झन्डै पाँच वर्षको अवधिमा हामीले एक हजारवटा किड्नी बायोप्सी गरेका छौँ । सुरुमा यो काम अलि गाह्रो लागिरहेको थियो । तर, अहिले औसतमा वार्षिक २०० देखि २५० वटासम्म बायोप्सी गरिरहेका छौँ । छोटो अवधिमै मलाई यति विश्वास गर्नुहुन्छ भन्ने अपेक्षा गरेको थिइनँ । यो अलि अप्ठ्यारो बायोप्सी भएकाले पनि त्यस्तो अपेक्षा थिएन ।
सुरुमा वर्षमा ५० वटा किड्नी बायोप्सी गर्न पाए पनि सफल हुन्छु भन्ने लागेको थियो । तर, त्यो लक्ष्य सुरुका केही महिनामै पूरा भयो । अहिले यो सेवा निरन्तर एउटै फ्लोमा चलिरहेको छ । पहिलोपटक मैले २०७८ सालको मंसिरतिर ट्रायल बायोप्सी गरेको थिएँ । सुरु गरेको एक हप्तामा एउटा बायोप्सी आयो ।
किड्नी बायोप्सीको काममा मैले सोचेभन्दा बढी सहयोग पाएँ । यसले मलाई निकै रमाइलो अनुभूति गरायो । सबै नेफ्रोलोजिस्टहरूले मलाई सहयोग गर्नुभयो । म विराटनगरमा बसेर काम गरेको मान्छे, काठमाडौं मेरा लागि बिल्कुलै नयाँ थियो । नयाँ ठाउँमा कस्तो होला भन्ने डर थियो । किनभने, लगानी ठूलो थियो । माइक्रोस्कोपलगायत किड्नी बायोप्सीका लागि आवश्यक उपकरण निकै महँगा थिए । तर, मैले राम्रो सहयोग पाएँ, त्यसमा म भाग्यमानी सम्झन्छु ।
म हालसम्म गरिरहेको कामप्रति सन्तुष्ट छु । किड्नी बायोप्सीमा तीनवटा प्रकारका परीक्षण हुन्छन् । पहिलो लाइट माइक्रोस्कोपी हो, जसमा साधारण माइक्रोस्कोपबाट नमुना हेरेर परीक्षण गरिन्छ । दोस्रो इम्युनोफ्लोरेसेन्स माइक्रोस्कोपी हो । यी दुईवटा परीक्षण किड्नी बायोप्सीको रिपोर्ट तयार गर्न आवश्यक नै पर्छन् । तेस्रो इलेक्ट्रोन माइक्रोस्कोपी हो, जुन क्रसचेकका रूपमा प्रयोग हुन्छ ।
हामीसँग अन्य दुईवटा माइक्रोस्कोप छन्, तर इलेक्ट्रोन माइक्रोस्कोप छैन । त्यसैले आवश्यक परेको अवस्थामा हामी पनि नमुना भारत पठाउँछौँ । इलेक्ट्रोन माइक्रोस्कोपबाटै परीक्षण गर्न सकिएमा अझ ढुक्क हुने वातावरण बन्छ । मैले एक हजारवटा रिपोर्ट तयार गर्दा चार–पाँचवटा रिपोर्टमा मात्रै परिवर्तन भएका छन् । यसले मलाई ठूलो विश्वास प्रदान गरेको छ ।
इलेक्ट्रोन माइक्रोस्कोपमा ठूलो लगानी आवश्यक पर्ने भएकाले यसको व्यवस्था राज्यले आफ्नै स्वास्थ्य संस्थाहरूमा योजनाबद्ध रूपमा गर्न सक्छ । तर, निजी क्षेत्रमा भने ठूलो लगानी गर्नुपर्ने र त्यसको प्रतिफल तत्कालै प्राप्त नहुने भएकाले यो व्यवस्था गर्न गाह्रो छ ।
किड्नी बायोप्सीमा रुचि
म विराटनगरस्थित नोबेल मेडिकल कलेजमा काम गरिरहेको थिएँ । प्याथोलोजिस्ट, फ्याकल्टी र प्रयोगशाला प्रमुखका रूपमा काम गर्दै थिएँ । एउटै काम गर्दा मोनोटोनस अनुभव हुन थाल्यो । त्यही बेला मैले किड्नीसम्बन्धी एउटा अनलाइन फेलोसिप गरेँ ।
अस्ट्रेलियामा फेलोसीप गर्नका लागि आवश्यक सबै कागजात तयार गरेँ । त्यहाँ अन्तिम अवस्थामा फेलोसिप रद्द भयो । त्यसपछि म जसरी भए पनि किड्नी बायोप्सीको फेलोसिप गर्छु भन्नेमा दृढ भएँ ।
बिरामीको व्यवस्थापनका लागि किड्नी बायोप्सी निकै महत्वपूर्ण छ । यसका लागि क्लिनिकल समूहसँग एकदमै मिलेर काम गर्नुपर्छ । रेजिडेन्सीमा पनि यसको तालिम हुँदैन । नेपालका मेडिकल कलेजमा अहिलेसम्म किड्नी बायोप्सी गर्न सक्ने फ्याकल्टी पनि छैनन् र आवश्यक सुविधा पनि छैन । त्यही कारण मलाई यो विषय छुटेको जस्तो, प्याथोलोजी नै अपूर्ण रहेको जस्तो लाग्थ्यो । यही कारण यसप्रति मेरो रुचि बढेको हो ।
त्यसपछि किड्नी बायोप्सीमा फेलोसिप गर्न म क्यानडा गएँ । त्यहाँको युनिभर्सिटी अफ अल्बर्टा, एडमन्टनबाट किड्नी बायोप्सीसम्बन्धी एकवर्षे फेलोसिप गरेँ । त्यसपछि म नेपाल फर्के ।
किन महत्वपूर्ण छ किड्नी बायोप्सी ?
मैले बुझेसम्म बायोप्सी दुई किसिमका हुन्छन्—एउटा मेडिकल बायोप्सी र अर्को सर्जिकल बायोप्सी । सर्जिकल बायोप्सीमा शल्यक्रिया गरिसकेपछि कुनै अङ्ग निकालेर त्यसमा के भएको रहेछ भनेर जाँच गरिन्छ । त्यसमा क्यान्सर छ कि छैनलगायतका कुराहरू हेरिन्छ । अन्य कुनै समस्या छ कि भनेर पनि परीक्षण गरिन्छ ।
तर, मेडिकल बायोप्सीमा उपचारका लागि रिपोर्ट कुरिन्छ । किड्नी बायोप्सीको रिपोर्ट नआएसम्म आईजीए हो कि, मिनिमल चेन्ज डिजिज हो अथवा एफएसजीएसको लिजन के हो भनेर भन्न सकिँदैन् । यी कुरा अल्ट्रासाउन्डले मात्रै भन्न सक्दैन, बायोप्सी नै गर्नुपर्छ । त्यही कारण किड्नी बायोप्सी बिरामीको व्यवस्थापनका लागि एकदमै महत्वपूर्ण छ । यसैले पनि किड्नी बायोप्सीप्रति मेरो रुचि बढेको हो ।
किड्नी ट्रान्सप्लान्ट गरेका बिरामीमा प्रत्यारोपण असफल भएको छ कि छैन, संक्रमण भएको छ कि छैन, इन्फ्लामेसन भएको छ वा किड्नी सुन्निएको छ कि छैन भन्ने कुरा बायोप्सीबाटै थाहा हुन्छ । किड्नीले कति काम गरिरहेको छ र औषधिको मात्रा कति परिवर्तन गर्नुपर्ने हो भन्नेलगायतका कुरा पत्ता लगाउन पनि किड्नी बायोप्सी आवश्यक पर्छ ।
किड्नी बायोप्सीका चुनौती
किड्नी बायोप्सीका लागि नेपालमा केही चुनौती पनि छन् । पहिलो चुनौती तालिमप्राप्त जनशक्तिको अभाव हो । नेपालमा मात्रै नभएर विश्वभर नै किड्नी बायोप्सीको तालिम दिने ठाउँ सीमित छन् । भारतमा तीन–चार ठाउँमा मात्रै यस्तो तालिम उपलब्ध छ । अन्य सार्क देशहरूमा पनि खासै सुविधा छैन । त्यसबाहेक विदेशमै गएर तालिम लिनुपर्ने अवस्था छ ।
दोस्रो चुनौती आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था हो । किड्नी बायोप्सीका लागि इम्युनोफ्लोरेसेन्स डाइरेक्ट माइक्रोस्कोप आवश्यक पर्छ, जुन आफैँमा महँगो हुन्छ । क्रायोस्ट्याट पनि चाहिन्छ, त्यो पनि महँगो नै पर्छ । पूर्वाधार र उपकरणको सेटअप नै महँगो भएकाले लगानी कसले गर्ने भन्ने प्रश्न उठ्छ । ठूलो लगानी गर्नुपर्ने तर किड्नी बायोप्सीबाट मात्रै तत्कालै लगानी उठाउन गाह्रो हुने भएकाले यो मुख्य चुनौती बनेको छ । यही कारण प्रमुख केन्द्रहरूमा पनि यो सेवा स्थापित हुन सकेको छैन ।
तेस्रो चुनौती प्राविधिक जनशक्तिको अभाव हो । प्याथोलोजिस्टसँगै क्रायोस्ट्याट चलाउन सक्ने जनशक्ति, सानो बायोप्सी काट्न सक्ने र स्टेन गर्न सक्ने जनशक्ति पनि आवश्यक पर्छ । यसैगरी, यसका लागि आवश्यक रिएजेन्टको उपलब्धता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
बिरामीको व्यवस्थापनका लागि बायोप्सीको रिपोर्ट आवश्यक पर्ने भएकाले चिकित्सकहरूले पनि विश्वास गर्नुपर्ने हुन्छ । त्यसकारण किड्नी बायोप्सीमा ‘क्रस फ्याक्टर’ पनि आवश्यक छ । युरिया र क्रियाटिनिनको जाँच गरेजस्तो यो सामान्य प्रक्रिया होइन । त्यसैले विश्वासको वातावरण विकास गर्न पनि समय लाग्छ ।
(डा. मैनाली प्याथोलोजिष्ट तथा लाजिम्पाटस्थित प्रथम ल्याबका सञ्चालक हुन् ।)