नेपालको मौलिक स्वास्थ्य दर्शन, प्राकृतिक जीवनशैली र समग्र स्वास्थ्य सेवाको महत्त्वपूर्ण आधारका रूपमा रहेको योग तथा प्राकृतिक चिकित्साको संरक्षण, विकास र संस्थागत विस्तार अब राज्यको प्राथमिकतामा पर्नुपर्छ । योग तथा प्राकृतिक चिकित्सा केवल उपचारको एउटा विधि मात्र होइन्, यो प्रकृतिसँगको सामञ्जस्य, स्वस्थ जीवनशैली, रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन र शरीरको स्वाभाविक पुनःस्थापना क्षमतालाई महत्त्व दिने स्वतन्त्र चिकित्सा पद्धति हो ।
हाम्रो जीवनशैली, प्रकृति र स्वास्थ्य दर्शनसँग गहिरो सम्बन्ध राख्ने यो चिकित्सा पद्धतिको महत्त्व विश्वव्यापी रूपमा बढ्दै गइरहेको छ । तर, विडम्बना आफ्नै देशमा यसको संस्थागत विकास र विस्तारका लागि राज्यको प्राथमिकता भने अझै कमजोर देखिन्छ ।
राष्ट्रिय मान्यता प्राप्त चिकित्सा पद्धति, राज्यको प्राथमिकतामा छैन
नेपाल सरकारले २०५९ असार २० गतेको मन्त्रिपरिषद्को निर्णय र २०५९ असार २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामार्फत प्राकृतिक चिकित्सालाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीअन्तर्गत औपचारिक मान्यता दिएको ऐतिहासिक सन्दर्भ छ । तर, मान्यता प्राप्त गरेको यतिका वर्ष बितिसक्दा पनि यस चिकित्सा पद्धतिको व्यवस्थित विकास, शैक्षिक विस्तार, अनुसन्धान, पूर्वाधार निर्माण र सेवा विस्तारमा अपेक्षित प्रगति हुन सकेको छैन ।
हरेक वर्ष बजेट वक्तव्यमा योग तथा प्राकृतिक चिकित्साको प्रवर्द्धन र विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन्छ । तर, ती प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन भए? कति नयाँ सेवा केन्द्र स्थापना भए? कति दक्ष जनशक्ति उत्पादन भए? कति अनुसन्धान र शैक्षिक कार्यक्रम सञ्चालन भए? यी प्रश्नको जवाफ राज्यले दिनुपर्ने बेला आएको छ ।
केवल वार्षिक बजेट वक्तव्यमा कार्यक्रम उल्लेख गर्नु र कहिलेकाहीँ एक–दुई दिने गोष्ठी वा अन्तरक्रिया आयोजना गर्नु नै कुनै चिकित्सा पद्धतिको विकास होइन् । यसको विकासका लागि स्पष्ट नीति, छुट्टै संस्थागत संरचना, पर्याप्त बजेट, दक्ष जनशक्ति र दीर्घकालीन कार्ययोजना आवश्यक हुन्छ ।
योग तथा प्राकृतिक चिकित्सा स्वतन्त्र चिकित्सा विधा
योग तथा प्राकृतिक चिकित्सालाई अझै पनि वैकल्पिक चिकित्सा पद्धतिका रूपमा मात्र सीमित गरेर हेर्ने प्रवृत्ति देखिन्छ । यसलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सीमित संरचनाभित्र राखेर यसको विशिष्ट पहिचान र आवश्यकतालाई पर्याप्त सम्बोधन गर्न सकिएको छैन । यहाँ स्पष्ट हुन आवश्यक छ-योग तथा प्राकृतिक चिकित्सा कुनै अर्को चिकित्सा पद्धतिको सहायक वा आश्रित विधा होइन ।
यसको आफ्नै दर्शन, उपचार सिद्धान्त, शैक्षिक पाठ्यक्रम, व्यावसायिक जनशक्ति, अभ्यास क्षेत्र र विशिष्ट पहिचान छ । त्यसैले यसको विकास पनि सोहीअनुसार स्वतन्त्र र व्यवस्थित संस्थागत संरचनाबाट हुनुपर्छ ।
आयुर्वेद आफैँ पनि आफ्ना संस्थागत, नीतिगत र जनशक्तिसम्बन्धी चुनौतीसँग जुधिरहेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विशिष्ट आवश्यकतालाई त्यसै संरचनाबाट पूर्ण रूपमा सम्बोधन गर्न कठिन हुन सक्छ । त्यसैले दुई चिकित्सा पद्धतिबीच प्रतिस्पर्धा होइन, आ–आफ्नो पहिचान र विशेषज्ञताको सम्मान गर्दै सहकार्य र समन्वय आवश्यक छ ।
विश्व स्वास्थ्य संगठन (WHO)को मापदण्ड र प्राकृतिक चिकित्साको विश्वव्यापी महत्त्व
आज विश्व स्वास्थ्य क्षेत्रमा रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली, समग्र स्वास्थ्य र प्राकृतिक जीवन पद्धतिप्रति चासो बढिरहेको छ । नसर्ने रोगहरूको बढ्दो चुनौती, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, तनाव र अव्यवस्थित जीवनशैलीका कारण स्वास्थ्य प्रवर्द्धन तथा रोग रोकथामको महत्त्व झन् बढेको छ ।
यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २०१० मा ‘Benchmarks for Training in Naturopathy’ नामक आधिकारिक दस्तावेज प्रकाशित गरेको छ । यस दस्तावेजले प्राकृतिक चिकित्सकहरूको शिक्षा तथा तालिमको गुणस्तर, आवश्यक दक्षता, सुरक्षित उपचार अभ्यास, योग्यता निर्धारण, मान्यता तथा लाइसेन्सिङ प्रणाली विकास गर्न सदस्य राष्ट्रहरूलाई मार्गदर्शन प्रदान गर्दछ । साथै, अन्य स्वास्थ्य सेवासँग समन्वय र प्राकृतिक चिकित्सा अभ्यासलाई व्यवस्थित बनाउने आधारसमेत प्रस्तुत गर्दछ ।
यसले प्राकृतिक चिकित्साको वैज्ञानिक प्रभावकारिताबारे अन्तिम निष्कर्ष दिएको होइन् तर यसको शिक्षा, व्यावसायिक दक्षता, बिरामीको सुरक्षा र नियमनका लागि अन्तर्राष्ट्रिय मापदण्ड निर्माणमा महत्त्वपूर्ण आधार प्रदान गरेको छ । विश्वका विभिन्न स्वास्थ्य प्रणालीमा प्राकृतिक चिकित्साका रोकथाममुखी, स्वास्थ्य प्रवर्द्धनात्मक, उपचार सहयोगी तथा पुनःस्थापनासम्बन्धी अभ्यासहरू प्रयोग भइरहेका छन् । तर, यस्ता अभ्यास प्रमाणमा आधारित, सुरक्षित र आवश्यकताअनुसार अन्य चिकित्सा सेवासँग समन्वय गरेर सञ्चालन हुनु अपरिहार्य छ ।
‘प्रकृतितर्फ फर्कौँ, स्वस्थ जीवनशैली अपनाऔँ र शरीरको स्वाभाविक स्वास्थ्य पुनःस्थापना क्षमतालाई सहयोग गरौँ’ भन्ने प्राकृतिक चिकित्साको मूल दर्शन आजको स्वास्थ्य चुनौतीसँग जोडिएको महत्त्वपूर्ण विषय हो ।
नेपालमा दक्ष जनशक्ति छ तर अवसर र संस्थागत संरचना छैन
नेपालमा योग तथा प्राकृतिक चिकित्सामा साढे पाँच वर्षे BNYS (Bachelor of Naturopathy and Yogic Sciences) अध्ययन पूरा गरेका दक्ष चिकित्सक तथा विशेषज्ञहरू छन् । उनीहरूले देशभित्र र बाहिरबाट प्राप्त गरेको शैक्षिक तथा व्यावसायिक ज्ञानलाई नेपाली जनताको स्वास्थ्य सेवामा उपयोग गर्न चाहेका छन् । तर, विडम्बना, पर्याप्त शैक्षिक संस्था, अस्पताल, अनुसन्धान केन्द्र, सेवा विस्तार तथा स्पष्ट व्यावसायिक संरचनाको अभावले उनीहरूको ज्ञान र दक्षता पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।
योग तथा प्राकृतिक चिकित्साका विज्ञ, विशेषज्ञ, BNYS चिकित्सक, सम्बन्धित संघसंस्था तथा यस चिकित्सा पद्धतिप्रति चासो राख्ने नागरिकहरू यसको संरक्षण र विकासका लागि निरन्तर आवाज उठाइरहेका छन् । तर, राज्यको नीतिगत प्राथमिकता र कार्यान्वयनमा अझै अपेक्षित गम्भीरता देखिएको छैन । यही अवस्था निरन्तर रहिरहने हो भने दक्ष जनशक्ति विदेश पलायन हुने, नयाँ पुस्तामा यस विषयप्रति आकर्षण घट्ने र देशभित्रै विकास गर्न सकिने एउटा महत्त्वपूर्ण चिकित्सा विधा क्रमशः कमजोर हुँदै जाने जोखिम रहन्छ ।
योग तथा प्राकृतिक चिकित्सा परिषद् अपरिहार्य छ
योग तथा प्राकृतिक चिकित्साको दीर्घकालीन विकासका लागि छुट्टै स्वायत्त तथा अधिकारसम्पन्न योग तथा प्राकृतिक चिकित्सा परिषद् स्थापना गर्नु आजको प्रमुख आवश्यकता हो ।
परिषद्ले निम्न विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ:
१. योग तथा प्राकृतिक चिकित्साको छुट्टै नीति, कानुन र नियमन प्रणाली निर्माण गर्ने ।
२. BNYS लगायत सम्बन्धित शैक्षिक कार्यक्रमको गुणस्तर, पाठ्यक्रम र शैक्षिक मापदण्ड निर्धारण गर्ने ।
३. योग तथा प्राकृतिक चिकित्सा अस्पताल, स्वास्थ्य संस्था र उपचार केन्द्रहरूको मापदण्ड निर्माण तथा नियमन गर्ने ।
४. चिकित्सकहरूको व्यावसायिक अधिकार, जिम्मेवारी, आचारसंहिता र बिरामी सुरक्षाको सुनिश्चितता गर्ने ।
५. अनुसन्धान, अध्ययन, अन्तर्राष्ट्रिय सहकार्य र वैज्ञानिक प्रमाणको विकासलाई प्रोत्साहन गर्ने ।
६. सरकारी तथा निजी क्षेत्रमा योग तथा प्राकृतिक चिकित्सा सेवा विस्तार गर्ने ।
७. दक्ष जनशक्तिलाई देशभित्रै रोजगारी र व्यावसायिक अवसर सिर्जना गर्ने ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले योग तथा प्राकृतिक विज्ञानसम्बन्धी जनशक्तिको दर्ता तथा नियमनमा भूमिका निर्वाह गरिरहेको भएपनि यस चिकित्सा पद्धतिको विशिष्ट विकास र विस्तारका लागि आवश्यक छुट्टै नीतिगत तथा संस्थागत संरचनाको बहसलाई अगाडि बढाउन आवश्यक छ ।
सरकारले तत्काल गर्नुपर्ने काम
अब सरकारलाई केवल आश्वासन होइन, स्पष्ट निर्णय र कार्यान्वयन चाहिएको छ ।
• योग तथा प्राकृतिक चिकित्सा परिषद् स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्छ ।
• BNYS चिकित्सा शिक्षाको गुणस्तरीय अध्ययन तथा विस्तारका लागि सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्छ ।
• योग तथा प्राकृतिक चिकित्सा अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरू प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्छ ।
• राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको उपयुक्त स्थान, बजेट र कार्यक्रम सुनिश्चित गर्नुपर्छ ।
• अनुसन्धान, तालिम, पूर्वाधार तथा दक्ष जनशक्ति परिचालनका लागि दीर्घकालीन योजना बनाउनुपर्छ ।
• यस क्षेत्रमा विगतमा भएका अध्ययन, निर्णय, प्रतिवेदन र नीतिगत प्रयासहरूको समीक्षा गरी कार्यान्वयनयोग्य योजना तयार गर्नुपर्छ ।
आफ्नै चिकित्सा पद्धतिको भविष्यप्रति राज्य किन मौन?
योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ तथा विशेषज्ञहरूले वर्षौंदेखि आफ्नो चिकित्सा पद्धतिको पहिचान, अस्तित्व, व्यावसायिक सम्मान र संस्थागत विकासका लागि संघर्ष गरिरहेका छन् । यो संघर्ष कुनै व्यक्ति वा समूहको व्यक्तिगत स्वार्थका लागि होइन, देशको स्वास्थ्य प्रणालीलाई विविधतायुक्त, सुदृढ र जनमुखी बनाउने उद्देश्यसँग जोडिएको छ ।
अहिलेको सरकारले पनि यस विषयमा स्पष्ट आधिकारिक धारणा र कार्ययोजना सार्वजनिक गर्न सकेको छैन । राज्यले अब यस क्षेत्रको आवाज सुन्नुपर्छ । यसलाई केवल वैकल्पिक चिकित्सा भनेर सीमित गर्ने होइन, यसको विशिष्टता र सम्भावनालाई पहिचान गरेर विकासको मार्ग खोल्नुपर्छ ।
आफ्नो देशको चिकित्सा पद्धतिको संरक्षण र विकास गर्ने जिम्मेवारी अन्ततः आफ्नै राज्यको हो । आफ्नै देशमा दक्ष चिकित्सक उत्पादन गर्ने, उनीहरूलाई अवसर दिने र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो ।
यदि आज पनि राज्यले आवश्यक कदम चाल्न सकेन भने भोलिका दिनमा हाम्रा दक्ष जनशक्ति विदेशिन बाध्य हुनेछन् र देशभित्रै विकास गर्न सकिने एउटा महत्त्वपूर्ण चिकित्सा पद्धति नाम र इतिहासमा मात्र सीमित हुन सक्छ ।