम्बन्धी कठिनाइ सामना गरिरहेका छन् । साथै, १५–२९ वर्षका युवामा आत्महत्या मृत्युको प्रमुख कारणमध्ये एक रहेको उल्लेख गरिएको छ। साइबरबुलिङ र अनलाइन दुर्व्यवहारले पनि बालबालिका तथा किशोरकिशोरीको सुरक्षा र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ ।

यस सन्दर्भमा स्वास्थ्य शिक्षालाई ‘रोग लागेपछि उपचार गर्ने’ दृष्टिकोणबाट ‘जोखिम पहिचान गरी अपराध तथा स्वास्थ्य समस्या हुनुअघि रोकथाम गर्ने’ दृष्टिकोणमा लैजान आवश्यक छ । विद्यालय तथा समुदायमा मानसिक स्वास्थ्य, तनाव तथा रिस व्यवस्थापन, भावनात्मक नियन्त्रण, सकारात्मक सोच, द्वन्द्व समाधान, सहिष्णुता, लैङ्गिक सम्मान, यौन तथा प्रजनन स्वास्थ्य, साइबर सुरक्षा, लागूपदार्थको दुव्र्यसनका असर, आत्महत्या रोकथाम र सहयोग खोज्ने व्यवहारसम्बन्धी शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ । नेपाल सरकारको राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियानले पनि लान्छना घटाउने, सहयोग खोज्ने व्यवहार सामान्य बनाउने, परिवारको संलग्नता बढाउने तथा बालबालिका र किशोरकिशोरीलाई आवश्यक सहयोग कहाँबाट प्राप्त गर्ने भन्ने जानकारी दिने विषयलाई प्राथमिकता दिएको छ ।

त्यसैले स्वास्थ्य शिक्षा अपराध नियन्त्रणको विकल्प होइन, तर अपराध रोकथामको महत्वपूर्ण सामाजिक तथा स्वास्थ्यसम्बन्धी पूर्वाधार हो । प्रहरी, न्याय प्रणाली र कानून कार्यान्वयनसँगै विद्यालय, परिवार, स्वास्थ्य संस्था, स्थानीय सरकार, समुदाय र सञ्चारमाध्यमको सहकार्यमा स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउन सकेमा जोखिमपूर्ण व्यवहार घटाउन, मानसिक तथा सामाजिक स्वास्थ्य सुधार गर्न, युवालाई लागूपदार्थ र हिंसाबाट जोगाउन तथा जिम्मेवार नागरिक व्यवहार विकास गर्न सकिन्छ ।

‘अपराध भएपछि दण्ड दिनु आवश्यक छ; तर अपराध हुनुअघि चेतना, संस्कार, मानसिक स्वास्थ्य र स्वस्थ व्यवहार विकास गर्नु अझ प्रभावकारी रोकथाम हो र यसको आधार स्वास्थ्य शिक्षा हो ।’

स्वास्थ्य शिक्षा कसकसलाई आवश्यक छ?

स्वास्थ्य शिक्षा कुनै निश्चित उमेर, वर्ग वा पेशाका व्यक्तिलाई मात्र होइन, प्रत्येक व्यक्ति र सम्पूर्ण समाजलाई आवश्यक हुन्छ । स्वास्थ्य जीवनभर परिवर्तन भइरहने विषय भएकाले आवश्यकता र जीवनचक्रअनुसार स्वास्थ्य शिक्षाको स्वरूप पनि फरक हुन्छ ।

१ . बालबालिका तथा विद्यार्थीलाई
व्यक्तिगत सरसफाइ, पोषण, व्यायाम, मानसिक स्वास्थ्य, रोगबाट बच्ने उपाय, सुरक्षित व्यवहार तथा स्वास्थ्यसम्बन्धी आधारभूत बानी विकास गर्न स्वास्थ्य शिक्षा आवश्यक हुन्छ ।

२. किशोर–किशोरीलाई
शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता, लैङ्गिक सम्मान, साइबर सुरक्षा, लागूपदार्थबाट बच्ने उपाय, तनाव व्यवस्थापन र जोखिमपूर्ण व्यवहार रोक्न स्वास्थ्य शिक्षा अत्यन्त आवश्यक हुन्छ ।

३. युवा वर्गलाई
स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, लागूपदार्थ तथा मद्यपान नियन्त्रण, दुर्घटना रोकथाम, जिम्मेवार सामाजिक व्यवहार र गैरसंक्रामक रोगको रोकथामका लागि आवश्यक हुन्छ ।

४. अभिभावक तथा परिवारलाई
बालबालिकाको पोषण, खोप, सरसफाइ, मानसिक स्वास्थ्य, सुरक्षित वातावरण, सकारात्मक अभिभावकत्व र रोगको प्रारम्भिक पहिचान तथा उचित स्वास्थ्य सेवाको उपयोगका लागि आवश्यक हुन्छ।

५. गर्भवती महिला तथा आमालाई
गर्भावस्था, सुरक्षित मातृत्व, पोषण, प्रसूति सेवा, नवजात शिशु हेरचाह, स्तनपान, परिवार नियोजन तथा मातृ–शिशु स्वास्थ्य संरक्षणका लागि आवश्यक हुन्छ ।

६. वृद्धवृद्धालाई
दीर्घरोगको व्यवस्थापन, पोषण, शारीरिक गतिविधि, मानसिक तथा सामाजिक स्वास्थ्य, औषधिको उचित प्रयोग, दुर्घटना तथा लडाइँबाट बच्ने उपाय र स्वस्थ वृद्धावस्थाका लागि आवश्यक हुन्छ ।

७. स्वास्थ्यकर्मीलाई
स्वास्थ्यसम्बन्धी नयाँ ज्ञान, प्रभावकारी सञ्चार, स्वास्थ्य परामर्श, स्वास्थ्य प्रवर्द्धन र समुदायमा स्वास्थ्य शिक्षा प्रदान गर्ने क्षमता अभिवृद्धिका लागि आवश्यक हुन्छ ।

८. शिक्षक तथा शैक्षिक संस्थालाई
विद्यार्थीको स्वास्थ्य पहिचान, स्वास्थ्यसम्बन्धी व्यवहार विकास, मानसिक स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य जोखिमको प्रारम्भिक पहिचान र सुरक्षित विद्यालय वातावरण निर्माणका लागि आवश्यक हुन्छ ।

९. श्रमिक तथा पेशागत समूहलाई
कार्यस्थलको सुरक्षा, व्यावसायिक स्वास्थ्य, दुर्घटना तथा चोटपटकको रोकथाम, तनाव व्यवस्थापन र स्वस्थ कार्यजीवनका लागि आवश्यक हुन्छ ।

१०. समुदाय तथा स्थानीय नेतृत्वलाई
समुदायमा सरसफाइ, सुरक्षित पानी, पोषण, रोग नियन्त्रण, वातावरणीय स्वास्थ्य, स्वास्थ्य सेवाको उपयोग र स्वास्थ्यसम्बन्धी सामूहिक व्यवहार सुधार गर्न आवश्यक हुन्छ ।

११. जोखिममा रहेका तथा विशेष आवश्यकता भएका समूहलाई
अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, दुर्गम क्षेत्रका नागरिक तथा अन्य जोखिममा रहेका समूहलाई उनीहरूको विशेष स्वास्थ्य आवश्यकता र उपलब्ध सेवाबारे जानकारी तथा सीप प्रदान गर्न स्वास्थ्य शिक्षा अझ महत्वपूर्ण हुन्छ ।

यसरी हेर्दा स्वास्थ्य शिक्षा बालबालिकादेखि वृद्धवृद्धासम्म, विद्यार्थीदेखि स्वास्थ्यकर्मी र अभिभावकदेखि नीति निर्माता तथा समुदायका नेतृत्वसम्म सबैलाई आवश्यक हुन्छ । अझ महत्वपूर्ण कुरा, स्वास्थ्य शिक्षा स्वस्थ व्यक्तिलाई मात्र होइन, बिरामी, जोखिममा रहेका र विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिलाई पनि आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य शिक्षा कुनै एक विषय वा वर्गमा सीमित नराखी जीवनचक्र, परिवार, विद्यालय, कार्यस्थल र समुदायमा निरन्तर सञ्चालन हुने सर्वव्यापी कार्यक्रमका रूपमा विकास गर्नुपर्छ ।

विद्यालय तहमा स्वास्थ्य शिक्षा किन अनिवार्य छ?
विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य हुनुको मुख्य कारण स्वस्थ नागरिक निर्माणको आधार बाल्यकाल र किशोरावस्थामै तयार हुने भएकाले हो । विद्यालय बालबालिकाले ज्ञान, सीप, मूल्य–मान्यता र व्यवहार सिक्ने प्रमुख संस्थाका रूपमा रहेको हुँदा यसै चरणमा स्वस्थ जीवनशैली र सकारात्मक स्वास्थ्य व्यवहार विकास गर्न सकेमा त्यसको प्रभाव जीवनभर रहन्छ । स्वास्थ्य शिक्षा केवल रोग र औषधिबारे जानकारी दिने विषय होइन; यसले विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी सही ज्ञान, निर्णय गर्ने क्षमता, व्यवहारिक सीप र आफ्नो तथा अरूको स्वास्थ्यप्रति जिम्मेवारी विकास गर्न सहयोग गर्छ ।

विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य हुनुका प्रमुख कारणहरू निम्न छन्:
१. स्वस्थ बानी तथा जीवनशैली विकास गर्नः सरसफाइ, पोषण, व्यायाम, पर्याप्त निद्रा र व्यक्तिगत स्वच्छताको बानी सानैदेखि विकास हुन्छ ।
२. रोगको रोकथाम गर्नः संक्रामक तथा गैरसंक्रामक रोगका कारण, जोखिम र रोकथामका उपायबारे विद्यार्थीलाई सचेत बनाउन सकिन्छ ।
३. किशोरावस्थाका शारीरिक तथा मानसिक परिवर्तन बुझाउनः किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता, शरीरमा हुने परिवर्तन र भावनात्मक व्यवस्थापनबारे वैज्ञानिक जानकारी आवश्यक हुन्छ ।
४. मानसिक स्वास्थ्य संरक्षण गर्नः तनाव, डर, चिन्ता, निराशा, दबाब तथा भावनात्मक समस्या पहिचान र व्यवस्थापन गर्न तथा आवश्यक पर्दा सहयोग खोज्न सिकाउन सकिन्छ ।
५. लागूपदार्थ तथा जोखिमपूर्ण व्यवहार रोक्नः धूम्रपान, मद्यपान, लागूपदार्थ तथा अन्य जोखिमपूर्ण व्यवहारका स्वास्थ्य र सामाजिक असरबारे समयमै सचेत गराउन सकिन्छ ।
६. हिंसा तथा अपराधको जोखिम न्यूनीकरण गर्नः आत्मनियन्त्रण, सहिष्णुता, सम्मान, द्वन्द्व समाधान, लैङ्गिक संवेदनशीलता, सुरक्षित व्यवहार र जिम्मेवार नागरिक संस्कार विकास गर्न स्वास्थ्य शिक्षाले सहयोग गर्छ ।
७. डिजिटल तथा साइबर जोखिमबाट सुरक्षित बनाउनः सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, साइबरबुलिङ, अनलाइन दुर्व्यवहार तथा डिजिटल सुरक्षाबारे आधारभूत ज्ञान दिन आवश्यक छ ।
८. स्वास्थ्य साक्षरता विकास गर्नः सही र गलत स्वास्थ्य सूचना छुट्याउने, स्वास्थ्यसम्बन्धी निर्णय गर्ने र आवश्यक पर्दा स्वास्थ्य संस्थाबाट समयमै सेवा लिन सक्ने क्षमता विकास हुन्छ ।
९. परिवार र समुदायमा सकारात्मक प्रभाव पार्नः विद्यार्थीले सिकेको स्वास्थ्यसम्बन्धी ज्ञान र व्यवहार परिवार तथा समुदायमा समेत पुर्‍याउन सक्छन् ।
१०. भविष्यका स्वस्थ र जिम्मेवार नागरिक निर्माण गर्नः स्वस्थ शरीर, स्वस्थ मन, सकारात्मक सामाजिक व्यवहार र जिम्मेवारीबोध भएको नागरिक निर्माणमा विद्यालय तहको स्वास्थ्य शिक्षा महत्वपूर्ण आधार हो ।

नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षा

नेपालमा बदलिँदो जीवनशैली, लागूपदार्थको प्रयोग, मानसिक स्वास्थ्यसम्बन्धी चुनौती, किशोरावस्थाका स्वास्थ्य समस्या, साइबर जोखिम, हिंसा, अस्वस्थ खानपान र शारीरिक निष्क्रियता जस्ता चुनौती बढ्दै गएको अवस्थामा विद्यालय तहको स्वास्थ्य शिक्षा झनै महत्वपूर्ण हुन्छ । त्यसैले यसलाई केवल पाठ्यक्रममा एउटा विषयका रूपमा राख्नेभन्दा व्यावहारिक, जीवनोपयोगी र व्यवहार परिवर्तनमुखी स्वास्थ्य शिक्षाका रूपमा अनिवार्य तथा प्रभावकारी ढंगले कार्यान्वयन गर्नु आवश्यक छ ।

‘विद्यालयमा स्वास्थ्य शिक्षा अनिवार्य गर्नु भनेको केवल स्वस्थ विद्यार्थी बनाउनु होइन; स्वस्थ परिवार, स्वस्थ समाज र जिम्मेवार राष्ट्र निर्माणको आधार तयार गर्नु हो ।’

विद्यालय तहमा स्वास्थ्य शिक्षाका समस्या तथा चुनौतीहरू

नेपालमा विद्यालय तहमा स्वास्थ्य शिक्षा महत्वपूर्ण हुँदाहुँदै पनि यसको प्रभावकारी, व्यवहारिक र परिणाममुखी कार्यान्वयनमा विभिन्न समस्या तथा चुनौतीहरू रहेका छन् । स्वास्थ्य शिक्षा पाठ्यक्रममा समावेश भए पनि कतिपय अवस्थामा यसलाई अन्य विषयको तुलनामा कम प्राथमिकता दिइन्छ । प्रमुख समस्या तथा चुनौतीहरू निम्न छन्:

१. स्वास्थ्य शिक्षालाई कम प्राथमिकता दिनुः परीक्षा र शैक्षिक उपलब्धिमा बढी जोड दिँदा स्वास्थ्य शिक्षा व्यवहार विकासको विषयभन्दा पाठ्यक्रम पूरा गर्ने विषयमा सीमित हुने अवस्था ।
२. सैद्धान्तिक शिक्षामा बढी जोडः स्वास्थ्य शिक्षा व्यवहार परिवर्तनमुखी हुनुपर्नेमा किताब, परिभाषा र परीक्षा केन्द्रित शिक्षणमा सीमित हुनु ।
३. दक्ष तथा प्रशिक्षित शिक्षकको अभावः स्वास्थ्य शिक्षा, विशेषगरी मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, लागूपदार्थ, साइबर सुरक्षा आदिमा पर्याप्त ज्ञान र परामर्श सीप भएका शिक्षकको कमी ।
४. व्यावहारिक तथा प्रयोगात्मक शिक्षाको कमीः प्राथमिक उपचार, सरसफाइ, पोषण, मानसिक स्वास्थ्य, विपद् व्यवस्थापन, जीवनोपयोगी सीप आदिलाई व्यवहारमा सिकाउने पर्याप्त अवसर नहुनु ।
५. विद्यालयको स्वास्थ्य पूर्वाधार कमजोर हुनुः सुरक्षित खानेपानी, पर्याप्त शौचालय, हात धुने सुविधा, महिनावारीमैत्री सुविधा, प्राथमिक उपचार तथा स्वच्छ वातावरणको अभाव ।
६. मानसिक तथा सामाजिक स्वास्थ्यलाई पर्याप्त महत्व नदिनुः तनाव, चिन्ता, हिंसा, बुलिङ, साइबरबुलिङ, आत्मसम्मान र भावनात्मक समस्याबारे खुला छलफल तथा परामर्शको कमी ।
७. यौन तथा प्रजनन स्वास्थ्य शिक्षामा संकोचः सामाजिक तथा सांस्कृतिक संवेदनशीलताका कारण किशोर–किशोरीलाई आवश्यक वैज्ञानिक र उमेरअनुकूल जानकारी दिन कठिनाइ हुनु ।
८. लागूपदार्थ तथा अन्य जोखिमपूर्ण व्यवहारको बढ्दो चुनौतीः विद्यार्थीलाई आकर्षित गर्ने जोखिमपूर्ण व्यवहार, सामाजिक सञ्जाल तथा साथीको दबाबबाट जोगाउन पर्याप्त रोकथाममुखी शिक्षा नहुनु ।
९. अभिभावकको सीमित सहभागिताः विद्यालयमा सिकाइएको स्वास्थ्य व्यवहारलाई घरमा निरन्तरता र सहयोग नपाउनु ।
१०. डिजिटल माध्यमबाट फैलिने गलत स्वास्थ्य सूचनाः सामाजिक सञ्जाल तथा इन्टरनेटबाट प्राप्त अप्रमाणित स्वास्थ्य सूचना विद्यार्थीले सहजै विश्वास गर्ने जोखिम ।
११. स्थानीय आवश्यकता र विविधतालाई पर्याप्त सम्बोधन नगर्नुः नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक तथा आर्थिक विविधताअनुसार स्वास्थ्य शिक्षा सामग्री र विधि पर्याप्त रूपमा अनुकूलित नहुनु ।
१२. अनुगमन तथा मूल्याङ्कन कमजोर हुनुः विद्यार्थीले कति ज्ञान प्राप्त गरेभन्दा पनि स्वास्थ्य व्यवहारमा कति परिवर्तन आयो भन्ने पक्षको प्रभावकारी मूल्याङ्कन नहुनु ।
१३. विद्यालय र स्वास्थ्य संस्थाबीच कमजोर समन्वयः विद्यालयमा स्वास्थ्य समस्या पहिचान भएपछि परामर्श, उपचार र आवश्यक सेवामा प्रभावकारी रेफरल प्रणाली कमजोर हुनु।
१४. स्रोत तथा बजेटको सीमितताः स्वास्थ्य शिक्षा सामग्री, तालिम, स्वास्थ्य कार्यक्रम तथा विद्यालय स्वास्थ्य सेवाका लागि पर्याप्त स्रोतको अभाव ।
१५. स्वास्थ्य शिक्षालाई ‘स्वास्थ्य विषय’मै सीमित राख्नुः स्वास्थ्यलाई विज्ञान, सामाजिक शिक्षा, शारीरिक शिक्षा, जीवनोपयोगी सीप र विद्यालयको समग्र वातावरणसँग एकीकृत नगर्नु ।

विद्यालय तहको स्वास्थ्य शिक्षाको सबैभन्दा ठूलो चुनौती “ज्ञानबाट व्यवहारमा रूपान्तरण” हो । विद्यार्थीले स्वास्थ्यसम्बन्धी कुरा जान्नु मात्र पर्याप्त हुँदैन; त्यसलाई आफ्नो दैनिक जीवनमा लागू गर्न सक्ने ज्ञान, सीप, दृष्टिकोण र आत्मविश्वास विकास गर्नुपर्छ । त्यसैले नेपालको विद्यालय स्वास्थ्य शिक्षालाई परीक्षा–केन्द्रित र सैद्धान्तिक प्रणालीबाट व्यवहार–केन्द्रित, जीवनोपयोगी, मानसिक तथा सामाजिक स्वास्थ्यसमेत समेट्ने र विद्यालय–परिवार–समुदाय–स्वास्थ्य संस्थाबीच सहकार्यमा आधारित प्रणालीमा रूपान्तरण गर्नु आवश्यक छ ।

नेपालमा बढ्दो अपराध र स्वास्थ्य शिक्षा

नेपालमा लागूपदार्थ दुर्व्यसन, हिंसा, बुलिङ तथा साइबरबुलिङ, लैङ्गिक हिंसा, आत्महानी तथा अन्य जोखिमपूर्ण व्यवहारजस्ता सामाजिक समस्या विशेषगरी बालबालिका तथा किशोर–किशोरीको स्वास्थ्य र सुरक्षासँग जोडिँदै गएका छन् । स्वास्थ्यसम्बन्धी जोखिम र सामाजिक विकृतिलाई केवल कानुनी नियन्त्रण र दण्डबाट मात्र समाधान गर्न कठिन हुन्छ; त्यसका लागि रोकथाममुखी स्वास्थ्य शिक्षा महत्वपूर्ण हुन्छ। नेपालमा १३–१९ वर्षका ५.२ प्रतिशत किशोर–किशोरीमा निदानयोग्य मानसिक स्वास्थ्य अवस्था रहेको र ६–१८ वर्षका १८.३ प्रतिशत बालबालिकामा भावनात्मक वा व्यवहारसम्बन्धी कठिनाइ देखिएको तथ्यले प्रारम्भिक स्वास्थ्य शिक्षा र मनोसामाजिक सहयोगको आवश्यकता स्पष्ट गर्छ ।

त्यसैले विद्यालय तहदेखि नै मानसिक स्वास्थ्य, भावनात्मक नियन्त्रण, तनाव व्यवस्थापन, लागूपदार्थबाट बच्ने उपाय, हिंसा तथा बुलिङ रोकथाम, लैङ्गिक सम्मान, साइबर सुरक्षा, द्वन्द्व समाधान, आत्मअनुशासन र सहयोग खोज्ने व्यवहारलाई स्वास्थ्य शिक्षाको अभिन्न अंग बनाउनुपर्छ। स्वास्थ्य शिक्षाले अपराधीलाई दण्ड दिने काम गर्दैन, तर अपराध तथा जोखिमपूर्ण व्यवहारतर्फ धकेलिन सक्ने जोखिमका कारणलाई प्रारम्भिक चरणमै पहिचान र न्यूनीकरण गर्दै स्वस्थ, जिम्मेवार र अनुशासित नागरिक निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।

नेपाल सरकारले लिनुपर्ने नीतिगत व्यवस्था

नेपालमा स्वास्थ्य शिक्षालाई केवल पाठ्यक्रमको एउटा विषयका रूपमा नभई स्वस्थ, अनुशासित, जिम्मेवार र उत्पादनशील नागरिक निर्माण गर्ने राष्ट्रिय रणनीतिका रूपमा लिन आवश्यक छ। हालको विद्यालय शिक्षा क्षेत्र योजनाले पनि स्वास्थ्य, पोषण, WASH, संरक्षण र स्वास्थ्य शिक्षालाई एकीकृत रूपमा सञ्चालन गर्न संघीय तहमा राष्ट्रिय विद्यालय स्वास्थ्य, पोषण तथा WASH नीति/रणनीति विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
त्यस आधारमा नेपाल सरकारले निम्न नीतिगत व्यवस्था गर्नुपर्छ:

१.राष्ट्रिय विद्यालय स्वास्थ्य शिक्षा नीति निर्माण
राष्ट्रिय विद्यालय स्वास्थ्य शिक्षा नीति” तर्जुमा गरी संघ, प्रदेश र स्थानीय तहको भूमिका, जिम्मेवारी, बजेट, मापदण्ड, कार्यान्वयन र अनुगमन स्पष्ट गर्नुपर्छ ।

२. स्वास्थ्य शिक्षालाई अनिवार्य र व्यवहारमुखी बनाउने
स्वास्थ्य शिक्षालाई विद्यालय तहमा अनिवार्य, जीवनोपयोगी र व्यवहार परिवर्तनमुखी बनाउनुपर्छ । केवल परिभाषा र पाठ्यपुस्तकमा सीमित नगरी सरसफाइ, पोषण, प्राथमिक उपचार, मानसिक स्वास्थ्य, व्यायाम, यौन तथा प्रजनन स्वास्थ्य, लागूपदार्थ नियन्त्रण, साइबर सुरक्षा र रोग रोकथामलाई व्यवहारिक रूपमा सिकाउनुपर्छ ।

३. छुट्टै ‘विद्यालय स्वास्थ्य तथा कल्याण कार्यक्रम’ स्थापना
हरेक विद्यालयमा School Health and Well-being Programme सञ्चालन गरी विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई नियमित रूपमा सम्बोधन गर्ने व्यवस्था गर्नुपर्छ ।

४. स्वास्थ्य र शिक्षा मन्त्रालयबीच संस्थागत समन्वय
विद्यालय स्वास्थ्यलाई शिक्षा मन्त्रालयको मात्र जिम्मेवारी नबनाई शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्थानीय तह र सम्बन्धित प्राविधिक निकायबीच स्थायी समन्वय संयन्त्र बनाउनुपर्छ । हाल शिक्षा मन्त्रालयका सम्बन्धित शाखाहरूले विद्यालय स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइको नीति, अनुगमन र समन्वय गर्ने जिम्मेवारी राखेका छन् ।

५. प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मी वा स्वास्थ्य सम्पर्क व्यक्ति
विद्यालयको आकार र आवश्यकताअनुसार School Nurse/Health Worker वा प्रशिक्षित Health Focal Person को व्यवस्था गर्नुपर्छ। स्वास्थ्य समस्या पहिचान, प्राथमिक उपचार, परामर्श, स्वास्थ्य शिक्षा र स्वास्थ्य संस्थामा रेफरलको जिम्मेवारी स्पष्ट गर्नुपर्छ ।

६. मानसिक स्वास्थ्यलाई स्वास्थ्य शिक्षाको अनिवार्य अंग बनाउने
विद्यार्थीमा बढ्दो तनाव, हिंसा, बुलिङ, साइबरबुलिङ, लागूपदार्थ प्रयोग तथा अन्य जोखिमपूर्ण व्यवहारलाई ध्यानमा राखी Mental Health Literacy, emotional regulation, stress management, counselling र suicide prevention सम्बन्धी शिक्षा तथा सेवा विद्यालयमै उपलब्ध गराउनुपर्छ ।

७. अपराध तथा जोखिमपूर्ण व्यवहार रोकथामसँग स्वास्थ्य शिक्षालाई जोड्ने
स्वास्थ्य शिक्षालाई लागूपदार्थ दुव्र्यसन, हिंसा, लैङ्गिक दुर्व्यवहार, साइबर अपराध, बुलिङ र अन्य जोखिमपूर्ण व्यवहारको प्रारम्भिक रोकथामसँग जोड्नुपर्छ। यसको उद्देश्य अपराधीकरणभन्दा पहिले जोखिमपूर्ण व्यवहार पहिचान र रोकथाम गर्नु हुनुपर्छ ।

८. शिक्षकलाई विशेष स्वास्थ्य शिक्षा तालिम
स्वास्थ्य शिक्षा पढाउने शिक्षक मात्र होइन, सबै शिक्षकलाई आधारभूत मानसिक स्वास्थ्य, प्राथमिक उपचार, किशोर स्वास्थ्य, बाल संरक्षण, लागूपदार्थ रोकथाम र साइबर सुरक्षासम्बन्धी नियमित तालिम दिनुपर्छ।

९. विद्यालयको न्यूनतम स्वास्थ्य मापदण्ड लागू गर्ने
हरेक विद्यालयका लागि Safe Water, Sanitation and Hygiene (WASH), पर्याप्त शौचालय, हात धुने सुविधा, महिनावारीमैत्री सुविधा, प्राथमिक उपचार, सुरक्षित खेलमैदान, स्वच्छ कक्षा र सुरक्षित वातावरणसम्बन्धी न्यूनतम राष्ट्रिय मापदण्ड तोकी अनिवार्य कार्यान्वयन गर्नुपर्छ। विद्यालय शिक्षा क्षेत्र योजनाले स्वास्थ्य, WASH, पोषण र स्वास्थ्य शिक्षालाई एकीकृत रूपमा कार्यान्वयन गर्नु पर्दछ ।

१०. अभिभावक र समुदायलाई स्वास्थ्य शिक्षामा जोड्ने
विद्यालय–अभिभावक–स्वास्थ्य संस्था–समुदायबीच सहकार्यको व्यवस्था गर्नुपर्छ। विद्यार्थीले विद्यालयमा सिकेको स्वस्थ व्यवहार घर र समुदायमा समेत निरन्तरता पाउने वातावरण बनाउनुपर्छ ।

११. डिजिटल स्वास्थ्य शिक्षा र Health Literacy
विद्यार्थीलाई सामाजिक सञ्जाल र इन्टरनेटमा फैलिने गलत स्वास्थ्य सूचना (health misinformation) पहिचान गर्ने, विश्वसनीय स्रोत प्रयोग गर्ने र डिजिटल माध्यम सुरक्षित रूपमा प्रयोग गर्ने क्षमता विकास गराउनुपर्छ ।

१२. स्थानीय आवश्यकता र भाषाअनुसार पाठ्यक्रम
नेपालको भौगोलिक, भाषिक, सांस्कृतिक र सामाजिक विविधतालाई ध्यानमा राखी स्थानीय स्वास्थ्य समस्या र प्राथमिकताअनुसार स्वास्थ्य शिक्षा सामग्री विकास गर्नुपर्छ। स्थानीय तहलाई पाठ्यक्रमको केही अंश स्थानीय स्वास्थ्य आवश्यकता अनुसार विकास गर्ने अधिकार दिन सकिन्छ।

१३. स्वास्थ्य शिक्षाको परिणाममा आधारित मूल्याङ्कन
विद्यार्थीले कति पाठ सम्झियो भन्नेभन्दा उसको व्यवहारमा कस्तो परिवर्तन आयो भन्ने आधारमा स्वास्थ्य शिक्षाको मूल्याङ्कन गर्नुपर्छ। उदाहरणका लागि सरसफाइ, शारीरिक गतिविधि, पोषण, मानसिक स्वास्थ्य सहयोग खोज्ने व्यवहार, लागूपदार्थबाट दूरी आदि सूचक राख्न सकिन्छ।

१४. पर्याप्त र सुनिश्चित बजेट
विद्यालय स्वास्थ्य तथा स्वास्थ्य शिक्षाका लागि संघीय, प्रदेश र स्थानीय तहमा छुट्टै तथा सुनिश्चित बजेट व्यवस्था गर्नुपर्छ। कार्यक्रमलाई परियोजना वा अस्थायी बजेटमा निर्भर नराखी नियमित सरकारी कार्यक्रम बनाउनुपर्छ।

१५. वार्षिक School Health Audit
हरेक विद्यालयको वार्षिक स्वास्थ्य परीक्षण तथा स्वास्थ्य अडिट गर्ने प्रणाली विकास गर्नुपर्छ । विद्यार्थीको स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, WASH, सुरक्षा, स्वास्थ्य शिक्षा र रेफरल सेवाको अवस्थालाई मापन हुनुपर्दछ ।

१६. ‘स्वस्थ विद्यालयः स्वस्थ विद्यार्थीः स्वस्थ समाज’ अभियान
सरकारले स्वास्थ्य शिक्षा, पोषण, शारीरिक गतिविधि, मानसिक स्वास्थ्य, सरसफाइ, लागूपदार्थ नियन्त्रण र हिंसा रोकथामलाई जोडेर राष्ट्रिय Healthy School Campaign सञ्चालन गर्नुपर्छ ।

‘स्वास्थ्य शिक्षालाई पाठ्यपुस्तकको विषयबाट जीवनोपयोगी सीप, व्यवहार परिवर्तन र स्वस्थ नागरिक निर्माणको राष्ट्रिय अभियानमा रूपान्तरण गर्ने ‘ नीति हुनुपर्दछ ।

कस्तो प्रभावकारी स्वास्थ्य शिक्षा हुनुपर्छ?

प्रभावकारी स्वास्थ्य शिक्षा केवल स्वास्थ्यसम्बन्धी जानकारी दिने नभई ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने खालको हुनुपर्छ । विशेषगरी नेपालको सन्दर्भमा यसले व्यक्ति, परिवार र समुदायको वास्तविक स्वास्थ्य आवश्यकता, सामाजिक–सांस्कृतिक अवस्था र बदलिँदो जीवनशैलीलाई सम्बोधन गर्न सक्नुपर्छ । यस्तो स्वास्थ्य शिक्षा वैज्ञानिक, प्रमाणमा आधारित, व्यवहारमुखी, जीवनोपयोगी, उमेरअनुकूल, समावेशी र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ ।

यसका लागि स्वास्थ्य शिक्षाले विद्यार्थी तथा नागरिकलाई के सही हो भन्ने ज्ञान मात्र होइन, सही निर्णय कसरी गर्ने, जोखिमपूर्ण अवस्थाबाट कसरी बच्ने र स्वस्थ व्यवहार कसरी अपनाउने भन्ने व्यावहारिक सीप पनि दिनुपर्छ । विद्यालय तहमा व्यक्तिगत सरसफाइ, पोषण, शारीरिक गतिविधि, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, लागूपदार्थ नियन्त्रण, हिंसा तथा बुलिङ रोकथाम, साइबर सुरक्षा, प्राथमिक उपचार, तनाव व्यवस्थापन, भावनात्मक नियन्त्रण, द्वन्द्व समाधान र स्वास्थ्य सेवाको उचित उपयोगजस्ता विषयलाई व्यवहारिक रूपमा समेटिनुपर्छ । साथै, उपदेशभन्दा सहभागिता, व्यवहारिक अभ्यास, छलफल, परामर्श, उदाहरण र अनुभवमा आधारित शिक्षणलाई प्राथमिकता दिनुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, स्वास्थ्य शिक्षाको सफलता विद्यार्थीले परीक्षा कति राम्रो गर्‍यो भन्नेमा होइन, उसको व्यवहारमा कस्तो सकारात्मक परिवर्तन आयो भन्नेमा मापन हुनुपर्छ । त्यसैले स्वास्थ्य शिक्षालाई विद्यालय, परिवार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यमा सञ्चालन गर्दै नियमित अनुगमन तथा व्यवहारगत परिणामको मूल्याङ्कन गर्नुपर्छ।

‘प्रभावकारी स्वास्थ्य शिक्षा त्यो हो, जसले जानकारी मात्र दिँदैन; सोच बदल्छ, सीप विकास गर्छ, व्यवहार परिवर्तन गर्छ र स्वस्थ जीवन जीउने क्षमता निर्माण गर्छ। ‘

निष्कर्ष

स्वास्थ्य शिक्षा स्वस्थ जीवनको आधार मात्र नभई स्वस्थ, सक्षम, अनुशासित, जिम्मेवार र उत्पादनशील नागरिक निर्माण गर्ने महत्वपूर्ण माध्यम हो । विशेषगरी बालबालिका तथा किशोर–किशोरीको जीवनमा स्वास्थ्य शिक्षा सही ज्ञान, सकारात्मक सोच, आत्मअनुशासन, स्वस्थ व्यवहार र जीवनोपयोगी सीप विकास गर्ने आधार बन्न सक्छ । नेपालको बदलिँदो सामाजिक परिवेशमा लागूपदार्थ दुव्र्यसन, मानसिक स्वास्थ्य समस्या, हिंसा, साइबर जोखिम, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा विभिन्न सामाजिक विकृति बढिरहेको अवस्थामा स्वास्थ्य शिक्षालाई अझ प्रभावकारी र व्यवहारमुखी बनाउनु आवश्यक छ ।

यसका लागि स्वास्थ्य शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने विषयका रूपमा नभई रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्व विकास गर्ने माध्यमका रूपमा पुनर्संरचना गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै विद्यालय, परिवार, स्वास्थ्य संस्था र समुदायलाई एउटै प्रणालीमा जोड्नुपर्छ । प्रशिक्षित शिक्षक, विद्यालय स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा परामर्श, पोषण, WASH, प्राथमिक उपचार, यौन तथा प्रजनन स्वास्थ्य, लागूपदार्थ रोकथाम, साइबर सुरक्षा र जीवनोपयोगी सीपलाई स्वास्थ्य शिक्षासँग एकीकृत गर्न आवश्यक छ ।

स्वास्थ्य शिक्षामा गरिएको लगानी उपचारमा हुने खर्च घटाउने मात्र होइन, स्वस्थ मानव पुँजी र सभ्य समाज निर्माणमा गरिएको दीर्घकालीन लगानी हो । त्यसैले नेपाल सरकारले स्वास्थ्य शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य, व्यवहारमुखी, वैज्ञानिक, जीवनचक्रमा आधारित र राष्ट्रिय प्राथमिकताको कार्यक्रमका रूपमा स्थापित गर्नुपर्छ ।

‘स्वस्थ नागरिक निर्माण अपराध नियन्त्रणभन्दा प्रभावकारी सामाजिक सुरक्षा हो; र स्वस्थ नागरिक निर्माणको पहिलो आधार स्वास्थ्य शिक्षा हो ।’

References
1. National Health Policy(2076 BS), Government of Nepal, Ministry of Health and Population
2. World Health Organization. (1986). Ottawa Charter for Health Promotion. Geneva: World Health Organization.
3. World Health Organization. (2012). Health education: Theoretical concepts, effective strategies and core competencies. WHO Regional Office for the Eastern Mediterranean.
4. World Health Organization. (2021). Health Promotion Glossary of Terms 2021. Geneva: World Health Organization.
5. World Health Organization. (2025). Health literacy. Geneva: World Health Organization.
6. World Health Organization. (2026). Health-promoting schools. Geneva: World Health Organization.
7. Government of Nepal, Ministry of Education, Science and Technology. (2022). Nepal: School Education Sector Plan 2022/23–2031/32. Kathmandu: Government of Nepal.
8. Government of Nepal, Ministry of Health and Population, Department of Health Services. (2025). National Health Education, Information and Communication Centre (NHEICC). Kathmandu: Government of Nepal.
9. UNICEF Nepal. (2020). Nepal Multiple Indicator Cluster Survey 2019: Adolescents—Statistical Snapshot. Kathmandu: UNICEF Nepal.


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ