२०८३ भदौ २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्

मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्

भाडाको घरमा राज्यमन्त्रीको कार्यकक्ष मिलाउनै सास्ती


विराटनगर—कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली मर्यादाक्रम र मन्त्रालयमा असन्तुष्ट भएपछि मन्त्रालयमा उपस्थित भएका छैनन् । सोमबार मुख्यमन्त्री हिक्मत कार्कीले यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तर, उनी मंगलबार साँझसम्म मन्त्रालयमा आएका छैनन् । आफूलाई नसोधी मन्त्रालय हेरफेर गरिएको र मर्यादाक्रममा समेत तल पारिएको भन्दै पराजुली मुख्यमन्त्री कार्कीसँग असन्तुष्ट छन् । सोमबार नियुक्त भएका अन्य मन्त्रीहरूले कार्यभार सम्हालिसक्दा पराजुली भने ‘बिरामी भएको’ भन्दै घरमै बसेका छन् ।

‘अहिलेसम्म मन्त्रालय गएको छैन, मलाई पार्टीले मन्त्री बनाएको हो, पार्टीसँग सल्लाह गरेर मात्र जान्छु,’ पराजुलीले भने, ‘भोलिसम्ममा सबै कुरा टुंगिन्छ ।’

यसअघि मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरतमा पराजुली सक्रिय रहेका कारण पनि मुख्यमन्त्री र उनीबीचको सम्बन्ध चिसिएको छ ।

जसको असर अहिले मन्त्रालयको कार्यविभाजन र जिम्मेवारी बहनमा प्रष्ट देखिएको छ । पराजुली अनुपस्थिती भएपछि संवेदनशील स्वास्थ्य मन्त्रालयमा अन्योल सिर्जना भएको छ ।

राज्यमन्त्रीको कार्यकक्ष मिलाउनै सास्ती

विराटनगर–३ पुष्पलालचोक नजिकै एउटा तीन तले घर छ । भित्र छिर्दा मन्त्रालयभन्दा बढी कुनै निजी बैंक वा सहकारीको कार्यालय जस्तो देखिन्छ ।

जेन—जी आन्दोलनका क्रममा आगलागी भएपछि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको आफ्नै भवन जोखिमयुक्त छ । जसका कारण मन्त्रालय २ साउनदेखि यो भाडाको घरमा स¥यो । तर, सरेको एक महिना पुग्दा नपुग्दै मन्त्रालयलाई नयाँ चुनौती थपिएको छ—थपिएका राज्यमन्त्रीलाई कहाँ राख्ने ?

मन्त्रालयमा जम्मा २० वटा साना कोठा छन्, जसलाई पार्टेसन गरेर कार्यकक्ष बनाइएको छ । दोस्रो तलामा मन्त्रीको कार्यकक्ष छ । तर, सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएपछि कर्मचारीहरूलाई कार्यकक्ष व्यवस्थापन गर्नै सास्ती भएको छ ।

‘मन्त्रालय नै साघुरो छ, भएका २० वटा कोठामा कर्मचारी त कोच्चिएर बसेका छन्,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘अहिले राज्यमन्त्रीका लागि ठाउँ खाली गर्न अस्पताल विकास महाशाखालाई तेस्रो तलामा सारेर कार्यकक्ष बनाउने तयारी गर्दैछौं ।’ राज्यमन्त्री र उनको सचिवालयका लागि कार्यकक्ष तयार पार्ने ध्याउन्नमा कर्मचारीहरू मंगलबार अबेरसम्म खटिएका थिए ।

२०७८ माघ २३ गते सामाजिक विकास मन्त्रालय विभाजन भएर स्वास्थ्य मन्त्रालय बनेयता यहाँ राज्यमन्त्री नियुक्त गरिएको यो पहिलो पटक हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ