२०८३ कात्तिक २१, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ वैकल्पिक चिकित्सा ∕ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो

धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो


‘हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको आयुर्वेदलाई आधुनिक विज्ञानले किन फेरि परीक्षण गर्नुपर्छ?’ आयुर्वेदका एक अनुयायीले प्रश्न गरे ।

आधुनिक चिकित्सकले शान्त भावमा जवाफ दिए, ‘पुरानो हुँदैमा कुनै ज्ञान गलत हुँदैन् तर पुरानो हुँदैमा सबै कुरा सही पनि हुँदैन् । परीक्षणले आयुर्वेदको महत्त्व घटाउँदैन, बरु विश्वसनीयता बढाउँछ ।’

‘त्यसो भए आधुनिक चिकित्साले पनि आहार, दिनचर्या, निद्रा र मानसिक स्वास्थ्यलाई उपचारको अभिन्न अङ्ग मान्नुपर्छ नि !’ अनुयायीले थपे ।

चिकित्सक मुस्कुराए, ‘अवश्य । निदान र आपतकालीन उपचारमा आधुनिक विज्ञानको उपलब्धि निर्णायक छ । तर, रोकथाम र समग्र स्वास्थ्यमा आयुर्वेदका उपयोगी पक्षलाई पनि वैज्ञानिक आधारमा अपनाउन सकिन्छ ।’

यो संवाद काल्पनिक हो तर प्रश्न वास्तविक छ । बहस आयुर्वेद ठूलो कि आधुनिक चिकित्सा भन्ने होइन् । बहस त मानव स्वास्थ्यका लागि उपलब्ध ज्ञान, अनुभव र प्रमाणलाई बिरामीको हितमा कसरी जोड्ने भन्ने हो ।

देवपाटनको धन्वन्तरि मन्दिर

काठमाडौँको पशुपतिनाथ मन्दिरको पश्चिमपट्टी गौशालाबाट चाबहिलतर्फ जाँदा जयबागेश्वरी मन्दिरको उत्तरमा, लुँहिटी ढुङ्गेधाराको छेउमा एउटा सानो तर कलात्मक धन्वन्तरि मन्दिर छ । शिखर शैलीको यस मन्दिरको गर्भगृहमा कालो प्रस्तरको धन्वन्तरि मूर्ति छ । चार हातमध्ये दुईमा अमृतकलश, अरू दुईमा शङ्ख र चक्र छन् ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार मल्लकालीन यो मन्दिर नेपाल संवत् ७२४ (विक्रम संवत् १६६०) को कात्तिकमा स्थापना भएको हो । देवपाटन क्षेत्रमा कुनै समय आयुर्वेदबाट उपचार गर्ने वैद्यहरूको बाक्लो बस्ती थियो । उनीहरूले धन्वन्तरिलाई इष्टदेव मानी पूजा गर्ने परम्परा बसाएका थिए ।

पुराणको समुद्र मन्थन कथामा अमृतकलशसहित धन्वन्तरिको उत्पत्ति वर्णित छ । धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तक र संरक्षकका रूपमा सम्मान गरिन्छ । यो धार्मिक आख्यान हो । यसको सांस्कृतिक महत्त्वको सम्मान गर्दै ऐतिहासिक र वैज्ञानिक तथ्यबाट छुट्याएर बुझ्नु बुद्धिमानी हुन्छ ।

विसं १९८५ मा काठमाडौँको नरदेवीमा नेपाल राजकीय आयुर्वेद विद्यालय स्थापना भएपछि धन्वन्तरि जयन्ती संस्थागत रूपमा मनाउने क्रम अघि बढेको मानिन्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि यो दिन आरोग्य दिवसका रूपमा पनि मनाइन थालियो । यसले एउटा प्रश्न उठाउँछ- हजारौँ वर्षको उपचार परम्परालाई एक्काइसौँ शताब्दीको वैज्ञानिक स्वास्थ्य प्रणालीसँग कसरी जोड्ने?

आयुर्वेदको बल : रोग लाग्नुअघिको स्वास्थ्य

आयुर्वेदको मूल दर्शन शरीर, मन, आहार, व्यवहार र वातावरणबीचको सम्बन्धमा आधारित छ । नियमित दिनचर्या, सन्तुलित भोजन, निद्रा, व्यायाम र मानसिक शान्तिलाई यसले स्वास्थ्यको आधार मान्छ । नसर्ने रोग, मोटोपना, मधुमेह, उच्च रक्तचाप, मुटुरोग र मानसिक तनाव बढिरहेको आजको समयमा जीवनशैली सुधारमाथिको यसको जोड अत्यन्त सान्दर्भिक छ ।

तर, जीवनशैलीको महत्त्व स्वीकार गर्नु र आयुर्वेदका हरेक उपचार प्रमाणित छन् भन्नु एउटै कुरा होइन् । कुनै जडीबुटी परम्परादेखि प्रयोग भएको छ भन्दैमा त्यो सबै मात्रामा र सबै व्यक्तिका लागि सुरक्षित र प्रभावकारी हुन्छ भन्न मिल्दैन् । कुन औषधि कुन रोगमा, कति मात्रा र कति अवधिसम्म काम गर्छ भन्ने कुरा व्यवस्थित अनुसन्धानले पुष्टि गर्नुपर्छ । परम्परागत ज्ञान अनुसन्धानको सुरुवाती आधार बन्न सक्छ तर परीक्षणको विकल्प बन्न सक्दैन् ।

आधुनिक चिकित्साको बल र सीमा

आधुनिक चिकित्साले रोगको पहिचान, प्रयोगशाला परीक्षण, शल्यक्रिया, खोप, एन्टिबायोटिक र आपत्तकालीन उपचारमार्फत असङ्ख्य जीवन बचाएको छ । हृदयाघात, स्ट्रोक, गम्भीर संक्रमण, दुर्घटना, प्रसूति जटिलता र क्यान्सरजस्ता अवस्थामा समयमै आधुनिक उपचार पाउनु जीवनरक्षाको आधार हो । यस्तो बेला आयुर्वेदको नाममा प्रमाणित उपचार ढिलाइ गर्नु जोखिमपूर्ण हुन्छ ।

त्यसैगरी, आधुनिक चिकित्सा प्रणालीले पनि बिरामीलाई रोगको नाम वा रिपोर्टका रूपमा मात्र हेर्नु हुँदैन् । उसको खानपान, शारीरिक सक्रियता, मानसिक अवस्था, सामाजिक परिवेश र दीर्घकालीन जीवनशैलीलाई उपचार योजनामा समेट्नुपर्छ । यहाँ आयुर्वेदको समग्र स्वास्थ्य, दिनचर्या र आहारसम्बन्धी दृष्टिकोण उपयोगी संवादको आधार बन्न सक्छ ।

मधुमेहकै उदाहरण लिऔँ । आधुनिक चिकित्साले औषधि र नियमित परीक्षणमार्फत रगतको चिनी नियन्त्रण गर्छ । आयुर्वेदले आहार, व्यायाम र दिनचर्यामा जोड दिन्छ । यी दुवैलाई चिकित्सकको समन्वयमा जोड्दा बिरामीले दोहोरो लाभ पाउन सक्छ । तर, आयुर्वेदिक औषधि सुरु गरेपछि प्रमाणित औषधि आफैँ बन्द गर्नु हुँदैन् । कुनै जडीबुटीले औषधिको असर बढाउन वा घटाउन सक्ने भएकाले आफूले प्रयोग गरिरहेका सबै औषधिबारे चिकित्सकलाई जानकारी दिनैपर्छ ।

विश्वव्यापी दिशा

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ मा आयुर्वेद अभ्यासका लागि सेवा प्रदायकको योग्यता, पूर्वाधार, औषधिको गुणस्तर, बिरामी सुरक्षा र नियमनसम्बन्धी मापदण्ड प्रकाशित गरेको छ । सन् २०२५–२०३४ का लागि स्वीकृत विश्वव्यापी परम्परागत चिकित्सा रणनीतिले पनि अनुसन्धान, सुरक्षित अभ्यास, प्रभावकारी नियमन र प्रमाणित सेवालाई स्वास्थ्य प्रणालीमा समावेश गर्ने विषयलाई प्राथमिकता दिएको छ । सन्देश स्पष्ट छ- परम्परागत चिकित्सा आधुनिक विज्ञानको प्रतिस्पर्धी होइन् तर यसको योगदान प्रमाण र सुरक्षाको कसौटीमा जाँचिनुपर्छ ।

चुनौती : गुणस्तर र प्रमाण

आयुर्वेदको विस्तारमा पहिलो चुनौती औषधिको गुणस्तर हो । जडीबुटीको प्रजाति, उत्पादनस्थल, सङ्कलन, प्रशोधन, भण्डारण र मात्रा फरक हुँदा एउटै नामको औषधिको गुणस्तर फरक पर्न सक्छ । केही परम्परागत औषधिमा प्रयोग हुने धातु र खनिजजन्य पदार्थको अनुचित प्रशोधन वा मात्रा स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । अमेरिकी राष्ट्रिय पूरक तथा एकीकृत स्वास्थ्य केन्द्र (NCCIH) ले केही आयुर्वेदिक उत्पादनमा सिसा, पारो वा आर्सेनिकजस्ता विषाक्त धातु जोखिमपूर्ण मात्रामा भेटिन सक्ने चेतावनी दिएको छ । यसले सम्पूर्ण आयुर्वेदलाई असुरक्षित ठहर्‍याउँदैन्, यसले उत्पादनको परीक्षण, मापदण्ड र नियमन अनिवार्य छ भन्ने देखाउँछ ।

दोस्रो चुनौती अनुसन्धानको सीमितता हो । केही अध्ययनले विशेष अवस्थामा आयुर्वेदिक हस्तक्षेपको सम्भावित लाभ देखाएका छन् तर धेरैजसो अध्ययन सानो नमुना, कमजोर विधि वा छोटो अवधिका छन् । कुनै उपचारलाई प्रभावकारी भन्नुअघि पर्याप्त नमुना, तुलनात्मक अध्ययन, दीर्घकालीन अनुगमन र प्रतिकूल असरको अभिलेख चाहिन्छ । बिरामीको अनुभव महत्त्वपूर्ण छ तर त्यसलाई वैज्ञानिक प्रमाणसँग जोड्नुपर्छ ।

नेपालको अवसर र नीतिगत बाटो

हिमाली, पहाडी र तराई क्षेत्रमा नेपालसँग औषधीय वनस्पतिको ठूलो सम्पदा छ । स्थानीय ज्ञान र जडीबुटीलाई अनुसन्धान, दिगो सङ्कलन र गुणस्तरीय उत्पादनसँग जोड्न सके स्वास्थ्य सेवासँगै रोजगारी र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुग्छ । तर, अनियन्त्रित दोहन, अवैज्ञानिक दाबी र गुणस्तरहीन उत्पादनले यो सम्भावना कमजोर बनाउन सक्छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ३५ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने सूची, नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीजस्ता कार्यक्रम अघि बढाएको छ । यी पहललाई सेवा विस्तारमा मात्र सीमित नराखी गुणस्तर, पहुँच, उपचारको नतिजा र बिरामी सुरक्षाको नियमित मूल्याङ्कनसँग जोड्नुपर्छ ।

सरकारले निम्न कदमलाई प्राथमिकता दिनुपर्छ:

• औषधीय वनस्पतिको पहिचानदेखि उत्पादन र बजारसम्म गुणस्तर परीक्षणको बलियो व्यवस्था ।
• आयुर्वेदिक औषधिको प्रतिकूल असर अभिलेख गर्ने प्रणाली ।
• विश्वविद्यालय, अनुसन्धान संस्था र अस्पतालबीच सहकार्य गरी प्राथमिकताका रोगमा व्यवस्थित अध्ययन ।
• आयुर्वेदिक र आधुनिक चिकित्सकबीच रेफरल प्रणाली, संयुक्त परामर्श र औषधि प्रयोगसम्बन्धी सूचना आदान-प्रदान ।
• भ्रामक विज्ञापन र अप्रमाणित उपचारमाथि प्रभावकारी नियमनका साथै चिकित्सकको योग्यता र अभ्यासको दायरा तथा बिरामीको अधिकारको सुनिश्चितता ।

कुन उपचार प्रभावकारी छ, कुनमा थप अनुसन्धान चाहिन्छ र कुनमा जोखिम छ भन्ने कुरा सार्वजनिक रूपमा स्पष्ट हुनुपर्छ ।

नागरिकका लागि सन्देश

नागरिकले आयुर्वेदलाई अन्धविश्वासले होइन्, सही जानकारी र विवेकले अपनाउनुपर्छ । सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा, स्वच्छता र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु आयुर्वेदको उपयोगी पाठ हो । तर,  ‘प्राकृतिक’ वा ‘जडीबुटीजन्य’ भन्दैमा सबै औषधि सुरक्षित हुन्छन् भन्ने भ्रममा पर्नु हुँदैन। दीर्घरोगको औषधि चिकित्सकको सल्लाहबिना बन्द गर्ने, गम्भीर रोगमा प्रमाणित उपचार ढिलाइ गर्ने र जथाभावी औषधि सेवन गर्ने बानी त्याग्नुपर्छ ।

धन्वन्तरि जयन्तीको सार अमृतकलशको पूजा वा परम्पराको उत्सवमा मात्र सीमित छैन । यसको वास्तविक सन्देश आरोग्य, उपचार र मानव कल्याणप्रतिको प्रतिबद्धता हो । परम्पराले अनुभव र ज्ञान दिन्छ, आधुनिक विज्ञानले परीक्षण र प्रमाण दिन्छ । दुवै एकअर्काका प्रतिद्वन्द्वी होइनन्, पूरक हुन् ।

आयुर्वेदलाई अन्धविश्वासको आवरणमा राख्नु र आधुनिक चिकित्सालाई ज्ञानको अन्तिम सीमा ठान्नु दुवै अतिवाद हुन् । प्रश्न कुन पद्धति ठूलो भन्ने होइन्, कुन उपचारले बिरामीलाई सुरक्षित राख्दै जीवनको गुणस्तर सुधार्छ भन्ने हो । धन्वन्तरि जयन्तीले हामीलाई यही विवेकपूर्ण र सहकार्यको बाटो रोज्न प्रेरित गरोस्।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ