२०८३ भदौ १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग

रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग


काठमाडौं—रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिहीबार अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग जम्मा गरेको हो ।

ॐ हस्पिटलका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको नेतृत्वमा अस्पताल, चिकित्सक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा उक्त सहयोग रकम प्रदान गरिएको हो । विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै अस्पताल परिवारले उक्त सहयोग गरेको जनाएको छ।

अस्पतालकाअनुसार कुल १५ लाख रुपैयाँमध्ये अस्पतालको तर्फबाट १० लाख रुपैयाँ, चिकित्सकहरूको तर्फबाट ३ लाख ९९ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १ लाख १ हजार रुपैयाँ सहयोग गरिएको हो ।

१० भदौंमा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण भोटेकोशी क्षेत्रमा भएको अपूरणीय जनधनको क्षतिप्रति ॐ हस्पिटलले गहिरो दुःख व्यक्त गरेको छ । अस्पतालले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गरेको छ ।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष डा. श्रेष्ठले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरे । ‘दुःखको यस घडीमा हामी साथमा छौँ,’ उनले भने ।

डा. श्रेष्ठले राष्ट्रमा विपद् पर्दा ॐ हस्पिटल सधैँ नागरिकको साथमा रहने बताउँदै प्रभावितहरूको शीघ्र उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि अस्पताल आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आगामी दिनमा आवश्यकता र परिस्थितिअनुसार उद्धार तथा राहतसँगै निःशुल्क स्वास्थ्य सेवा तथा उपचारका माध्यमबाट समेत सहयोगलाई निरन्तरता दिने बताए ।

प्राकृतिक विपद्का कारण परिवार, घर तथा सम्पत्तिसमेत गुमाएका नागरिकको पीडामा साथ दिनु संस्थाको सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै अध्यक्ष डा. श्रेष्ठले विपद्को समयमा सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत हुनुपर्ने बताए । यस्तो सहकार्यले प्रभावित नागरिकको तत्कालीन राहतदेखि दीर्घकालीन पुनःस्थापनासम्म थप प्रभावकारी सहयोग पुग्ने उनको विश्वास छ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदाय तथा राष्ट्रका लागि निरन्तर योगदान गर्दै आएको ॐ हस्पिटलले यसपटक गरेको सहयोगले विपद्मा परेका नागरिकको तत्काल राहत तथा पुनःस्थापनामा केही हदसम्म भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ